- लेनिन बिष्ट
तिमीले
गोडाफाट भन्यौ, मैले गोडा फाटेँ
सतर्क भन्यौ, म सतर्क बनेँ
अगाडि बढ भन्यौ, म अगाडि बढेँ
पछाडि हट भन्यौ, म पछाडि हटेँ
सर्टिफिकेट फाल भन्यौ, मैले फालेँ
दस्ताबेज पढ भन्यौ, मैले पढेँ
इतिहास पढ भन्यौ, मैले पढेँ
समाज पढ भन्यौ, मैले पढेँ
अरु कति कुराहरू तिमीले नभन्दा पनि पढेँ
तिमिले बन्दुक बोक भन्यौ, मैले बोकेँ
कैयौँ क्वीन्टल भारी पनि बोकेँ
सहयोद्धाका अमर शरीर बोकेँ
घाइते शरीर बोकेँ
रक्तिम सन्देश बोकेँ
बोक्न त आजादहरुका प्यार पनि बोकेँ
जल्लादहरुका काला कर्तुत पनि बोकेँ
घर भनिएन
सम्पत्ति भनिएन
बा आमा भनिएन
प्रियसी भनिएन
पढाई भनिएन
केवल भनियो त परिवर्तन
हिँडियो त मृत्युलाई हत्केलामा राखेर
भत्काइयो दुश्मनको जिल्ला
बनाइयो आफ्नै लालकिल्ला
जलाइयो बुर्जुवा किताबका पाना पाना
बनाइयो सामन्तिलाई निशाना
तिमीसँग आदेश दिन सक्ने क्षमता थियो
मसँग पनि त तिम्रो आदेश मान्ने क्षमता त थियो
मैले आदेश पालना गरेकै हुँ
आफ्नो कर्तव्य निभाएकै हुँ
भोकभोकै लडेकै हुँ
त्यतिबेला
मेरो अपाङ्ग शरीर पनि तिम्रो लागि अमूल्य थियो
किनकि म भाँचिएको हात लिएर
बन्दुक चलाउन सक्थेँ
खुट्टामा गोलीका डल्ला बोकेर
अहोरात्र लड्न सक्थेँ
तिमीले बन्दुक रोक भन्ने बेलासम्म पनि
म तिम्रो लागि प्रिय नै थिएँ
किनकि म तिम्रा लागि सुरक्षा दिन सक्थेँ
तिमीलाई हरक्षण पहरा दिन सक्थेँ
तर, जब तिमी
हामी बस्ने परालको गुन्द्री छाडेर
राता कार्पेटमा बस्न थाल्यौ
अनि बिस्तारै मेरो मूल्य तोकिन थाल्यो
जब मूल्य तोकियो
मजस्तै हजारौंलाई हाटबजारमा राखियो
तिमीले पठाएका
कैयौं ग्राहकहरु आए
अङ्ग अङ्ग जाँचेँ
खुट्टामा गोली बोकेको म
भाँच्चिएको हात बोकेको म
अयोग्य बनेँ..!
कमरेड !
कुनैबेला त्यही भाँच्चिएको मेरो
हात तिम्रालागि प्यारो थियो होइन ?
गोली लागेको मेरो खुट्टा
तिम्रा लागि तन्दुरुस्त थिए होइन ?
म अमुल्य थिएँ होइन ?
म योग्य नै थिएँ होइन ?
तर म आज कसरी अयोग्य भएँ ?
तिमीले भनेको मोर्चा सम्हालेकै हुँ
दुश्मनको किल्ला तोडेकै हुँ
तिमीलाई गुन्द्रीबाट रातो कार्पेटसम्म पुर्याएकै हुँ
के त्यहाँ पुर्याउनु मेरो गल्ती थियो ?
मेरो अयोग्यताको कारण तिमी त्यहाँ पुगेको हौ ?
तिमीले त मेरो योगदानको मापन हुनुपर्छ भन्थ्यौ
तर मेरो चोटग्रस्त शरीर नापियो
मेरो शरीरको उचार्इ नापियो
तौल नापियो
तर,
खै त तिम्रो उचाई नापिएको ?
खै त तिम्रो तौल नापिएको ?
खै त तिम्रो योग्यता नापिएको ?
केही पनि मापन गर्नै नपर्ने तिमी योग्य…!
तिमीलाई नै योग्य बनाउन शरीरमा गोली बोक्ने
म कसरी भएँ अयोग्य ??
प्रतिक्रिया