एकसय ३० पत्नीका श्रीमानको मृत्यु

एकसय ३० पत्नीका श्रीमानको मृत्यु


एकसय ३० जना श्रीमतीहरुका एकल श्रीमानको मृत्यु भएको खबर प्राप्त भएको छ । एजेन्सीका अनुसार नाइजेरियाका मोहम्मद बेलो अबूबकर नामका यी व्यक्तिको ९३ वर्षको उमेरमा गत जनवरी २८ तारेखमा निधन भएको छ ।

एकसय ३० श्रीमती तथा २ सय ३ जना छोराछोरी भएका चर्चित ब्यक्तिको मृत्यु भएको खबरले नाइजेरियामा तरंग पैदा भएको छ । अबूबकरको निधन हुँदासम्म उनका कूल सन्तानको संख्या २ सय ३ भएपनि यो संख्या बढ्ने अनुमान गरिएको छ । किनकी उनका केही पत्नीहरु अहिले गर्भवती अवस्थामा रहेको बुझिएको छ । उनिहरुले निकट भविष्यमै बच्चा जन्माउनेछन् ।

पेशाले धर्मगुरु अर्थात् मौलवी रहेका अबू बकर बिहे गरिरहनु आफ्नो पवित्र मिसन भएको बताउँदै आएका थिए । आफूलाई इश्वरले बिहे गर्नकै लागि धर्तीमा पठाएको उनको दाबी थियो । कुरानको विवादित व्याख्याका लागि पनि उनी चर्चित थिए ।

कुनैपनि पुरुषले आफुले चाहेजति संख्यामा महिलासँग बिह गर्न सक्छ भन्ने कुरा कुरानमा लेखिएको छ भनेर उनले दाबी गर्थे । अबूबकरका अनुसार पुरुषले कुनै दुख विनानै जतिपनि श्रीमती सम्हाल्न सक्छ उति बिहे गर्ने हक हुन्छ ।

उनको यस्तो क्रियाकलाप तथा भनाईका कारण अन्य मुस्लिम धर्मगुरुहरुले उनको आलोचना समेत गरेका थिए । उनका जिवित रहेका ८६ पत्नीमध्ये तत्कालै ८४ जनासँग सम्बन्धबिच्छेद गर्न समेत दबाब दिइएको थियो । तर उनी गलेनन् । पछिल्लो केही समयदेखि उनी बिरामी परेका थिए । र अन्ततः उनको मृत्यु भएको छ । उनको अन्त्येष्टीमा ठूलो संख्यामा मानिसहरु सहभागी भएका थिए । एजेन्सी