—वीरेन्द्रमणि पौडेल
नेपाल बहुजातीय नेपाली बस्ने देश हो । विभिन्न जातका मानिसले आ–आफ्ना रीतिरिवाज र धर्मपरम्परा अँगालेका छन् यही देशमा । भाषा पनि अलगअलग बोल्छन् यहाँका मानिस । नेपाली–नेपालीबीच भाषा फरक छ, अनुहारको आकृति फरक छ, संस्कार र संस्कृतिहरू फरक छन् तर आत्मीयता र सद्भाव छ, माया, विश्वास र सदाचार छ । पूर्वमा बस्ने एक नेपाली स्वतन्त्र रूपले पश्चिम नेपाल जान सक्छ । पश्चिमको नेपाली पूर्वमा गएर नोकरी गर्न सक्छ, व्यापार र समाजसेवाको काममा लाग्न सक्छ । छुट्टाछुट्टै जातका नेपालीले आ– आफ्नो मातृभाषा बोले पनि सबै नेपालीले बुझ्ने साझा भाषाको रूपमा नेपाली भाषा बोलिरहेका छन् । १,४७,१८१ वर्गकिलोमिटर क्षेत्रफलभित्र बस्ने दुई करोड ७० लाख नेपालीमध्ये कोही हिन्दूधर्म मान्छन् । मन्दिरमा पूजा गर्छन् । कोही बौद्धधर्म मान्छन् गुम्बामा जान्छन् । मुस्लिमहरू मस्जिदमा जान्छन् । ईसाई धर्म मान्नेहरू चर्चमा जान्छन् । यो मुलुकमा हिन्दूधर्म मान्नेहरूले बौद्धधर्म मान्ने नेपालीलाई सम्मान गर्छन् । मुस्लिमहरू अरू धर्ममा आस्था राख्नेहरूलाई सम्मान गर्छन्, प्रेम गर्छन् । एउटा धर्म मान्नेले अर्को धर्म मान्नेलाई हेप्ने र होच्याउने काम नेपालमा कहिल्यै भएन । एउटा भाषा बोल्ने नेपालीले अर्को भाषा बोल्ने नेपालीलाई जहिलेसुकै सम्मान गर्दै आयो, सहयोग गर्दै आयो । एउटा संस्कारमा हुर्किएको एक नेपालीले अर्को संस्कारमा हुर्किएको नेपालीलाई राणा शासनताका सम्मान गर्यो । पञ्चायती शासनकाल र बहुदलकालमा सम्मान गर्यो । ०६२÷६३ सालको जनआन्दोलनपछि पनि नेपाली–नेपालीबीच धर्मका नाममा, जातका नाममा, क्षेत्रका नाममा, सम्प्रदायका नाममा विवाद र भेदभाव भएन ।
तर, जब संविधानसभाको निर्वाचन ०६४ साल चैत २८ गते सम्पन्न भएर संविधान बनाउने प्रयास भइरहँदा र म्याद सकिएर ०६९ जेठ १४ मा संविधानसभा विघटन हुनुअघिको समयमा जातीय पहिचानको कुरा उठाइयो, जातीय सङ्घीयताको माग गरियो । एकल जातीय पहिचानसहितको सङ्घीयता माग गरियो । कोही जातीय सङ्घीयता नभइनहुने भन्न लागे, कोही जातीय सङ्घीयतामा जाँदा देश विखण्डन हुने बताउन थाले । कोही सङ्घीयतामा जानै हुँदैन भन्न लागे । कोही सङ्घीयतामा नगई जनअधिकार सुरक्षित नहुने भन्न लागे । विभिन्न जातका मानिसले सबै नेपालीको हक, हित र अधिकारका लागि भन्दा आ–आफ्ना जातका मानिसको हक, हित र अधिकारबारे आवाज उठाए । आफू बाँच्न अरूले बाँचिदिनुपर्छ भन्ने कुरा बिर्सिए । एक जातिका मानिसको अस्तित्व सूक्ष्म ढङ्गले अर्को जातिले धानिदिएको कुरा बिर्सिए । प्रकृतिमा उपलब्ध हरेक चिज मानव अस्तित्वसँग गाँसिएको हुन्छ भन्ने कुरा बिर्सिए । उदाहरणका लागि चट्टान फुटाउने कुरा गरौँ । संसारमा भएका सबै चट्टान फुटाएर स–साना बालुवा आकारमा पुर्याइदिने हो भने पृथ्वी एकै मिनेटमा समुद्रमा बिलाउँछ । जमिनमा बस्ने सबै प्राणी मर्छन् । यो कोणबाट हेर्दा विश्वका प्राणी जातिको अस्तित्व संसारभरिका चट्टानले जोगाएको छ । नेपालको मात्रै चट्टान फोरिदिने हो भने हामी नेपाली मानव मात्र होइन अरू प्राणीसमेत पानीमै बिलाउनेछन् । दोस्रो उदाहरण जङ्गलमा पाइने घाँसलाई लिन सकिन्छ । जङ्गलमा पाइने विभिन्न जातका घाँस डढाएर र जोतेर सखाप पारिदिने होभने जङ्गलमा बस्ने मृगहरू मर्छन् । मृग खाएर बाँचिरहेका बाघहरू मृग खान नपाएपछि जङ्गल छाडेर मानव बस्तीमा आउँछन् । भेटेजतिका मानिस खान थाल्छन् । घाँसले मृग बचाएको छ । मृगले बाघलाई जङ्गलमै टिकाएको छ । यो कोणबाट हेर्दा जङ्गलको घाँसको कारण बाघबाट मानिस सुरक्षित भएको देखिन्छ ।
