– लुमडी आचार्य
काठमाडौं उपत्यकाको काँठक्षेत्रमध्ये ऐतिहासिक, राजनीतिक, धार्मिक एवम् प्राकृतिक विशेषतायुक्त भूखण्ड हो दहचोक । ससुराली मकवानपुरबाट पृथ्वीनारायण शाह गोर्खातिर फर्कन लाग्दा भक्तपुर, ललितपुर, कान्तिपुर, कीर्तिपुर राज्यलाई एकीकरणमा समावेश गर्नका लागि चन्द्रागिरीबाट दृश्यावलोकन गरेको अग्ला डाँडाहरूमध्येको र कीर्तिपुरको दोस्रो युद्धमा वीरगति प्राप्त गरेका कालु पाण्डेको समाधिस्थललगायत पृथ्वीनारायण शाहको यात्राको एउटा भूखण्ड– दहचोक पनि ।
इतिहास शिरोमणि बाबुराम आचार्यद्वारा लिखित ‘नेपालको सङ्क्षिप्त वृत्तान्त’मा पनि धेरै ठाउँमा ‘दहचोक’ समन्वित भएको पाइन्छ । नेपाल एकीकरणपूर्व बाइसे, चौबिसे, भुरे, टाकुरे राज्यका राजधानी पनि अग्ला डाँडाहरूमा हुने गरेको भेउ इतिहासको अध्ययन गर्दा पाइने गर्छ । हुम्ला, जुम्ला, मुसिकोट, गोर्खा हुँदै नुवाकोटसम्म आइपुग्दा पनि प्रायः अग्लै ठाउँमा राजधानी र दरबार हुने गरेको उदाहरणहरू छँदै छन् । शायद शत्रुबाट जोगिन अग्ला भूखण्डलाई नै चयन गर्ने गरेको होला ।
तीन शहर नेपाल खाल्डोको एकीकरणपछि पृथ्वीनारायण शाहले दहचोकमा दरबार बनाएर राजधानी कायम गर्न चाहेको प्रसङ्ग पनि करिब डेढ दशकअघि कुनै पत्रिकामा दृष्टिगोचर भएजस्तो लाग्छ । यसरी विविध प्रसङ्ग जोडिने दहचोकसँग कान्तिपुर एकीकरण गरी हनुमानढोका गद्दी बैठकमा विराजमान भएको शुभदिन, इन्द्रजात्रासँग दहचोक पनि जोडिएको छ । जब कि धार्मिक महत्वको इन्द्रदह दहचोकमा पनि यस दिन धार्मिक मेला लाग्छ ।
यसै भूगोल परिसरका ग्रामीण बस्तीहरूमध्ये नेपालथोककी नेपालकी छोरी, दहचोके सिग्देलकी बुहारी रोमकुमारीले भोगेका वि.सं. १९७४ यताका अत्यन्तपीडादायी सङ्घर्षमय जीवनगाथालाई औपन्यासिक रङ्गमा घोलेर चर्चित कवि एवम् उपन्यासकार भुवनहरि सिग्देलबाट २०७२ को उत्तरार्धतिर लोकार्पित स्मृति ग्रन्थ– ‘आमोइ’ । यसमा विचरण गर्ने आमपाठकमध्येको पङ्क्तिकार पनि ।
तीन सय बाह्र पृष्ठसम्म तन्काएर बिट मारिएको प्रस्तुत कृतिकी मुख्यपात्र– ‘आमोइ’ । एघार वर्षको अल्लारे केटो, सिग्देल परिवारको वरसँग रोमकुमारीको पुतली खेलेजस्तो विवाह हुनुअघि आमाबाबुलगायत सबैबाट प्यारो गरेर सम्बोधन गरिने नाम– मैयाँ । नेपालकी छोरीबाट सिग्देलकी बुहारीमा परिणत भएपछिको नाम– सान्दुलै ।
‘आमोइ’का मन्तव्यकार, वरिष्ठ कवि प्रह्लाद पोखरेलको अभिव्यक्ति जस्तै– ‘आमोइ’ अध्ययन गर्ने कुनै पाठक द्रवीभूत नभएमा उसको पढाइ केवल सुगारटाइ मात्र हो ।
