आत्मसम्मानको प्रश्न

आत्मसम्मानको प्रश्न


प्रधानमन्त्री डा. बाबुराम भट्टराईको तेहरान भ्रमण अहिले निकै चर्चामा छ । बेलाबेलामा अनेक चर्चामा आइरहने प्रधानमन्त्रीको यसपटकको चर्चा असंलग्न राष्ट्रहरूको १६औँ शिखर सम्मेलनमा धुमधामको उपलब्धि हासिल गरेका कारण या जाँदा—आउँदा काठमाडौंका सडक खाली गराई जनतालाई घन्टौंसम्म जाममा राखेर दु:ख दिएका कारण नभएर भारतका प्रधानमन्त्रीसँग त्यहाँ गरेको भेटघाटका कारण भएको हो । सरकारप्रमुख भएर कुनै देशको नेतृत्व गर्दै औपचारिक कार्यक्रमहरूमा जाँदा धेरै देशका सरकारप्रमुखहरूसँग भेटघाट हुनु स्वाभाविक नै हो । तर, यसपटक नेपालका प्रधानमन्त्रीका रूपमा डा. बाबुराम भट्टराईले भारतका प्रधानमन्त्री डा. मनमोहन सिंहसँग गरेको भेटघाटचाहिँ निकै नै अस्वाभाविक मानिएको छ । छिमेकी मुलुकप्रति बढी नै ‘लोएल’ मानिनुहुने प्रधानमन्त्री भट्टराई भेटघाटका क्रममा एक्लै रहेको प्रचार भएपछि त्यसले अनेक शङ्का–उपशङ्का पनि उब्जाएको छ । प्राय: दुई देशका सरकारप्रमुख या राष्ट्रप्रमुखहरूको भेटमा तिनका सहयोगी या सल्लाहकारको टिम नै हुने गर्दछ । जसले उनीहरूले बोलेका कुरा या गरेका वार्तालाई हुबहु टिपोट गरी आवश्यक कुरा मिडियामार्फत जनतालाई जानकारी दिनुका साथै त्यसको कार्यान्वयनका लागि प्रक्रियाको सुरुवात गरिन्छ । तर, हाम्रा प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीसँग भेटघाट गर्दा कसैलाई साथमा राख्न आवश्यक ठान्नुभएन । उहाँले एक्लै भेट्नुभयो र जलस्रोतको धनी देशका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीले नेपाललाई थप बिजुली दिने कुरा गर्नुभयो भनेर सगौरव जनतालाई सुनाउनुभयो । (नेपालमा बिजुली उत्पादनको वातावरण मात्रै बनाइदिने हो भने त्यो बिजुली आफूले मात्रै बालेर सकिँदैन । नेपालले उत्पादन मात्रै गरोस् प्रयोग गरेर बाँकी रहेको सबै बिजुली हामी किन्छौँ भनेर भारतले बारम्बार भनिरहेकै छ । यो हामी नेपालीका लागि अर्कै दुखद् प्रसङ्ग हो ।) भारतीय प्रधानमन्त्रीलाई आखिर उहाँले किन एक्लै भेट्न चाहनु भो ? के थियो त्यस्तो कुरा जसको जानकारी नेपाली जनताले पाउन हुँदैनथ्यो ? यो प्रश्नले अहिले सर्वसाधारणको मात्र नभएर बौद्धिक वर्गको मस्तिष्कमा पनि त्यत्तिकै ठाउँ पाएको छ । सचिवहरूसहितको आफ्नो पूरै संरचनाकाबीच रहनुभएका भारतीय प्रधानमन्त्रीकाबीच बाबुराम भट्टराई एक्लै जानुलाई धेरैले स्वाभाविक मानेका थिएनन् । तर, यसैबीच भारतीय राजदूतावास काठमाडौंले एक विज्ञप्ति जारी गरी नेपालका प्रधानमन्त्री बाबुराम भट्टराई मात्र नभएर भारतका प्रधानमन्त्री मनमोहन सिंह पनि एक्लै भएको उल्लेख गरेको छ । यदि दूतावासले भनेझैं दुवैजनाले एक्ला–एक्लै भेटेका हुन् भने यो ठूलो मुद्दा होइन । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बलजफ्ती मुद्दा बनाएका हुन् भनेर कुरा बुझ्नुपर्छ । आत्मसम्मानको इतिहास बोकेका नेपालीलाई अहिले आफ्ना प्रधानमन्त्रीले कसैले देख्लान् कि झैं गरेर लुसुक्क एक्लै भारतका प्रधानमन्त्रीलाई भेटेको भन्ने चर्चा मात्रले पनि ठूलो चोट पुर्‍याएको छ । उहाँको व्यक्तिगत सम्बन्ध कोसँग के छ भन्ने कुराले नेपाली जनतालाई कुनै अर्थ राख्दैन, यो देशको प्रधानमन्त्री हुन्जेल आफ्नो प्रधानमन्त्रीले के गर्‍यो त्यो महत्वपूर्ण कुरा हो ।
