न त गाईको थुनमा न त बाच्छोको पेटमा, खै कहाँ गो प्रजातन्त्र ?

न त गाईको थुनमा न त बाच्छोको पेटमा, खै कहाँ गो प्रजातन्त्र ?


– सञ्जय सोमवंशी

मानिसको भिड जम्मा हुनु नै स्वयम्मा कुनै सफलता ठहरिँदैन, किनकि कालीदासले ठड्याएको औँला र राजकुमारीले ठड्याएको औँलामा झैँ भिड जम्मा हुने कारणका आधारमा नै मानिसका भिडको महत्व र भिन्नता हुन्छ । साझा हितको उद्देश्य र शुभसङ्कल्पबिना नै आ–आफ्नो भिन्नाभिन्नै स्वार्थ (Divergent interest) ले जम्मा भएका भिडको सङ्ख्यालाई नै यदि महत्वपूर्ण ठान्ने हो भने मानिसको भिड त बाँदर नचाउनेवालादेखि चटके जादुगरसमेतले पनि धेरै जुटाएको हुन्छ, तर यस्तो भिड अनुत्पादक भिड मात्र हो किनकि यसबाट कुनै परिणाम निस्कँदैन । ‘दशवटा गधाको मस्तिष्क एकत्र गरेर पनि एउटा घोडाको मस्तिष्क तयार हुँदैन’ भन्ने जर्मन दार्शनिक नित्सेको धारणालाई हुन त प्रजातन्त्रविरोधी नै मानिएको छ ।

तर, पवित्र उद्देश्य र स्वस्थ चाहनाले जाग्रत भएका चेतनाको विशुद्ध नैतिकताबिना एकत्रित भएको राजनीतिक भिडले नित्सेकै धारणालाई पुष्ट्याइरहेको पाइन्छ । किनकि यदाकदा मानव समाजमा जन्मने असाधारण चाहनाका महापुरुषहरूको अपवादलाई छोडेर साधारण चरित्रको सङ्ख्यालाई हेर्ने हो भने निर्धा र लाचार सत्यको पक्षमा उभिनुभन्दा बलवान, असत्य र अशिवको पक्षमा उभिनुलाई नै सफलता ठान्ने प्रवृत्ति मानिसको स्वभावमा नैसर्गिक रूपले रहेको पाइन्छ । आधुनिक चिन्तक ओशो रजनिशले गणितको सालाखाला तथ्याङ्कलाई सत्य ठान्नुजस्तो झुटो विश्वास दुनियाँमा अरू कुनै छैन भन्नुभएझैँ हाम्रो राजनीति पनि सालाखाला सत्यमा आधारित भएकाले यसमा प्रायः सतही विश्वासका मानिसको मात्र भिड देखिन्छ ।

एउटा भिखारी देखेर आफ्नो बाँच्नुको सार्थकतालाई धिक्कार्ने महात्मा बुद्ध र महाकवि देवकोटाजस्ता विराट् सम्वेदना भएका व्यक्तिहरूको सङ्ख्या राजनीतिक क्षेत्रमा बहुत कम सङ्ख्यामा पाइन्छ । हाम्रो आजको मान्यताअनुसार त अझ कसैलाई अप्रत्यासि रूपले झुक्याएर धोखा दिन सक्नुलाई नै राजनीतिक कुशलता र चतु¥याइँ मान्ने गरिएको छ, मान्छेको समाज यदि झुटो कुरामा गौरव गर्न थाल्यो भने मुख्य रूपले यसकारणको दोषी शिक्षानीति र आर्थिक अराजकतालाई नै मान्नुपर्ने हुन्छ । तात्विक अर्थमा हेर्ने हो भने आज आफूले पालेका कुकुरको भाग सुटुक्क चोरेर उसलाई लाचार बनाउन सक्नेलाई नै आजको समाजले आफ्नो बौद्धिक कुशलता र सफलता ठान्ने गरेको पाइन्छ, आचरण हेर्दा कन्जुस र समाजवादीको भेद छुट्याउन पनि निकै कठिन छ, छिमेकीको बच्चा औषधि नपाएर मरिसकेको हुन्छ र त्यहीँ नजिकैको क्रान्तिकारी हुँ भन्ने व्यक्ति जोनीवाकर पिउन पाएकोमा गौरव गरिरहेको हुन्छ । अब भन्नुहोस्, यस्तो अमानवीय चतु¥याइँले समाजवाद, राष्ट्रवाद र साम्यवादको लेवल टाँसेको छ भने हामीले उसमाथि कसरी विश्वास गर्ने ? यस्तो अवस्थामा दशवटा जोनीवाकर पिउनेको भिडले कुनै गरिब बच्चाको प्राण जोगाउने औषधि तयार पार्दैन भनेर हामीले बाध्य भएर सोच्नैपर्छ ।