दुई वर्षको पारिवारिक जीवनमा स्पर्श त के आपसमा हेराहेरसम्म पनि नभई गोठाला गएका बहानामा भेगीय अनकन्टार जङ्गलमा आत्महत्याबाट मृत्युवरण गर्न पुग्छ सिग्देल पुत्र, गीताप्रेमी । अब सान्दुलै होइन घरपरिवार, छरछिमेक, नातागोता सबैतिर अलच्छिना आइमाईमा परिणत हुन्छिन् उनी । तैपनि तत्कालीन समाजले जतिसुकै कुरा काटे पनि त्यसलाई सहजै पचाउँदै जान्छिन् । अर्काको पीडामा रमाउने कुरौटे समाजलाई अनेकाँँ उखानटुक्काका माध्यमबाट व्यङ्ग्यात्मक जवाफ दिँदै जान्छिन् ।
शास्त्रीय विधिअनुसार केवल परम्परा धान्न मात्र दाम्पत्यजीवनमा बाँधिएका सिग्देल पुत्र र नेपालकी पुत्रीबीच करिब दुई वर्षको पारिवारिक जीवनमा स्पर्श त के आपसमा हेराहेरसम्म पनि नभई गोठाला गएका बहानामा भेगीय अनकन्टार जङ्गलमा आत्महत्याबाट मृत्युवरण गर्न पुग्छ सिग्देल पुत्र, गीताप्रेमी । अब सान्दुलै होइन घरपरिवार, छरछिमेक, नातागोता सबैतिर अलच्छिना आइमाईमा परिणत हुन्छिन् उनी । तर तत्कालीन समाजले जतिसुकै कुरा काटे पनि त्यसलाई सहजै पचाउँदै जान्छिन् । अर्काको पीडामा रमाउने कुरौटे समाजलाई अनेकाँँ उखानटुक्काका माध्यमबाट व्यङ्ग्यात्मक जवाफ दिँदै जान्छिन् । बाध्यतावश उनबाट व्यक्तिएका निक्कै चोटिला उखानटुक्काहरूमध्ये तल बेँसीबाट परालको भारी बोकेर उकालो चढ्दै गर्दा गाउँका जेठाजुले जिस्क्याउँछन् यसरी–
‘बारी न बिरुवा नौ मुरी तोरी, सिग्देलकी नोकर्नी नेपालकी छोरी ।’
छोरी, बुहारी हुँदै नोकर्नीकै हैसियतमा जीवन जिइरहेकी रोमकुमारीको उत्तर अत्यन्त घतिलो र व्यावहारिक छ–
तालुफुस्री, मुखधुस्री, फुटेको कर्म परालमै घुस्री !
यसरी समकालीन दहचोके काँठेहरूले जतिसुकै कुरा काटे पनि त्यसलाई सहजै पचाउँदै धैर्यतासाथ अत्यन्त उराठिलो जीवन जिउँदै जान्छिन् । हैजा र बिफरको सङ्क्रमणबाट सासूआमा र दुईवटी जेठानीसमेत परमधाम भएपछि अलच्छिना कटेरोमा शेष रहन्छन् राणो जेठाजु, राणी बुहारी र एउटी छोरी मात्र । अब घरेलु दायित्व जेठाजुभन्दा बढी बुहारीमै थपिन्छ । पचास वर्ष पार गरिसकेका जेठाजु र माइती दुवैलाई परिस्थिति बुझाएर आफ्नै १३ वर्षे बहिनीको बिहे जेठाजुसँग गराउन सफल हुन्छिन् रोमकुमारी । अब एकातिरको नाताले बहिनी र अर्काेतिरबाट जेठानी कस्तो संयोग ! यद्यपि यो उल्लासमय नभएर बाध्यतावशको संयोग मात्र हो नेपालकी पुत्रीको जीवनचक्रमा । उता माइतीमा बौलाहा कुकुरको टोकाइबाट १३ वर्षे भाइको कुुकुरैसरी अवस्थामा पुगेर मृत्यु हुन्छ ।