केही समयअघि जवाहरलाल नेहरू युनिभर्सिटीका एक प्राध्यापकले कुराकानीका क्रममा भनेकी थिइन्– नेपालमा राजसंस्था हटेपछि बाहिरी चलखेल बढी भयो भन्छौ तिमीहरू, पहिला र अहिलेमा त्यस्तो फरक के छ र ? जवाफमा भनेकी थिएँ, आफ्नै आत्मसम्मानमा आँच आउने कुरा गर्दा आत्मग्लानि त हुन्छ नै तर के गर्नु, हाम्रो वास्तविकता दिनदिनै दयनीय बन्दै गएको छ । हामीलाई भन्दा तिमीहरूलाई बढी थाहा छ कि यहाँ के के परिवर्तन भयो, के भइरहेको छ र किन भइरहेको छ । ‘कतिपय नेताहरू हामीसँग भेट्दा नेपालको भन्दा बढी आफ्नै हितमा बोल्न चाहन्छन्, भारतमा को–कोसँग आफ्नो पहुँच छ भनेर सुनाउन र को–कोसँग कसरी पहुँच बढाउन सकिन्छ भनेर जान्न चाहन्छन्, दु:ख लाग्छ,’ उनले भनेकी थिइन् । यस्तै कुरा एकपटक काठमाडांैमा रहेका बेला एक कूटनीतिज्ञले पनि भनेका थिए, ‘नेपालीहरू नेपाली भएरै कुरा गरून्, आफ्नो देशको बारेमा ‘स्ट्यान्ड’ राखून् भन्ने हामी चाहन्छौँ, त्यस्तै मान्छेलाई मन पराउँछौँ पनि तर यहाँ त सबैजसो मानिस नेपालीभन्दा अरू नै केही हुन चाहन्छन्, आफ्नो देशको बारेमा बोल्दा हामीले ‘माइन्ड’ गर्ने हौँ कि झैं गरी कुरा गर्छन् । हामीलाई नरमाइलो लाग्छ ।’ यी प्राध्यापक र कूटनीतिज्ञ दुवैले अनौपचारिक भेटघाटमा गरेका कुराकानीभित्र ‘तिमीहरू के भएका ?’ भन्ने प्रश्न लुकिरहेको थियो । एउटा फोनका भरमा हाम्रा नेताहरू दौडिएर पुगिहाल्छन्, भेटघाटका लागि न त कुनै एजेन्डा चाहियोस् न निश्चित समयसीमा । कुनै आत्मसम्मानबिनाका नेतृत्वले हाँकेका मुलुकका जनता हामी, एउटा गहिरो आत्मग्लानिका बीच बाँच्ने सचेत जनताको सङ्ख्या यहाँ धेरै छ, तर पनि केही गर्न सकिएको छैन ।
नेपालको राजसंस्था फाल्नुपर्ने आवश्यकता कसलाई किन पर्‍यो ? भन्ने कुरा हिजोआज एक–एक गरेर देखिइरहेको छ । कतिलाई त नेपालको राजसंस्था नेपाली स्वयम्ले नै फालेका हुन् भन्ने भ्रम पनि छ । नेपालीहरूकै जुलुस, हड्ताल र आन्दोलनले फालिएको पनि हो । आन्दोलनका बेला कुनै विदेशीहरू जुलुसमा थिएनन् । तर, त्यो आन्दोलनको ‘मास्टर माइन्ड’ कसको थियो र कहाँबाट निर्देशित थियो भनेर सर्वसाधारणले बुझ्दासम्म देश नै रहने हो कि होइन भन्ने अवस्थामा पुगिएलाजस्तो छ । नेताहरू कसैका गोटी बने, ती गोटीले कार्यकर्तालाई गोटी बनाएर सडकमा उतारे, परिणाम आज भोगिराखिएको छ । यहाँको नागरिक समाज र बुद्धिजीवीहरूसमेतमा त्यो दूरगामी भिजन देखिएन ।
इतिहास भन्ने कुरा पनि गजबकै हुने रहेछ । हिजो नेपाली काङ्ग्रेसलाई भारतपरस्त भनिन्थ्यो, माओवादीको सरकार बनेपछि भारतपरस्त शब्द नेपाली काङ्ग्रेसका हकमा अब इतिहास बनिसकेको छ । टनकपुर सन्धि काण्डमा राजधानीका धेरै रेलिङ भाँचिए तर तीभन्दा कैयौँ गुणा बढी कामहरू अहिले धमाधम हुँदा सबै चुपचाप छन् । भारतविरोधी नारा लगाई युवा जमातलाई भड्काएर सरकारमा पुगेकाहरूको यस्तो चालाले देशलाई कहाँसम्म पुर्‍याउला गम्भीर प्रश्न उठेको छ ।