आइटीएफ जुनियरको उपाधि हिरानो र रुतुजालाई

आइटीएफ जुनियरको उपाधि हिरानो र रुतुजालाई


जापानका ताइयो हिरानो र अमेरिकाकी रुतुजा छप्हल्करले नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट–१ अन्तर्गत सिंगल्स उपाधि जितेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा हिरानोले ताइपेईंका चिया फन साउकोलाई ६–४, १–६ र ६–३ को सेटमा पराजित गरेका थिए । त्यस्तै पुरुष डबल्समा पनि हिरानो र साउको जोडी च्याम्पियन बनेका थिए ।

महिला सिंगल्स फाइनलमा रुतुजाले चीनकी यिमिङ दाङलाई ६–४, ४–६ र ७–६(१) को सेटमा पराजित गरेकी थिइन् । यसअघि महिला डबल्समा हङकङकी चुइ केइ लिउङ र भारतकी सान्या सिंहको जोडी पहिलो भएका थिए ।

विजेतालाई अखिल नेपाल लनटेनिस संघका उपाध्यक्ष केशवराज पाण्डेले पुरस्कृत गरेका थिए । अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगितामा नेपालसहित ११ राष्ट्रका समान ३२ पुरुष/महिला खेलाडीले सिंगल्स र डबल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताअन्तर्गत सर्किट २ माघ २८ गते सोमबारदेखि सुरु भएको छ । त्यसका लागि क्वालिफाइङ राउन्ड गत शनिबारैदेखि सुरु भएको छ ।