अझै हरेश खाएका छैनन् डाँकुपीडितले

अझै हरेश खाएका छैनन् डाँकुपीडितले


जीवन कथा—रामहरि त्रिपाठी
मोतीबहादुर नेपाल, भीमदत्त नगरपालिका– २, कञ्चनपुर । राज्यलाई दायित्वबोध गराउन लागिपरेका व्यक्ति । हरेश नखाएका । नेपालको प्रशासनिक जटिलता चिर्न लम्किएका । राज्यलाई झकझक्याउन पीडामाथि पीडा व्यहोर्दै कञ्चनपुरदेखि राजधानीसम्म न्यायको आशमा आएका व्यक्ति । नेपाल सरकारको जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय, राष्ट्रपतिको कार्यालय सबैतिर उनको नाम अभिलेख भइसकेको छ । सिफारिसै–सिफारिसको झोला बोकेर अब जानु कहाँ ? तैपनि सिंहदरबारको आडैमा भएको हुनाले न्याय पाइहालिन्छ कि भनेर सर्वोच्च अदालतको प्राङ्गणमा छिरेका उनै मोतीबहादुर ।
घटना ०६६ साल फागुन २८ गते राति १:३० बजेको हो । गाउँ नै निद्रामा मस्त रहेको बेला मध्यरातमा डाँका लाग्यो । घरको झ्यालढोका फुटाउँदै एक हुल डाँका हातहतियारसहित घरभित्र पसे । मोतीबहादुर र उनकी आमा सुभद्रालाई मरणासन्न हुनेगरी कुटपिट गरे । बोल्ने कुरै भएन । जसोजसो भने त्यसैत्यसै गर्नु बाध्यता नै भयो । घरमा भएको स्टिलको दराजैसमेत डाँकाहरूले लिएर गए ।
नेपालको सीमावर्ती क्षेत्रमा पीडा भोगाइको एक प्रतिनिधि घटना मात्र हो यो । मोतीबहादुरको घरसँगै अरू सात घर पनि डाँकाहरूबाट लुटिए । नेपाल सरकारको निरीहता मनन गर्दै अरू सात घरकाले घटना स्मृतिमा मात्र राख्ने प्रयास गर्दै छन् । तर, मोतीबहादुर भने नागरिकको जीउधनको सुरक्षा गर्ने दायित्व राज्यको हो, सुरक्षा गर्न नसके क्षतिपूर्ति भने पनि अवश्य पाउनुपर्छ भनेर तीन वर्षदेखि नेपाल सरकारका सबै निकायको ढोका ढकढक्याइरहेका छन् । स्थानीय प्रहरी कार्यालयले घटनाको मुचुल्का खडा गरिदिएको छ । सबै राजनीतिक दलहरूको सिफारिस छ । क्षतिपूर्ति निर्धारण समितिको सिफारिस छ । जिल्ला प्रशासन कार्यालयले महत्व दिएर लेखेको पत्र पनि उनीसँग छ । गृह मन्त्रालय, प्रधानमन्त्रीको कार्यालयदेखि राष्ट्रपतिको कार्यालयसम्म उनको निवेदन दर्ता छ । तर, सबै कार्यालयबीचमा मोतीबहादुरको निवेदनमाथि दोहोरी मात्रै चलिरहेको छ÷चलाइरहेको छ । सबै कार्यालयले अर्काको क्षेत्राधिकार भनी पन्छाउने काम मात्रै भइरहेको छ । घरमा भएको झिटी–झाम्टासमेत सबै लुटिएपछि कृषि विकास बैंकबाट लिएको ऋणले उनलाई अहिले चिन्तित बनाएको छ । सावाँ–ब्याज गर्दा दुई लाखजति ऋण उनको नाउँमा छ । ‘ऋण मात्रै मिनाहा गरिदिए पनि ठूलो राहत मिल्थ्यो,’ मोतीबहादुर भन्छन् । गरिखाने सबै चिज डाँका लाग्दा पनि सरकारले बेवास्ता गर्दा सरकारविहीनताको अनुभव डाँकापीडितले गरिरहेका छन् । ०६२ देखि कृषि विकास बैंकबाट ऋण लिई कारोबार गर्दै आएका मोतीबहादुर कृषि विकास बैंकबाटै असल ग्राहकको कोटीमा परी नियमित कारोबार गर्दै आएका व्यवसायी थिए । तर, एकाएक डाँकाको लुटपाट र आक्रमणमा उनी स्वयम् र आमा सुभद्रासमेत परेपछि महाकाली अञ्चल अस्पतालले आफूकहाँ उपचार हुन नसक्ने भनी अन्यन्त्र रिफर गरिदियो । ऋण–धन गरेर आफू र आमालाई भारत गई उपचार गराए । तर, आजसम्म पनि नेपाल सरकारले आफ्नो नागरिकको घर डाँकाहरूबाट लुटिँदासमेत सहानुभूतिसम्म प्रकट गरेन, क्षतिपूर्ति त टाढाको कुरा । तर, पनि मोतीबहादुरले हरेश खाएका छैनन्, कुनै न कुनै दिन न्याय पाइने आशमा उनी छन् । न्यायकै लागि भने पनि ऋण गरेर भए पनि दशौंपटकसम्म काठमाडौं धाइरहेका छन् । नेपाल सरकारको ढोका ढकढक्याउन छाडेका छैनन् उनले । सबैजना उनले क्षतिपूर्ति पाउनुपर्छ भन्छन्, कागजात पनि बनाइदिन्छन् । तर, आज तीन वर्ष भयो कहीँ–कतैबाट एक पैसा सहयोग पाउन सकेका छैनन् । आफ्नो राज्यका नागरिकको जीउधनको सुरक्षा गर्न पनि नसक्ने, राहत पनि दिन नसक्ने यो कस्तो राज्यव्यवस्था ? डाँकापीडितहरूको सरकारप्रतिको आक्रोश छ ।