अब फेरि प्रसङ्ग अघि बढाऊँ जातजातिको । मागहरू जे–जे बताइए पनि थारू जाति, जनजाति, ब्राह्मण, क्षेत्री जाति भन्ने नाममा संविधानसभाको आयु समाप्त हुनुअघि बन्द–हड्ताल गरियो । थरी–थरीका अधिकार माग गरियो । मानौँ एउटा जाति मात्रै बाँच्न सकिन्छ र बाँच्नुपर्छ । जातका नाममा आन्दोलन गर्नेहरूले थुप्रै कुरा बिर्सिए । चितवनका थारूहरू जङ्गली जनावरसँग लडे । मलेरिया र औलो सार्ने लामखुट्टेसँग सङ्घर्ष गरे । ताप्रे र ढड्डीघारी फाँडेर बाँझो जमिनलाई उर्वरभूमिमा रूपान्तरण गरे । थारूहरूको यो सहयोग अरू जातिका मानिसले बिर्सनुहुँदैन । ब्राह्मण जातिका मानिसले आफूले अक्षर चिने र अरू जातिका मानिसलाई अक्षर चिनाए । अधिकार, कर्तव्य र न्यायबारे जानकारी दिए । ब्राह्मण जातिको यो सहयोग अरू जातिले भुल्न मिल्दैन । क्षेत्री, गुरुङ, मगर, तामाङ र शेर्पा जातिका नेपालीले स्वदेश र विदेशमा प्रहरी र सेनामा काम गरेर नेपालको अर्थ–व्यवस्था धान्न र राज्य सञ्चालनमा ठूलो मद्दत गरिरहेका छन् । यी नेपालीको गुन बिर्सिनसक्नुको छ । नाम लेखेर भ्याइनसक्नुका जातजातिको नेपाल निर्माणमा ठूलो सहयोग छ, मिहिनेत छ । यस्ता सहयोगलाई बिर्सेर म र मेरो जाति मात्रै भन्नुलाई कर्तव्यपालन गरेको भन्न सकिँदैन । एउटा जातिका मानिस सयपत्री फूल हुन् भने अर्को जातिका मानिस मखमली र अर्को जातिका मानिस पारिजात । मेरो जाति मात्रै अघि बढ्नुपर्छ भन्नुको अर्थ सयपत्री फूलले अरू फूल चाहिँदैन नेपालमा सयपत्री जातको फूलमात्रै रहनुपर्छ भन्ने अर्थ लाग्छ । त्यस्तो कल्पना गर्न किमार्थ हुँदैन । डा. भोला रिजाल र डा. भोजराज अधिकारी ब्राह्मणका सन्तान हुन् । डा. चिनबहादुर पुनमगर हुन् । डा. शारदा कँुवर र डा. बालकृष्ण थापा क्षेत्रीका सन्तान हुन् । डा. भक्तमान श्रेष्ठ र डा. विजयमान कायस्थ नेवारका सन्तान हुन् । यिनीहरू उपचारकर्मी हुन् । यिनीहरूका अगाडि जातको कुनै अर्थ र औचित्य छैन । सिर्फ मानवताका आधारमा उपचार गर्छन् । जसरी यी डाक्टरहरूले बिनाभेदभाव उपचार गर्छन् त्यसैगरी हामी नेपालीले एक–अर्कोलाई जातको आधारमा कुनै कोणबाट पनि भेदभाव गर्न हुँदैन । पहिलो नम्बरमा मानव, दोस्रो नम्बरमा नेपाली र तेस्रो नम्बरमा भन्नै परे गुरुङ, मगर, बाहुन, थारू, क्षेत्री, कामी, दमै, शेर्पाभन्दा उपयुक्त हुने अवस्थामा पहिलो प्राथमिकता नै जातलाई दिइयो जुन अडान र तर्क ठीक हुँदै होइन । फेरि नेवार जात भन्ने गरिएका नारायणगढका मुक्तिलाल चुके, अमृतमान शाक्य र रमेशकुमार पियाहरूले नेवार जातिमा जन्मिन पाऊँ भन्ने कतै निवेदन दिएर जन्मिएका होइनन् न त जगन्नाथ पौडेल बाहुन, टेकप्रसाद गुरुङ, पदम गुरुङ गुरुङ जातिमा वा जोखा चौधरी थारू र ऋषिबाबु परियार दमै जातिमा जन्मिएका हुन् । यो प्राकृतिक प्रक्रिया हो । प्रकृतिको नियम हो । फेरि प्रकृतिलाई जित्ने वा यसको नियम भङ्ग गर्ने तागत मानिसमा छैन र त्यो प्रयास गर्न पनि हुँदैन ।