समाजमा नैतिक मूल्य प्रतिस्थापित गर्ने प्रश्नमा बहुदलीय प्रजातन्त्रको सक्रियता देखाउनुको सट्टा झन् उल्टो अलक्षण देखाएको छ किनकि एउटा लठैत गुण्डाको अगाडि आज पनि एउटा प्राध्यापकजस्तो बौद्धिक वर्गको व्यक्तिले हीनताबोध गर्दछ, तस्करको अगाडि एउटा इमानदार राष्ट्रसेवकले हीनताबोध गरिरहेको छ । यहाँ इमानदारीले आफ्नो निम्ति उपहासभन्दा अरू केही फलाउन सकेको छैन । नैतिकताको प्रत्येक पाइलाले काँढैकाँढामा टेकेर हिँडिरहनुपर्ने स्थिति झन्झन् बढिरहेको छ, तस्करी र भ्रष्टाचारले सुगन्धित फूलहरूको ओछ्यानमा निर्धक्कसँग नौला सपना देख्न पाइरहेको छ, आफ्ना मनपरेका मानिसलाई सनद रुक्का, लालमोहर दिएर तालुकदार मुखिया, जिम्बुवाल बनाउने काम राणाहरूले पनि गरेका थिए आजको प्रजातान्त्रिक शक्ति भनेको पनि आफ्नो हुक्के, छाते र बैठकेजस्ता चम्चाहरूलाई अष्टाचारको लाइसेन्स बाँड्नमै खर्च भइरहेको पाइन्छ ।

नैतिकताबिनाको बौद्धिक चतु¥याइँ भएको मानिस नै डाँका हो भनेर महात्मा कन्फुसियसले भन्नुभएझैँ आज हामी जताततै नैतिकताबिनाको बौद्धिक कौशलता मात्र देखिरहेका छौँ । मानौँ कि देख्नेलाई सडिसकेका गुदीको भान नपरोस् भनेर हामीहरू स्याउको दानालाई मालिस र पालिसद्वारा चम्काइरहेका छौँ । आखिर यस धोखेबाजीको परिणाम कसै न कसैलाई भोगाउनुछ ।

प्रत्यक्ष रूपले नदेखिने गरी अघोषित हतियार र मन्दविषले अरूलाई मार्न सक्नु नै महान् हुनुको पहिचान भएपछि हिंस्रक नङ्ग्रा नभएको निर्धा मानिसले इज्जत पाउने गुञ्जाइस नै भएन । लिखित कानुन र परम्परागत नैतिकता जस्तोसुकै भए पनि व्यावहारिक अर्थमा हामीले चुत्थोलाई विवेकी र धोखेबाजलाई प्रतिभावान् ठान्न थाल्यौँ, एकै दिनमा दशजनासँग बेचेर पनि फेरि निखन्दै जहाँको तहीँ रहिरहने काशी र गयाको पण्डाहरूका गाईजस्तालाई राजनीतिज्ञ ठान्न थाल्यौँ, बौद्धिक वेश्याहरूलाई राष्ट्रसेवक र विकाउ आचरण नै टिकाउ हुन सक्ने योग्यता भन्न थाल्यौँ । समाजको मानसिकतामा परिवर्तन ल्याउन सक्नु नै क्रान्तिको प्रथम उपलब्धि ठहरिन सक्दथ्यो होला । तर, हामीले भन्ने गरेका क्रान्तिले समाजको मानसिकतामा सकारात्मक परिवर्तन ल्याउनुको कुरो त परै छोडौँ सदाचार र दुराचार छुट्याउन सक्ने एउटा नैतिक मापदण्ड पनि बनाउन सकेन, पहिले राजपरिवारका सदस्यहरूलाई मात्र नियम–कानुनको दायराभन्दा बाहिर रहेको मानिन्थ्यो । अहिले त झन् प्रत्येक पार्टीका नेता र शासकहरूले आफ्नो पार्टी र चाकरीमा लाग्नेजति सबैलाई राज्यको नियम–कानुनन्दा माथि राख्ने चलन र पूर्वसर्त छ ।

यस्तो अराजक मान्यता फैलाउनमा सबैभन्दा अगाडि नेपाली काङ्ग्रेस नै रहेको पाइन्छ । किनकि जाँड खाएर राति अबला नारीको इज्जत लुट्न खोजेको र घरमा आगो लगाएको अभियोगमा प्रहरीले समातेर ल्याएका मान्छेलाई छोडाउन सत्तामा बसेका व्यक्तिकै दबाव आउने गर्दछ । यसरी पटक–पटक कानुनी दण्ड भोग्नबाट बचेको व्यक्तिले पछि त प्रहरीको जागिर खाइदिने धम्की स्वयम् नै दिन थाल्छन् । छोटो अर्थमा भन्ने हो भने काङ्ग्रेसको शासनकालमा काङ्ग्रेस र एमालेको पालामा एमाले हुनु नै निरपराधी हुनुको स्वयम्सिद्ध मान्यता बन्न गएको ठहरिन्छ । कोही मानिस प्रजातन्त्रवादी हो कि होइन भनेर छुट्याउँदा उसको दैनिक कर्म र आचरणलाई आधार नबनाएर उससँग कसको नाता पर्छ, कोसँग सम्पर्क बढी राख्ने गरेको छ र कत्रो थैली दिन सक्दछ भन्ने कुरालाई नै आधार बनाएको पाइन्छ ।

(घटना र विचार साप्ताहिक, २०५२ चैत २८ बुधबार)