विश्वकै दोस्रो ठूलो चलचित्र उद्योग बलिउडमा एक समय नायिकाको भीडमा एकछत्र राज गर्न सफल भएकी थिइन् मनीषा कोइराला । ‘वाह’ गर्न लायकको सफलतालाई चुम्ने मनीषा यतिबेला भने गुमनाम छिन् । बलिउडमा उनीसँगैका माधुरी दीक्षित, करिष्मा कपुर, सोनाली बेन्द्रे र शिल्पा सेठ्ठीहरू पनि हाल घरजम गरेर पारिवारिक जीवन बिताइरहेका छन् । नयाँहरूको आगमनसँगै विस्थापित मनीषाको अब बलिउडमा कुनै गुन्जायस छैन । यही कारणले पनि उनले अब नेपाली चलचित्र क्षेत्रमा नै बाँकी जीवन बिताउने निधो गरेकी छिन् । यो रहस्य मनीषाले यसै साता खोलेकी हुन् । ‘सुशीला आर्टस् एकेडेमी’को उद्घाटन गर्ने क्रममा मनीषाले यस्तो अभिव्यक्ति दिएकी हुन् । ‘जीवनमा धेरै कुराको अनुभव गरियो । उतारचढावहरू पनि धेरै भए । अब भने तनावमुक्त र रिल्याक्स जीवन बिताउन चाहन्छु,’ उनले भनिन् ।
नेता बीपी कोइरालाकी पत्नी सुशीला कोइरालाको नाममा खोलिएको सो एकेडेमीको उद्घाटन कार्यक्रममा नेपाली काङ्गे्रसका सभापति सुशील कोइराला, अभिनेता राजेश हमाल र मनीषाको साथमा उनका भाइ सिद्धार्थ कोइराला पनि थिए ।
मनीषा अब यही एकेडेमीलाई फलाउन र फुलाउनतिर लाग्ने सोचमा पनि रहिछिन् । एउटा पूरा भएको यो सपनालाई जीवनपर्यन्त बचाइराख्नुपर्छ भन्ने मान्यता लिएकी मनीषा पहिलेभन्दा फरक रूपले प्रस्तुत भएकी थिइन् त्यस दिन । निकै शालीन देखिएकी मनीषाले पारिवारिक कुरा त्यति खोलिनन् । उनले चित्त दुखाउँदै भनिन्, ‘बोलचाल भएको छैन, यहाँ प्रेम पर्यो भनेर आउँछ । अनि सानो पारिवारिक खटपटलाई लिएर डिभोर्सकै हल्ला सुरु हुन्छ । त्यसैले अब म धेरै बोल्दिनँ ।’
मनीषाको यो चित्तदुखाइ हालै मात्र उनको डिभोर्सको हल्लाप्रति लक्षित थियो । उनले थपिन्, ‘हामी दुवै आ–आफ्नो कामप्रति व्यस्त छौँ । तर, हामीलाई नै थाहा छैन कि हाम्रो डिभोर्स कहिले भयो ? कमसेकम डिभोर्स हुनेलाई त थाहा हुनुपर्यो नि ?’ मनीषाको यो जवाफले भने एकछिन् माहौल नै रमाइलो भएको थियो ।
मनीषाले आफ्नो चलचित्र निर्माणसँगै अब आफ्ना भाइ सिद्धार्थ कोइरालालाई पनि नेपाली सिनेमामा प्रवेश गराउने योजना राखेकी छिन् । सिद्धार्थले केही भारतीय चलचित्रमा काम गरे तापनि उनले भनेजस्तो बाजी भने मार्न नसकिरहेको अवस्थामा सिद्धार्थको हुन लागेको यो प्रवेशले कत्तिको बाजी मार्ने हो त्यो भने हेर्न बाँकी नै छ ।
तर, जे होस्, बलिउडबाट रिटायर्ड भएपछि अनि उता माग घट्न र बिक्न छाडेपछि ढिलै भए पनि मनीषाले नेपाली सिनेमा मेकिङमा देखाएको चासो, रहर र कुतूहललाई भने स्वागत गर्नैपर्छ ।
मनीषा मेरी असल साथी
नेपाली सिनेमाका महानायक राजेश हमालले नायिक मनीषा कोइराला आफ्नो राम्रो साथी भएको कुरा बताएका छन् । उनले भने, ‘उहाँ सुन्दर हुनुहुन्छ अनि क्षमतावान पनि । उहाँलाई म सम्मान गर्छु ।’ कार्यक्रममा सञ्चारकर्मीहरूले मनीषाले बोलाउनासाथ तपाईं जुन कार्यक्रममा पनि पुग्नुहुन्छ नि ? भन्ने प्रश्नको जवाफमा हमालले भने, ‘त्यो संयोग हो, मनीषाजीले बोलाउँदा मात्र होइन तपाईंहरूले बोलाउँदा पनि आउने गरेको छु नि ।’
मनीषाको अबका दिनमा नेपाली चलचित्र र नेपालप्रति नै समय खर्चने कुराप्रति भने हमालको पनि सकारात्मक धारणा पाइयो । उनी भन्दै थिए, ‘मनीषाले नेपाली चलचित्र निर्माण गर्ने सोच लिनु पनि राम्रो कुरा हो । उहाँजस्तो अनुभवीको प्रवेश अवश्य पनि समग्र चलचित्र क्षेत्रका लागि फलदायी कुरा हो ।’ उसो भए मनीषाको डिभोर्सबारे के थाहा छ त ? जवाफमा हमालले यति मात्र भने, ‘त्यो उहाँको व्यक्तिगत कुरा हो । यसबारे मैले पनि मिडियामा पढेको हुँ । त्यति नै थाहा छ मलाई पनि ।’
सुष्मालाई साथ दिने को ?
