‘कहीँ नभाको जात्रा हाँडीगाउँमा’ भन्ने भनाइ प्रचलित छ नेपालीमा हाँडीगाउँमा हुने एउटा जात्रालाई लिएर । यस्तै कहीँ नभएको जात्रा देखाउने गरेको छ यस मुलुककै एकमात्र लोकतान्त्रिक पार्टी र मुलुकमा हालसम्म भएका सम्पूर्ण परिवर्तनको नेतृत्व गरेको दाबी गर्ने ‘नेपाली काङ्ग्रेस’ नामधारी पार्टीले ।
पार्टी लोकतान्त्रिक भनिए पनि यसभित्र आन्तरिक लोकतन्त्र कहिल्यै रहेन । दलभित्रको गुटबन्दी त दल स्थापना भएदेखि नै कायम रह्यो, यसका संस्थापकहरूले नै जीवनको उत्तरार्धतर्फ आइपुग्दा पार्टी परित्याग गरेको विडम्बनापूर्ण घोषणा गर्न बाध्य भएका कुरा पनि सबैका लागि पीडादायी बनेर रहेका छन् ।
अहिले फेरि यस पार्टीभित्रको कलह नयाँ रूपमा सतहमा आएको छ । महाधिवेशन सम्पन्न भएको दुई वर्षपछि यसको जिम्मेवारी बाँडफाँड गरियो । सभापतिबाट भएको त्यस विभाजनप्रति असन्तुष्ट पक्ष सहमत हुन सकेन । छलफल नै नगरी एकपक्षीय ढङ्गमा टीका लगाइदिने काम भएको भन्दै उसले आफ्ना पक्षबाट जिम्मेवारी तोकिएकाहरूलाई राजीनामा दिन लगायो । संस्थापन पक्ष आफ्नै हठमा अड्ने र असन्तुष्टले त्यसरी एकल निर्णयको आधारमा हुने गतिविधिका सामु निरीह बनेर, हेपिएर नबस्ने नीति अङ्गीकार गरेपछि काङ्ग्रेसमा यो बेमौसमी र अनावश्यक बाझाबाझको अवस्था देखिएको छ ।
देश अन्योल र अनिश्चयको भूमरीमा परेको छ । लोकतन्त्र सङ्कटमा छ । मोर्चा र गठबन्धनको त्रास देखाएर माओवादी सत्तामा टिकिरहने दाउमा छ । स्वेच्छाचारी शासनको निरन्तरताका लागि अनुकूल वातावरण बनाउन संविधान, ऐन–कानुन र विधि–विधानको चीरहरण गर्न उद्यत् छ । यस्तो अवस्थामा माओवादीका कुकृत्य र कुशासन अनि उसको नियतको भण्डाफोर गर्ने, माओवादीको विरोध गर्ने र लोकतान्त्रिक शक्तिहरूलाई एकढिक्का बनाएर यसलाई सत्ताच्यूत गराउनुपर्ने काङ्ग्रेस भने जात्रा देखाएर बसिरहेको छ ।
पछिल्ला दिनमा माओवादी काङ्ग्रेस र यसका सभापतिमाथि रामै्रसँग खनिएको छ । खासगरी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आफंै यसमा लागिपरेका छन् । एकातिर स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सम्झना गरेझैं र उनीप्रति एकदमै श्रद्धाभाव प्रकट गरेझैं गरेका छन् । आर्कोतर्फ नेपाली काङ्ग्रेसको वर्तमान नेतृत्वप्रति कठोर बनिरहेका मात्र छैनन् सहमतिको बाधकका रूपमा चित्रित गरेर संविधानको बाधकसमेत काङ्ग्रेस नै हो भन्नेजस्तो गलत प्रचारबाजीमा लागेका छन् । यस्तो स्थितिमा नेपाली काङ्ग्रेस अत्यन्त जिम्मेवार ढङ्गमा प्रस्तुत हुनुपर्नेमा आन्तरिक कहलमा फसेको मात्र छैन पार्टीका वरिष्ठ नेताबाट नै ‘सभापति सुशील कोइराला अक्षम भएको र पार्टी चलाउन नसक्नेले देश चलाउन नसक्ने’ अभिव्यक्ति सार्वजनिक भएपछि विरोधीलाई विरोध गर्न झनै सजिलो भएको छ ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहालले त ‘माओवादी फुटाउने नै कोइराला हुन्’ भन्दै हाम्रो पार्टी फुटाउँछन् भने हामीले तिनको पार्टीका सङ्घीयतावादीहरूलाई फुटाउन किन नहुने भन्नसमेत बाँकी राखेका छैनन् । दाहालले ‘कोइरालाको अक्षमता एवम् सहमतिविपरीत क्रियाकलापका कारण राजनीतिक गतिरोध उत्पन्न भएको’ भनेर परिस्थितिको सारा दोष उनीमाथि थोपर्दै काङ्ग्रेसको नेतृत्वमा सरकार बन्न नसक्ने धारणा पनि सार्वजनिक गरिसकेका छन् ।