यतिबेलै नाम र पहिचानको पनि कुरा उठ्यो । नाम त सिर्फ परिचय हो । चिनारी हो । नाम मानिसले आफ्नो सजिलोका लागि राखेको हो । महिलाको नाम पुरुष र पुरुषको नाम महिला राखिएको हुँदो हो त पुरुषले बच्चाबच्ची जन्माउँथे । कुकुरको नाम गोरु र गोरुको नाम कुकुर राखिएको भए आज कुकुरले गाडा तान्थ्यो, गोरुले चोर लखेट्थ्यो । बिरामीको नाम डाक्टर र डाक्टरको नाम बिरामी राखिएको हुन्थ्यो भने बिरामीहरू डाक्टरलाई उपचार गरिरहेका हुन्थे र डाक्टरहरू ऐया, ऐया भनेर रोइरहेका हुन्थे । उसै त इमानदार र सोझा विभिन्न जातका नेपाली सधैंभरि विदेशीले झुक्याएका थिए तर यसपटक शायद आफैं झुक्किए र जातको कुरा उठाए । विदेशीहरू चाहन्छन्– नेपालीहरू आपसमा धर्मका नाममा लडून् र मरून् । जातका नाममा एकआपसमा लडुन् र समाप्त होऊन् । लामो समय अघिदेखि विदेशीहरूले हामी नेपाली जनतालाई आपसमा लडाएर–भिडाएर सिध्याउने षड्यन्त्र गरे । यसका लागि एनजीओ, आईएनजीओमार्फत डलर खर्च गरेर सोझा नेपालीलाई धर्म परिवर्तन गराइयो । विदेशीद्वारा अनेकअनेक बखेडा झिकियो तैपनि हाम्रो जातीय सद्भाव र धार्मिक सद्भाव खलबलिएन । तर, दुर्भाग्य ! यसपटक सङ्घीयताको बीउ रोपियो र यसकै सेरोफेरोमा जातीय सद्भाव खलबल्याउने अधिकतम प्रयास गरियो । सङ्घीयताबारे नेपालमा गम्भीर ढङ्गले छलफल र बहस गरिएन । एक्कासि मुलुकलाई सङ्घीय ढाँचामा रूपान्तरण गरिने निर्णय गरियो । कसैले सङ्घीयतामा जाँदा मुलुक विखण्डन हुने तर्क अघि सारे र कसैले सङ्घीयतामा जाँदामात्रै मुलुक एकैपटक स्वर्गमा रूपान्तरित हुने तर्क गरे । संसारका सबै राष्ट्रमध्ये जम्माजम्मी २८ राष्ट्रमा सङ्घीय व्यवस्था चालू रहेको र जम्मा स्वीट्जरल्यान्ड, क्यानडालगायत चार राष्ट्रमा सङ्घीयता सफल भएको प्रमाणबारे पर्याप्त बहस र छलफल गरिएन । बहस र छलफल गरिएको भए जनताद्वारा अनुमोदन भएर सङ्घीय ढाँचामा बिनाअवरोध जान पनि सकिन्थ्यो होला । जनताको आदेश, चाहना र निर्णयबिना नै सङ्घीय ढाँचामा जाने निर्णय गर्दा विवाद चुलियो । चुलिएको विवादले अन्ततोगत्वा संविधानसभा नै तुहियो र मुलुक अघि बढ्न सकेन । समयका साथमा ठूलो आर्थिक नोक्सानी भयो ।
विवाद यतिबेला पनि सङ्घीयता र नागरिक अधिकार सुनिश्चित हुने वा नहुनेमै केन्द्रित छ । सङ्घीयता साधनमात्रै हो गन्तव्य होइन । गन्तव्य सबै जातका, सबै क्षेत्रका नेपाली जनताको हक, हित र अधिकार हो, न्याय हो । सङ्घीयतामा जाँदा ठीक हुन्छ भने सर्वदलीय, सर्वपक्षीय, सम्भव भए सर्वजातीय भेलाद्वारा निर्णय गरौँ र यदि सङ्घीय ढाँचामा नगएर पनि सबै जातका नेपालीले शान्ति, सुरक्षा, अवसर, रोजगारीका साथ बिनाभेदभाव न्याय र अधिकार पाउँछन् भने विकल्पको खोजी गरौँ । खोजी त्यस्तो व्यवस्थाको गरौँ जुन व्यवस्थामा जनअधिकार ग्यारेन्टी होस् । आन्दोलन गरौँ त्यस्तो संविधान निर्माणका लागि जुन संविधानले नेपाली हुँ भन्दा विश्वका कुनै पनि कुनामा जाँदा लामो श्वास फेरेर छाती उचाल्न पाइयोस् ।
प्रतिक्रिया