अब छोरी, बुहारी, देउरानी हुँदै ‘आमोइ’ बन्न पुग्छिन् रोमकुमारी । जब कि बहिनी (जेठानी)बाट क्रमशः ६ वटा सन्तान जन्मिँदै, हुर्कंदै जान्छन् । विडम्बना ! कान्छो छोरो जन्मेको ९ दिनमै जेठाजु पनि बित्छन् । आफूतिर नफर्कने र अरूकै कुरा काटिरहन रुचाउने ग्रामीण समाज भने अर्काको पीडाप्रति आल्हादित बन्दै गुनगुनाउँछन्– ‘नुवाकोटको झिल्टुङबाट बसाइँ सरेर थानकोटको नेपालथोक आउँदा साथमा वीर पनि ल्याएछन् क्यारे नेपालले । अब एक्ली राणलाई केको चिन्ता कपाल मुड्छे पहेँलो लुगा भिरेर हिँड्छे…।’
समाजले चाहेजस्तो हुँदैन । यसरी सङ्घर्षैसङ्घर्षमा झेलिँदै कहालीलाग्दो जीवन जिउँदै जाँदा बहिनी २०५० सालतिरै र दिदी पनि परमधाम भइसकेपछिका स्मृतिग्रन्थलाई बहिनीकै जेष्ठपुत्र भूवनहरि सिग्देलले ‘आमोइ’ स्मृतिग्रन्थलाई स्वयम् आमोइकै प्रतीकका रूपमा उभिएर पितृऋण कुशलतापूर्वक तिर्न सफल छन् । यसमा झोलीका देवता मानिने ललितपुरको झरवारासीनिवासी भानिजले पनि महत्वपूर्ण भूमिका खेलेको अनुभूत हुन्छ । जब कि कृति प्रकाशनका लागि मामालाई उत्साहित बनाउने र पूरै आर्थिक सहयोग भान्जा विश्वराज घिमिरेबाटै भएको छ । यस्ता भानिजहरू विरलै भेटिन्छन् नेपाली समाजमा ।
हुन त ‘कामकुरा एकातिर, कुम्लो बोकी ठिमीतिर’ भन्ने काठमाडौं उपत्यकाको काँठतिर प्रचलित उखानले सङ्केत गरेजस्तै पनि होला, तर अत्यन्त कारुणिक परिवेशसँग जोरिएको ‘आमोइ’सँग एउटा प्रसङ्ग जोर्न मन लाग्यो । करिब २०० वर्ष उतैको पुख्र्यौली इतिहास अघिल्ला पुस्ताबाट सुन्दै आएको । मेरा जिजुबाजे देवीदत्त आचार्य । नेपालका कौडिण्यगोत्री आ.दी. (आचार्य दीक्षितहरूमध्ये शिरोमणि आचार्य दीक्षितकै हाँगाको र समकालीन पनि । देवीदत्तका सुपुत्र हरिवंश मेरा हजुरबा । देवीदत्तकी धर्मपत्नी दहचोके सिग्देलकी छोरी । नाम– राम्री आमा । उनलाई सासूले अत्यन्तै सताउने रे । राम्री आमाका माइती सिग्देलहरूमध्ये कुनै परिवारको घर काशीमा । त्यसैले तीन पुत्रहरूमध्ये हरिवंश र बलभद्रलाई साथमा लिएर थानकोट, चन्द्रागिरी, भिमफेदी, हेटौँडा हुँदै काशी माइतीतर्फ प्रस्थान गर्छिन् घरको अनुमतिबेगर । एउटा बालकलाई कतै बोकेर कतै डोहोऱ्याउँदै पर पुग्छिन् । फेरि फर्किन्छन् र अर्काे बच्चालाई लैजान्छिन् । बाटोमा आफ्नो पीडा बताउँदै गुहार माग्दै यात्रालाई निरन्तरता दिँदै जान्छिन् । जता पुग्यो त्यतै बास र गाँस मिल्दै जान्छ । मानौँ ईश्वरको कृपा !
