शिविरमा दश प्रतिशतभन्दा कम लडाकु

शिविरमा दश प्रतिशतभन्दा कम लडाकु


चोरबाटोमा प्रधानमन्त्री
माओवादी लडाकुहरूको व्यवस्थापनका निम्ति गठित विशेष समितिको बैठक विगत चार महिनादेखि बसेको छैन, तर प्रधानमन्त्री डा. बाबुराम भट्टराई समितिको बैठक बोलाउन पनि डराउनुहुन्छ । बैठक बोलाएर पनि काङ्गे्रस र एमालेले बैठक बहिष्कार गर्ने हुन् कि भन्ने डरका कारण प्रधानमन्त्री भट्टराईले बैठक नबोलाउनु भएको बताइन्छ । बैठक नबोलाए सैनिक नियमावलीमा संशोधन गरेर सेनामा लडाकु प्रवेशलाई सहज बनाउने प्रक्रिया भने प्रधानमन्त्रीले सुरु गर्नुभएको छ । आफ्ना लडाकुलाई सेनामा सजिलै र सामूहिक प्रवेशमा सैनिक ऐन बाधक रहेको ठानिएपछि प्रधानमन्त्री भट्टराई नियमावली संशोधनको ‘चोरबाटो’तिर लाग्नुभएको हो । माओवादी लडाकु व्यवस्थापन राजनीतिक विषय भएकोले उच्च राजनीतिक तहमा भएको सहमतिअनुसार निश्चित विधि र प्रक्रिया पूरा गरेर सेनामा भर्ना लिइने निर्णय भएको थियो । राजनीतिक दलहरूबीच उमेर, वैवाहिक स्थिति र औपचारिक शिक्षाको हकमा लडाकुलाई केही छुट दिने सहमति भए पनि बाँकी सर्तहरू सैनिक मापदण्डअनुरूप हुनुपर्ने सम्झौता भएको थियो । र, उच्च राजनीतिक तहमा भएको सहमतिअनुरूप नै विशेष समितिले लडाकुहरूको सेनामा भर्ना प्रक्रिया सुरु गराएको थियो । सैन्य मापदण्डअनुरूप भर्ना प्रक्रिया सुरु हुँदा धेरैजसो लडाकु राष्ट्रिय सेनाका लागि अयोग्य ठहरिने स्थिति बनेपछि प्रधानमन्त्री बाबुराम भट्टराईले दलहरूबीचको सहमतिलाई छल्न सैनिक नियमावली नै बदलिदिने प्रक्रिया सुरु गर्नुभएको हो । प्रधानमन्त्रीको यस्तो प्रयासलाई अन्य राजनीतिक दल तथा स्वयम् नेपाली सेनाले कुन रूपमा लिने हुन्– प्रतीक्षाको विषय बनेको छ । गत वर्षको चैत २८ गते नेपाली सेनाले लडाकु शिविर तथा हतियार आफ्नो जिम्मा लिएपछि लडाकुहरू सेनामा प्रवेश हुने विश्वासमा थिए र तीन हजार एक सय तेइस लडाकुले सेनामा जाने इच्छा देखाएर नाम लेखाएका थिए । तर, तीमध्ये पनि धेरैजसो अहिले स्वेच्छिक अवकाशमा जान इच्छुक देखिएका छन् । शिविरमा यतिबेला दश प्रतिशत अर्थात् तीन सय लडाकु पनि बस्ने नगरेको जानकारी आएको छ । कैलालीस्थित लडाकु शिविरमा तीन सय पच्चीसजना हुनुपर्नेमा त्यहाँ अहिले जम्मा सोह्रजना लडाकु मात्र रहेका छन् । त्यस्तै पाँच सय ७२ लडाकु हुनुपर्ने सुर्खेतस्थित शिविरमा जम्मा बीसजना मात्र भएको बुझिएको छ । पहिले समायोजनमा जान इच्छुक लडाकुमध्येको ठूलो सङ्ख्याले अहिले स्वेच्छिक अवकाशमा जान चाहेको भन्दै विशेष समितिमा रकम माग गरेर निवेदन दिएका छन् । पहिले नै स्वेच्छिक अवकाश रोजेका चौध हजार लडाकुले पनि दोस्रो किस्ता रकमका लागि समितिमा निवेदन दिएका छन् ।
ज्ञातव्य छ, स्वेच्छिक अवकाशमा जान चाहनेलाई सरकारले पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णयबमोजिम पहिलो किस्ताको दुई लाख पचास हजार रुपैयाँका दरले गत वैशाखमै नगद बुझाइसकेको छ । उनीहरूले दोस्रो किस्तामा पाउनुपर्ने रु. दुई लाख पचास हजारका लागि विशेष समितिमा निवेदन दिएका हुन् ।
अहिले कुनै पनि शिविरमा लडाकु कमान्डरहरू बस्ने गर्दैनन् । लडाकु व्यवस्थापनको प्रक्रिया अघि बढ्ने निश्चित भएपछि शिविरमा भएका भाँडाकुँडा र अन्य कतिपय सामग्री कमान्डर तथा केही लडाकुले त्यहाँबाट बाहिर लगेका छन् । त्यसैले अहिले शिविरको जिन्दगी थप कष्टकर भएको छ ।
गत वैशाख २ गते बसेको विशेष समिति बैठकले केही महत्वपूर्ण निर्णयहरू लिएको थियो । तर, त्यसयता बैठक बस्न नसकेपछि सेना समायोजन कार्य अलपत्र परेको छ र लडाकुहरूको भविष्य अनिश्चित बनेको छ । यदि अहिले माओवादीबाहेक अरू कसैको सरकार भएको भए लडाकुहरूले भीषण सङ्घर्ष सुरु गर्ने निश्चितप्राय: थियो । आफ्नै पार्टी नेतृत्वको सरकार भएकोले उनीहरूले सङ्घर्ष सुरु गर्ने हिम्मत गर्न सकेका छैनन् । तर, अब कति समय उनीहरूको धैर्य रहला ? प्रतीक्षाको विषय बनेको छ ।