महिला पत्रकार र यौन हिंसाको कुरा

महिला पत्रकार र यौन हिंसाको कुरा


गत हप्ता धनगढीमा भएको बेला रेडियो पश्चिम टुडेले अन्तर्वार्ता लिने क्रममा पत्रकार भाइ दीर्घराज उपाध्यायले पहिलो प्रश्न गरे– प्रधानमन्त्री कार्यालयले महिला पत्रकारमाथि हुने गरेका यौन हिंसाबारे खोजबिन गर्न समिति गठन गरेको छ । त्यो समितिसँग छलफल हुँदा महिला पत्रकारले आफूहरू व्यापक यौन हिंसामा रहेको बताएका कुरा बाहिर आएका छन् । खासमा यो के हो ? समितिले के गरिरहेको छ ? र, के–के कुराहरू आइरहेका छन् ? जवाफमा मैले समिति बनेको आफूलाई जानकारी भएको तर के–के काम भइरहेको छ र के–के कुरा आएका छन् जानकारी नभएकाले त्यस विषयमा प्रतिवेदन बाहिर आएपछि नै थाहा हुने र अहिले आफू यो विषयमा बोल्न असमर्थ रहेको बताएँ । पछि मिडियाका साथीहरूसँगको अनौपचारिक छलफलमा पनि यो विषयमा कुराकानी भयो । ‘हामी सकेसम्म महिला पत्रकारको सङ्ख्या बढोस्, उनीहरूले राम्रो गरून् भन्ने चाहन्छौँ, तर मिडियाकै मानिसबाट महिला पत्रकार सुरक्षित छैनन् भनेर कुराहरू आउँदा भोलि अनावश्यक आरोप लाग्ने जोखिमबाट बच्न पनि महिला पत्रकारलाई राख्ने अवस्था नआउन सक्छ । हामी त यहाँ महिला होस् या पुरुष परिवारजस्तै भएर काम गर्छौं, त्यस्तो होला र ?’ अधिकांशको भनाइ रह्यो । ‘केही नभई त्यसै यस्ता कुरा आए भन्न मिल्दैन, तर जसरी यौनशोषणमा परेका भनेर महिलाको नाम बाहिर ल्याइयो त्यो भने गलत भयो । पत्रकारिता पेसालाई उनीहरूले निरन्तरता दिए पनि नदिए पनि हाम्रोजस्तो समाजमा भविष्यमा यस्ता कुराले नराम्ररी पिरोलिरहन सक्छ ।’ धनगढीका साथीहरूसँगको कुराकानीले मनमा धेरै प्रश्न उब्जाएका थिए । यस्तै कुरा केही दिनअघि रूपन्देहीका साथीहरूसँग चितवनमा भएको भेटघाटका क्रममा भएको थियो । ‘हामीले त आफ्नै सहकर्मी महिला पत्रकारहरूलाई त्यस्तो दृष्टिकोणबाट हेरिन्छ भन्ने सोचेका पनि थिएनौँ, पत्रिकामा पढेर अचम्म लाग्यो । पत्रकार भनेर परिचय दिँदा धेरै कुराको डर पहिल्यै थियो, अब त आफ्नै सहकर्मीलाई दुव्र्यवहार गर्नेहरू भनेर थप ट्याग पनि झुन्डिएलाजस्तो छ ।’ उनीहरूका यी कुराले धेरै दिनसम्म मनमा ठाउँ लिएको थियो । रूपन्देही र धनगढी यी दुवै पत्रकारितामा राम्रो अभ्यास भइरहेका ठाउँ मानिन्छन् ।