समकालीन दहचोके काँठेहरूले जतिसुकै कुरा काटे पनि त्यसलाई सहजै पचाउँदै धैर्यतासाथ अत्यन्त उराठिलो जीवन जिउँदै जान्छिन् । हैजा र बिफरको सङ्क्रमणबाट सासूआमा र दुईवटी जेठानीसमेत परमधाम भएपछि अलच्छिना कटेरोमा शेष रहन्छन् राणो जेठाजु, राणी बुहारी र एउटी छोरी मात्र । अब घरेलु दायित्व जेठाजुभन्दा बढी बुहारीमै थपिन्छ । पचास वर्ष पार गरिसकेका जेठाजु र माइती दुवैलाई परिस्थिति बुझाएर आफ्नै १३ वर्षे बहिनीको बिहे जेठाजुसँग गराउन सफल हुन्छिन् रोमकुमारी ।
थानकोटको डाँडो काट्दै प्रारम्भ भएको पैदलयात्राको ६ महिनापछि काशी पुग्छिन् । पाटी, पौवा, सत्तल, मन्दिर हातातिर दिन, रात गुजार्दै जाँदा दुई बालकसहित बेपत्ता भएकी महिलाबारे सोधपुछको क्रम चलिरहेकै हुन्छ । काशीका माइतीघरबाट काठमाडौंको मुड्खुमा आ.वा.द्वारा जानकारी प्राप्त हुन्छ । देवदत्त काशी पुग्छन्, पत्नी र पुत्रहरूको कहालीलाग्दो विछोड यात्राको ६ महिनापछि । नामकी राम्री, कर्मले अत्यन्त अभागी राम्री आमाको भेट हुन्छ पतिसँग । आफूले भोगेका चरम कठिनता व्यक्त गर्न खोज्दा पतिबाट यस्ता अकल्पनीय शब्दवाणहरू वर्षिन्छन्– ‘मलाई तेरो मतलब छैन, छोराहरू लिन आएको लिएर गइहाल्छु, तँलाई लिएर गएँ भने भातपानी चल्दैन ।’ भोलिपल्ट बिहानै आफूसँग भएका लगाउने कपडालगायत गरगहना जे–जस्ता जति सामग्री थिए सबै छोराहरूको कम्मरमा बाँधी दिएर अन्तिमपटक छोराहरूको मुख हेर्दै भागीरथी, मणिकर्णिका घाटमा हेलिएर यस संसारबाट बिदा हुन्छिन् । पति देवीदत्त छोराहरू लिएर नेपाल फर्कन्छन् चिन्तारहित ।
दहचोके नेपालकी छोरी, सिग्देलकी बुहारीले जीवनभर भोगेका कहालीलाग्दा घटनाहरूको यथार्थ चित्रण– ‘आमोइ’सँग दहचोके सिग्देलकै छोरी मुड्खुले आचार्यकी बुहारी राम्री आमाका अत्यन्त पीडादायी जीवनगाथाको सङ्क्षिप्त परिचय समन्वित गर्नु सान्दर्भिक नै लाग्यो ।
‘आमोइ’ कसैको व्यक्तिगत जीवनकथा, संस्मरण जे भए पनि यसमा विचरण गर्ने आमपाठकको आङ जिरिङ्ग अवश्य गर्ला । दुःखमा नआत्तिनु, सुखमा नमात्तिनु भन्ने मार्गदर्शनको व्यावहारिक चित्रण पर्याप्त झल्किएको छ– ‘आमोइ’ अर्थात् करुणरसले भरिएको पोखरीमा । भान्जाको मात्र होइन स्मृतिकार स्वयम्की ठूलीआमा, ‘आमोइ’को पनि पितृऋण तिर्न कुशल स्रस्टा र द्रष्टा भुवनहरिले जस्तै ओझेलमा परिरहेका आम आमोइहरूका स्मृति–कथा प्रकाशित गर्न प्रस्तुत कृतिले आम हरिहरूलाई उत्साहित बनाउनेछ ।
प्रतिक्रिया