चलचित्र ‘लुट’को सफलतापछि एकाएक ‘उधे्रको चोली’को उपनाम पाइन् सुष्मा कार्कीले । योभन्दा पहिले उनी सामान्य डान्सर मात्र थिइन् । केही म्युजिक भिडियोको अनि कन्ट्रयाक्टमा क्यासिनोतिर नाच्थिन् । तर अहिले उनको दिनचर्या, कमाइ, खुवाइ मात्र होइन लवाइ र उठबस पनि फेरिएको छ ।
त्यसो त यो चर्चा, नाम र दामसँगै उनी क्रमश: उध्रिँदै पनि जान थालेकी छिन् । कहिले मदिराको सुरमा झगडा त कहिले पहिरन त कहिले निर्देशकसँगको ‘रिलेसन’लाई लिएर विवाद र चर्चामा आइरहने सुष्मा यतिबेला एकजना पुरुषसँगको हेलमललाई लिएर बजारमा छाएकी छिन् । सुष्मा कुनै कार्यक्रममा आउँदै छिन् भने ती पुरुष पनि टुप्लुक्क सुष्मालाई बाइकपछाडि राखेर आइपुग्छन् । कार्यक्रम अवधिभर सुष्मा बसुञ्जेल ती युवक पनि बस्छन् र कार्यक्रम सकिएपछि ती युवक फेरि सुष्मालाई बाइकमा राखेर लान्छन् । अचम्मलाग्दो कुरा के छ भने ती युवक को हुन् ? कसैलाई थाहा छैन । कार्यक्रम अवधिघर ती युवक ‘माक्स’ लगाएरै बस्छन्, कोहीसँग पनि बोल्दैनन् । अहिलेसम्म सुष्माले बाहेक ती युवकको अनुहार अरू कसैले देखेको पनि छैन ।
यसरी अहिलेकी ‘हटकेक’ सुष्मालाई बस्न, आउन र जान साथ दिने ती युवक को होलान् ? कुतूहल लाग्नु अस्वाभाविक पनि होइन । धेरै कार्यक्रममा एकसाथ देखेपछि अन्तत: यो हप्ता तिजको एक कार्यक्रममा सञ्चारकर्मीहरू मुख खोल्न बाध्य भए अनि उनीहरूले सोधे– सुष्मा को हुन् उनी ? सुष्मा पनि निडर स्वभावकी युवती न परिन् । उनले भनिन्, ‘मेरो साथी, अरू केही होइन । एउटा साङ्गीतिक ब्याण्डसँग आबद्ध सङ्गीतकर्मी हुन् ।’
भदौ २९ मा ब्ल्याकमेल
राजनीति पृष्ठभूमि बोकेका शरद अधिकारी यतिबेला ग्ल्यामर्स क्षेत्रतिर तानिएका छन् । प्रत्यक्ष रूपमा उनी मिडियातिर छाउन चाहँदैनन् । तर, उनले दिल खोलेर व्यावसायिक रूपमा लगानी गरेको सिनेमा हो ब्ल्याकमेल ।
अर्काको लगानीमा मोज गर्ने मात्र होइन कि कलाकारभन्दा आफ्नै अनुहार प्रचारप्रसारमा बढी देखाउन खोज्ने निर्माताहरूको भीडमा पृथक किसिमले बेग्लै पहिचानका साथ आउन लागेका ब्ल्याकमेलका निर्माता शरदले भने, ‘हाम्रो काम भनेको दर्शकमाझ राम्रो सिनेमा मेकिङ गरेर दिने हो, निर्माताको अनुहारले होइन कलाकारको नामले सिनेमा चल्ने हो । त्यसैले मैले अनुहारलाई भन्दा कामलाई महत्व दिएको हो ।’ भदौ २९ गतेदेखि देशव्यापी रूपमा लाग्ने ब्ल्याकमेललाई मधुसूदन भट्टराईले निर्देशन गरेका हुन् ।
पुस्तक समीक्षा
साँच्चैका पत्रकारको जीवन्त कथा