यही भदौ १० गते सुर्खेतमा भएको महिला, शान्ति र सुरक्षासँग सम्बन्धित कार्यक्रममा द्वन्द्वको बेला भएका यौन हिंसाको कुरा भइरहेको थियो । त्यसैबीच एक सहभागी महिलाले भनिन्, ‘हेर्नुस्, सञ्चार क्षेत्रजस्तो सचेत र बौद्धिकहरूको जमात मानिने क्षेत्रमा त कस्तो यौन हिंसा रहेछ, महिलाहरू अलिकति पनि सुरक्षित रै’नछन्, राति पनि काम गर्नुपर्ने ठाउँमा महिला पत्रकार आफ्नै सहकर्मीबाट यौन हिंसाका सिकार हुँदारहेछन् ।’ कार्यक्रमको सहजीकरण गरिरहेकी मैले उनलाई सोधेँ– तपाईंलाई यो कसले भनेको ?’ उनले भनिन्, ‘मैले रेडियोमा भएको छलफल कार्यक्रम सुनेकी । पत्रिकामा पनि यो कुरा आएको छ रे । अब त पत्रकार भनेर परिचय दिँदा महिला भए यौन शोषणमा परेका र पुरुष भए यौनशोषण गर्नेहरू भनेर पो बुझ्न थालिने हो कि क्या हो जस्तो पनि लाग्यो ।
राजधानीमा सञ्चालित एउटा टेलिभिजन च्यानलमा काम गर्ने पत्रकारसँग प्रेमसम्बन्ध भएकी एक महिलाले आफूले चोखो माया लाएको प्रेमीले धोखा दिएको भनी नेपाल पत्रकार महासङ्घ, राष्ट्रिय महिला आयोग, प्रधानमन्त्रीको कार्यालयलगायतका निकायमा उजुरी हालेपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिडियामा हुने गरेको यौन हिंसाको छानबिन गर्न समिति बनाएका हुन् । पत्रकारिताभन्दा फरक पृष्ठभूमिकी महिला अधिकारवादी डा. रेणु राजभण्डारी यो समितिकी संयोजक छिन् भने माओवादी नेतृ देवी खड्कालगायत केही पत्रकार सदस्य छन् । हतारहतारमा गठन गरिएको भनिए पनि अहिले यो समितिले गरेका अन्तरक्रियाका नाममा जे–जस्ता कुरा बाहिर आएका छन् ती हेर्दा प्रधानमन्त्रीले यसलाई निकै विचार पुर्‍याएर गठन गरेको भन्न सकिन्छ । यसबाट दुईवटा कुरा एकैपल्ट भएको छ, एउटा प्रधानमन्त्रीको स्तरबाट महिला पत्रकारविरुद्धको यौन हिंसाको बारेमा संवेदनशीलता देखाइएको छ भने अर्को आफ्नो समर्थकबाहेक अरू मिडियालाई कसरी तह लगाउने भनेर सोचविचार भइरहेको वेला यही बहानामा मिडियाकर्मी र मिडियाहाउसहरूलाई बद्नाम गर्न उचित अवसर पनि मिलेको छ । मिडियाले बारम्बार अरूको विषयमा आवाज उठाइरहने हुँदा यसप्रकारको प्रतिवेदन अगाडि सारिदिएपछि तपाईंहरूकै क्षेत्रमा यस्तो छ, अरूको कुरा के उठाउनुहुन्छ ? पहिला आफू सुध्रिएर आउनुस्, आफ्नो क्षेत्र सुधार्नुस् अनि अरूको आवाज उठाउनुस् भन्न सजिलो हुने ठानिएको पनि हुन सक्छ । वास्तविकता के हो र कस्तो छ भन्दा पनि यसलाई मिडिया र मिडियाकर्मी (महिला–पुरुष दुवै)लाई बद्नाम गर्न राम्रै हतियारका रूपमा आगामी दिनमा प्रयोग गर्ने नियत रहेको देखिन्छ ।
