– तारा कँडेल/बेल्जियम
अस्ती बेलुका मात्र देखेको
एक भयानक सपना १
भेडाबारीबाट म र आमा
मिठामिठा सपना साँचेर
नारायणगढ आउँदै थियौँ ।
सानी म सपनाकी,
नानी म सपनाकी,
हातमा एक पछ्यौरी,
झुम्के जामा र मैला चप्पल,
तर कल्पनामा थिइन् ठुलीआमा ।
केही नखाइकन पनि,
अजिबको स्वाद थियो जिब्रोमा,
कौतुहलताको बीच
अजीबको छट्पटाहट,
मनको हातले समातेको
सुनौलो ममताको आशाफुल ,
ठुलीआमाको काख सम्झेर
अविरल यात्रा अघि बढ्यो ।
मिनीबसका सहचालक
आमाको नजिक आए,
आमाको काखमा बसेकी म
आमाकै इसाराले उठेँ,
पटुकीको छेउमा बाँधेको
थैली फ़ुकाउँदै आमाले,
मिनिबसको भाडा तिरिन्,
ख्याल्नै गरिन कति दिइन्।
‘भाडा… भाडा…’को स्वर चर्कियो
पछाडिबाट एक आवाज आयो,
शोक धुन र आरति जस्तै,
धमिलो तर अनिष्ट आवाज,
सपनाको मन तरंगित भयो।
आमाको मुखमा पुर्लुक्क हेरेँ ,
आमाको साहिली औंलाको औठी,
ठुलीआमाको बैनीको स्नेह,
टक्रक्क भुइँमा खस्यो १
एकतमासको शोकधुन गुन्जीइ रह्यो,
म सपनामै फेरि झस्किएँ ,
आमा,आमा…मैले पुकारेँ
ब्युँझिन लागेको सपना
फेरि झाँगियो,
सपनाको मनले बाटो भेट्टायो,
सपनामै सम्झिन मिल्ने रहेछ क्यारे
मैले सम्झिएँ मेरी ठुलीआमालाई ,
लंकु पुगेर दुई बैनी गफ़िएको,
आमाको शिरमा हात राखेर,
मेरी बैनी भन्दै अंगालोमा बेरेर
पटकौं पटक आमाको म्याइ खाएको।
सपनाले पनि कल्पना जन्माउन थाल्यो,
ठुलीआमाले मलाई काखमा लिँदा
बुबाको यादले न अत्याए झैं भयो,
अँध्यारो बादल आएन,
दुख त अँध्यारो छँदै थियो।
ठुलीआमा, दिदी र दाजुहरुकै मायाले
पुल्पुलिएको विपना झैँ ,
सपनामा पनि नि ठुलीआमा,
तिम्रै ममताले भरिएँ म,
यो कुरा तिमीलाई भन्न पाइनँ ।
कल्पनाले रंग फेर्दा पनि ठुलीआमा
सपनामा पनि चिनेँ लंकुको घर ,
तिम्रो के भनुँ हाम्रो माइतीघर,
यो कुरा तिमीलाई भन्न पाइनँ
लंकुको सानो उकालो काटेपछि
आमाको हात समाउँदै,
चुम्बकले तानेझैं तानिरहेँ आमाको हात,
त्यो तिम्रै काखको लालाचाले थियो,
ठुलीआमा,
जुन कुरा तिमीलाई मात्र थाहा थियो ,
केवल तिमीलाई मात्र
त्यो कुरा नि तिम्रो कानमा
अझै खुसुक्क भन्न मन थियो ।
सपनाको मन खिन्न पनि हुनेरहेछ,
मेरो मन पनि खिन्न भयो ठुलीआमा,
आमाँले किनिदिएको पाँच पैसाको बेलुन
सपनामा तिम्रो काखमा प्वाट्ट फुट्यो ,
सपनाको संसारमा म अत्तालिएँ,
झस्याङ्ग हुदै म ब्युझिएँ,
म हकानिएँ ठुलीआमा ।
बिहान सरिताले खबर दिइनँ,
ूतँलाई ममताले रुझाउने,
तँलाई काली, पोक्ची र डल्ली भन्दै
नाकमा हात राखेर एकमुठी
चिसा लोर्काहरु ममताले फ़्याकिदिने,
मेरी ममताकी खानि ठुलीआमा,
बाल जीवनको सहारा,
अभागी बैनीको उभिने लौरी,
हामीलाई छोडेर डेरा सरिन रे ।
विपनाको चेहरा सम्झेँ,
करुणामय जीवनका
टुटेका हातका रेखा सम्झेँ ,
तिनैले त भरिदिन्थिन पटक पटक
मेरो खालि अन्जुलिमा आशिसहरु ,
तिनैले त राखी दिन्थिन् सधैँ ,
फाटेको जामाको गोजीमा ममताको खट्टे।
मलाई दाजु र दिदीहरु दिएर ,
सहाराले मालिक बनाएकी ठूलीआमा ,
तिमी हिडी सक्यौ रे तर मेरो मन ,
विक्षिप्तभित्रको विक्षिप्ततामा
त्यसै त्यसै पाकिरहेछ।
अब कसलाई तन पोखेर
सपनाको कुरा भनिदिउ ठुलीआमा
तिम्रो देह पार्थिव, प्राण पार्थिव
सास्वात सत्य
कालकुञ्जबाट टाढा,
यो धराबाट
प्रथम जीनबाट उन्मुक्ति ,
ठुलीआमाको परम पद प्राप्त होस्।
चराचर जगतबाट उज्यालिँदै,
जननी जगतमा ब्याप्त छौ तिमी,
छ जहाँ करुणा
दया र स्नेहको गङ्गा,
उसै गरि मेरो हृदयमा
ममतामयी बात्सल्यकी मुर्ति
ठुलीआमा जीवन्त छौ तिमी
मेरो मन, कल्पना र सपनाभरि ।
प्रतिक्रिया