नेपालका ख्यातिप्राप्त पत्रकार पुष्करलाल श्रेष्ठको जीवनकथामा आधारित पुस्तक ‘कलम’ बजारमा आएको छ । पत्रकार अशोक सिलवालद्वारा लिखित उक्त पुस्तकले पुष्करलाल श्रेष्ठले पत्रकारिता जीवनमा सामना गर्नुभएका उतारचढावलाई मात्र उजागर गरेको छैन, समकालीन राजनीतिक र सामाजिक अवस्थाको बिम्बात्मक चित्रण पनि पुस्तकमा भएको छ । नेपाली पत्रकारितामा पुष्करलालको विशिष्ट पहिचान किन पनि कायम भएको छ भने पत्रकार आफैंद्वारा सञ्चालित ठूलो सञ्चारगृहको स्वामित्व पनि उहाँ आफैंमा निहित छ । ठूलो आकारका अन्य दैनिक पत्रिकाहरूमा व्यापारीहरूको लगानी छ र व्यापारिक उद्देश्यमा नै उनीहरू केन्द्रित छन् । तर पुष्करलाल श्रेष्ठले ठूलो लगानी गरेर पनि आफूलाई व्यापारी नभई केवल पत्रकार मात्र भएको पहिचान बनाउनुभएको छ । त्यस्तै पत्रकारिताको विविध आयाममा आफूलाई समर्पित गराउन सक्नु पुष्करलालको अर्को विशेषता हो । रंग पत्रकारिताको त उहाँ ‘पायोनियर’ नै हुनुहुन्छ । आफ्नो व्यावसायिक जीवनमा उहाँले व्यहोर्नुभएका अनेक रोचक घटना इमानदारीपूर्वक पुस्तकमा उजागर भएको छ । व्यापारीहरूको पत्रकारितामा कस्ता प्रकारका हस्तक्षेप हुन्छन् भन्ने कुरालाई पुष्करलालले बढो मार्मिक ढङ्गले पुस्तकमा उल्लेख गर्नुभएको छ । आर्थिक समस्याका कारण व्यापारीहरूसँग साझेदारी गर्दा उत्पन्न भएको तनावबारे पुष्करलालको भनाइ पुस्तकमा उल्लिखित छ– २०६२ सालमा प्रकाशन गृहको व्यवस्थापन संरचनामा व्यापक परिवर्तन भयो । त्यो कसरी भयो ? भन्छन्, ‘दुगड र मुरारका जो प्रकाशन गृहका सेयर होल्डर एवम् प्रबन्ध निर्देशक थिए, उनीहरू पत्रकारिता क्षेत्रमा नभई व्यापारिक क्षेत्रका थिए । तर, म व्यवसायी या प्रकाशकभन्दा बढी आफूलाई पत्रकारका रूपमा पाउँछु र हुँ पनि । अनि उनीहरू पूर्ण व्यावसायिक वा व्यापारिक रूपबाट सोच्थे र म भने पत्रकार वा सम्पादकको हिसाबबाट ।’ कुरा त्यहीँनेरबाट विवादित हुँदै गएको थियो । त्यसपछि बहुमत सेयरका अगाडि पुष्करको ‘पत्रकार चेतना’ सम्झौतामा रूपान्तरण हुन बाध्य हुँदै गयो । त्यस्तो अवस्थामा पुष्करको मनोदशाबारे उहाँ आफैंले भन्नुभएको छ, ‘उनीहरूको दोष होइन, त्यो । उनीहरू व्यावसायिक हुनुको व्यवहार गर्दै थिए सायद । तर म गल्दै र जल्दै गइरहेको थिएँ ।’
पुस्तकमा पुष्करलालले तात्कालिक राजनीतिमा देखेभोगेका र कतिपय अवस्थामा उहाँ आफैंले निर्वाह गर्नुपरेको भूमिकाको रोचक सन्दर्भ पनि उल्लिखित छन् । यो पुस्तकले एउटा पत्रकारहरूको जीवनले के–कस्तो प्रकारका चुनौतीको सामना गर्नुपर्ने हुन्छ भन्ने यथार्थ विवरणको रोचक तस्बिर प्रस्तुत गरेको छ । पुस्तकले नेपाली राजनीति र राजनीतिकर्मीहरूको कैयन पाटाको उद्घाटन पनि गरेको छ । पुस्तकलाई पत्रकार अशोक सिलवालले बडो रोचक र पठनीय बनाएका छन्, त्यस निम्ति उनलाई बधाई भन्नैपर्छ । आफ्नो जीवनकथालाई इमानदारीपूर्वक सम्प्रेषण गरेर पुष्करलाल श्रेष्ठले नेपाली पत्रकारिता र नेपाली समाजलाई अद्वितीय गुन लगाउनुभएको पाठकहरूले सहजै महसुस गर्न सक्छन् । त्यसका लागि पुष्करलाल श्रेष्ठलाई हार्दिक बधाई र शुभकामना भन्नैपर्छ ।
प्रतिक्रिया