नेपाली मिडियामा समस्या नभएका होइनन्, मिडियामा काम गर्ने महिला–पुरुष दुवैका समस्या छन् । महिला भएकै कारणले पारिवारिक दोहोरो बोझ, अवसरको कमी, सुरक्षा, काम गरेको तलब समयमा नपाउनु या पाउँदै नपाउनु, कामको बाँडफाँड (बिट) मा भेदभावलगायतका विविध कामकाजी भेदभाव महिला पत्रकारले भोगिरहेका छन् । कहीँ कतै यौन हिंसाका कुरा नसुनिएका होइनन्, तर यौन हिंसा नेपाली मिडियामा काम गर्ने आममहिला पत्रकारको समस्या होइन । एकाध नै भए पनि यौन हिंसा यदि भएको रहेछ भने त्यस्ता व्यक्तिको पहिचान गरी अपराधीलाई कडा कारबाही हुनुपर्छ चाहे त्यो पत्रकार होस् मालिक या अन्य कर्मचारी । नेपाल पत्रकार महासङ्घले यस्ता उजुरीका लागि कानुनी डेस्क नै राखेको छ । उजुरी गर्नलाई अधिकारकर्मी या नेतृहरूभन्दा महिला पत्रकारका लागि नेपाल पत्रकार महासङ्घ आधिकारिक निकाय हो । सञ्चारिका समूहले केही समय अगाडि काठमाडौं उपत्यकामा गरेको अनुसन्धानमा २० प्रतिशतले कामको सिलसिलामा लैङ्गिक दुव्र्यवहार भएको बताएका छन् तर यौन दुव्र्यवहारको प्रश्नमा कसैले पनि आफूमाथि यौन दुव्र्यवहार भएको बताएका थिएनन् । सञ्चारिकाले नै आठ वर्षअघि गरेको देशव्यापी अनुसन्धानमा दुई प्रतिशत महिला पत्रकारले आफूमाथि यौन हिंसा भएको कुरा उल्लेख गरेका थिए । सो दुई प्रतिशत काडमाडौंबाहिरका महिलाबाट आएको थियो । मिडिया क्षेत्र यौन हिंसाबाट पूर्ण मुक्त छ भनेर भन्न सकिन्न, एउटा सानो अनुसन्धानले सबैलाई पूर्ण रूपमा समेट्न सक्छ भन्ने पनि होइन । तर, अहिले यो समितिका नाममा जसरी कुराहरू आइरहेका छन् त्यसले काम गरिरहेका महिला पत्रकार र भविष्यमा पत्रकारितामा आउन चाहने महिलाका लागि निकै असर गर्ने देखिन्छ । हरेक मानिस आफ्ना छोरी, बुहारी र दिदी–बहिनी, श्रीमतीलाई सुरक्षित ठाउँमा काम गर्न पठाउन चाहन्छ । जुन ठाउँ आफ्नै सहकर्मीबाट यौन दुव्र्यवहार हुन्छ भनी बद्नाम छ त्यो ठाउँमा जान कसैले पनि आफ्नो परिवारका महिला सदस्यलाई प्रोत्साहित गर्दैन । यस्ता कुराले मिडियामा महिलाको सङ्ख्या घटाउन या प्रवेश रोक्न निकै मद्दत गर्ने देखिन्छ । हल्लामा ल्याइएजस्तो सञ्चारमाध्यमका ‘न्यूज रुम’हरू त्यति असुरक्षित पनि छैनन् । व्यक्तिगत रूपमा कसको कोसँग कतिबेला निकटता बढ्छ र त्यो सम्बन्ध कहिले, किन टुट्छ भन्ने कुराप्रति ‘न्युज रुम’ उत्तरदायी हुँदैन । तर, यदि कहीँ कतै यौन हिंसाको घटना भयो भने मिडियाहाउसले पूर्ण रूपमा त्यसलाई निषेध गर्ने नीति तय गर्ने मात्र होइन सम्बन्धित व्यक्तिलाई कानुनी सजायको भागीदार बनाउनका लागि भूमिका निर्वाह गर्नुपर्छ ।