निश्चय नै सुशील कोइराला नेपाली काङ्ग्रेसको बाह्रौँ महाधिवेशनबाट पार्टीको सभापति निर्वाचित हुँदा सबैलाई समेटेर अघि बढ्ने बताए पनि त्यसअनुसार अघि बढ्न नसकेकै हो । एकपटक विभाजनको पीडा भोगिसकेको पार्टीलाई पुन: त्यस्तो अवस्था आउन नदिने कोइरालाले बताएकै हुन् र त्यसअनुरूप काम नहुँदा असन्तुष्ट पक्षको चित्त नबुझ्नु अस्वाभाविक होइन । तर, मुलुकको समग्र अवस्था, अन्य दलका गतिविधि र अन्य परिवेशको ख्यालै नराखी सामान्य अवस्थामा जस्तो गतिविधि गर्नुचाहिँ पार्टीको हितविपरीत हुने कुरा हो । यसका लागि संस्थापन एवम् असन्तुष्ट दुवै पक्षका कमजोरी दुवै पक्षले स्वीकार गर्नुपर्छ ।
सर्वसत्तावाद लाद्न चाहनेहरू लोकतन्त्रको दुहाई दिएर लोकतन्त्रकै विरुद्ध सक्रिय भएका तथा राष्ट्रिय स्वाधीनता र राष्ट्रवादको नाममा मुलुकको पहिचान, स्वाभिमान र गौरवलाई बन्धक राख्ने तथा लोकतन्त्रका आधारशिलाहरूलाई कमजोर बनाउने षड्यन्त्रमा लागेका बेला आफूलाई लोकतन्त्रको पहरेदार भनेर गर्व गर्ने नेपाली काङ्ग्रेस आफ्ना आन्तरिक समस्या टुङ्गो लगाई तिनका विरुद्धमा अघि बढ्न नसक्नु विडम्बना हो ।
माओवादी वर्तमान अवैध सत्ता लम्ब्याउने अनेक बहानाबाजी गरिरहेको छ । सत्ता लम्ब्याउनकै लागि घोषणा गरेको हुनै नसक्ने निर्वाचनका लागि निर्वाचनसम्बन्धी व्यवस्था संशोधन गर्न खोजेको अध्यादेश राष्ट्रपतिबाट अस्वीकृत भएपछि माओवादी झनै उग्र र अराजक बन्ने सम्भाबना बढ्दै छ । सारा दोष अन्य दल र राष्ट्रपतिको थाप्लोमा हालिदिएर पानीमाथिको ओभानो बन्न खोजेको माओवादी नेताहरूले ‘कसैले रोइकराइ गर्दैमा सत्ता नछाड्ने बरु २०/२५ वर्ष यस्तै अवस्था रहनसक्ने’ जस्तो गैरजिम्मेवार अभिव्यक्ति दिएर लोकतन्त्रको त उपहास गरेका छन् नै लोकतान्त्रिक शक्तिहरूलाई चुनौती पनि दिएका छन् । यस परिस्थितिमा निर्लज्ज, अनुत्तरदायी एवम् गैरजिम्मेवार माओवादी नेताहरूलाई ठीक ठाउँमा ल्याउन र तिनको दम्भको जवाफ दिनका लागि पनि काङ्ग्रेसले नेतृत्वदायी भूमिका लिनुपर्छ जसका लागि सर्वप्रथम एकताबद्ध काङ्ग्रेस अपरिहार्य छ ।
आन्तरिक विवादहरू समाप्त गरी विद्यमान परिस्थितिप्रति आफ्नो ठोस अवधारणासहित अघि बढ्नु काङ्ग्रेसको जिम्मेवारी हो । यतिखेर काङ्ग्रेस नेतृत्वको ध्यान मुलुक कुन अवस्थाबाट गुज्रिरहेको छ ? अन्य दल के–कसरी अघि बढिरहेका छन्, तिनका गतिविधि र क्रियाकलाप कुन दिशातर्फ लक्षित छन् त्यसतर्फ जानुपर्छ । मुलुकको राजनीतिमा आफ्नो भूमिका र हैसियत के–कस्तो अवस्थामा
छ ? त्यसको हेक्का राख्दै एउटा ऐतिहासिक पार्टीले आफ्नो उचाइ र जिम्मेवारीको महसुस गर्दै लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण एवम् गणतन्त्रलाई संस्थागत गर्ने कार्यमा आफूलाई जिम्मेवार रूपमा अघि बढाउनु आजको आवश्यकता हो । यसैमा मात्र मुलुक, मुलुकवासी, लोकतन्त्र र काङ्ग्रेसको हित सम्भव छ ‘हाँडीगाउँको जात्रा’मा होइन ।
प्रतिक्रिया