लण्डनमा नेपाली अन्तरराष्ट्रिय वाङ्मय प्रतिष्ठानको जन्म

लण्डनमा नेपाली अन्तरराष्ट्रिय वाङ्मय प्रतिष्ठानको जन्म


लण्डन / हिजो अपरान्ह, १९ अगस्ट २०१२, आइतवारको दिनमा विलविच, लण्डनस्थित एलसीइएम कलेजको पहिलो तलाको कक्षामा नेपाली अन्तर्राष्ट्रिय वाङ्मय प्रतिष्ठानको जन्म भएको छ । प्रतिष्ठानको स्थापना कार्यक्रमको अवसरमा १४७औ मोतीराम भट्टको जन्मजयन्ती पनि मनाइएको थियो । बेलायतका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजसंग आबद्ध केही सर्जकहरु तथा केही नेपाली साहित्य अनुरागीहरुको पहलमा नेपाली अन्तर्राष्ट्रिय वाङ्मय प्रतिष्ठानको स्थापना भएको छ । कार्यक्रमको सञ्चालक गोपीकृष्ण प्रसाईले अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठानको औचित्यबारे प्रकाश पार्दे भेला भएका महानुभावहरुलाई आ—आफ्नो शुभकामना मन्तव्य दिनका लागि आग्रह गरेका थिए ।
कार्यक्रमको अध्यक्षता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्याप्टरका सल्लाहाकार खगेन्द्र पाठकले गरेका थिए । कार्यक्रमको शुरुआत सभापति तथा नेपालबाट आएका छत्रपति पौडेलबाट पानसमा बत्ती प्रज्वलन गरेर सम्पन्न गरिएको थियो । कार्यक्रम सञ्चालक गोपीकृष्ण प्रसाईले आप्नो कार्यक्रम सञ्चालनको क्रममा यस प्रतिष्ठानको स्थापनका लागि धेरै पटक छलफल भइसकेको कुरा सहभागीहरुलाई जनाएका थिए । अतः १९ अगस्ट २०१२, मोतीराम भट्टको वर्षगाँठको अवसर पारेर यो प्रतिष्ठान स्थापना गर्ने मीठो संयोग रहेको कुरा बताएका थिए साथै प्रतिष्ठानको कार्यकारी समितिका पदाधिकारीहरु, सदस्यहरु तथा बोर्ड अफ ट्रस्टीका व्यक्तिहरुको नाम पढेर सुनाएका थिए ।
कार्यक्रमको पहिलो चरणमा विभिन्न सहभागीहरुले आ—आप्mनो मन्तव्य राखेपछि अन्तमा विकल आचार्यले आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए । उनका अनुसार नेपाली अन्तर्राष्ट्रिय गत साल नोभेम्बर महिनामा आफू नेपाल जानुअघि नै अक्टुबर महिनामा नेपाली अन्तर्राष्ट्रिय वाङ्मय प्रतिष्ठानको अवधारणा ल्याएको कुरा बताएका थिए । बेलायतमा दोश्रो नेपाली अन्तर्राष्ट्रिय साहित्य समाजको सम्मेलनदेखि आजपर्यन्त घटेका अनेसासका कार्यक्रमहरु उपर प्रकाश पार्दै यस प्रतिष्ठानको स्थापनाको औचित्यबारे प्रकाश पारेका थिए । त्यसपछि सञ्चालक गोपीकृष्ण प्रसाईले स्थापना हुन गइरहेको पदाधिकारीहरु र सदस्यहरुको नाम पढेर सुनाएपछि दश मिनट छलफल गर्ने समय दिएका थिए । यस कार्यक्रममा धेरै साहित्यकारहरु भेला हुन नसकेता पनि उनीहरुको सन्देश पढेर सञ्चालकले सुनाएका थिए । प्रतिष्ठानको समिति चयनका लागि कसैबाट केही कुरा नउठेपछि, पूर्व घोषित कार्यकारी समितिका पदाधिकारी तथा सदस्यहरुमा त्यहाँ उपस्थित रहेका अध्यक्ष विकल आचार्य, उपाध्यक्ष गोपीकृष्ण प्रसाई, महासचिव जयालक्ष्मी राई, सचिव नारयण अधिकारी, कोषाध्यक्ष कृष्ण ढुङ्गाना, सदस्यहरुमा लय प्रसाई, सञ्जय राउत तथा नेपाली कला संस्कृति विभाग प्रमुखमा मनिष श्रेष्ठलाई सर्वसम्मतिबाट चयन गरिएको थियो । कार्यकारी समितिका चार जना उपाध्यक्षमध्ये एकजना गोपीकृष्ण प्रसाई उपस्थित थिए । त्यस्तै पदेन सल्लाहाकारहरु, सल्लाहाकारहरु, अन्य विभागका मनोनित सदस्यहरु उपस्थित नभएकाले सर्वसम्मतिबाट माथि उल्लेखित कार्यकारी समितिका पदाधिकारीहरु र सदस्यहरुलाई कार्यक्रमका सभापतिको हातबाट खादा ओढाएर स्वागत गरिएको थियो । त्यस्तै धेरै सल्लाहाकार मध्येका एकजनामात्र उपस्थित सल्लाहकार सुमल कुमार गुरुङलाई पनि खादा ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रमको दोश्रो चरणमा बोर्ड अफ ट्रस्टिज चयन गरिएको थियो । बोर्ड अफ ट्रस्टिका सदस्यहरु पछि थप गर्ने गरेर अध्यक्ष खगेन्द्र पाठक तथा सदस्यमा स्वयं अध्यक्ष विकल आचर्यलाई मनोनित गरिएको थियो । सल्लाहकार सुमल कुमार गुरुङलाई बोर्ड अफ ट्रस्टिको सदस्यका लागि आग्रह गरेका थिए तर आफू सल्लाहकारमा नै रहने कुरा उनले भेलालाई बताएका थिए । त्यसपछि नयाँ कार्यकारी समितिका पदाधिकारीहरु, सदस्यहरु र बोर्ड अफ ट्रस्टिका अध्यक्षलाई सल्लाहाकार सुमल कुमार गुरुङले आ—आफ्नो पदभारकालागि शपथ ग्रहण गराएका थिए । अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठानको जन्मलगत्तै फेरि मोतिराम भट्टको १४७ओ जन्मजयन्ती विभिन्न कविताहरु वाचन, चुट्किला पस्कँदै, मन्तव्य प्रकट गर्दै तथा उनको जीवनीबारे उपाध्यक्ष गोपिकृष्ण प्रसाईले प्रकाश पारेर मनाइएको थियो । मोतिराम भट्टको जन्मजयन्ती कार्यक्रमलाई नवनिर्वाचित महासचिव जयालक्ष्मी राईले सञ्चालन गरेकी थिईन् । स्रोत —सुमल, मेस ।