वर्तमान सरकार या सत्ताको नेतृत्व गरिरहेको दल एनेकपा माओवादी आज सम्पूर्ण सत्ता कब्जा अभियानमा छ र निकै हदसम्म त्यसमा उसले सफलता पनि पाएको अनुभूति गरिन्छ । सडकदेखि जङ्गल हुँदै आज सत्ताको शिखरसम्म आइपुग्न उसले के–के हथकण्डा अपनायो र सत्तामा रहिरहन अझै के–कस्ता रणनीति अवलम्बन गर्दै छ भन्ने पनि सचेत जनताको तप्काले जाने–बुझेकै छन् । माओवादीले सत्ताप्राप्तिका लागि जनयुद्धको नाममा सशस्त्र द्वन्द्व सिर्जना मात्र गरेन, हिंसात्मक गतिविधि मच्चाएर जनतालाई त्राहिमाम पार्ने मात्र नभई उसले हजारौँ निर्दोष जनताको इहलीला नै समाप्त पारेको हो । हजारौँ नागरिकको जायजेथा हडपेर बिल्लीबाठ पार्नेदेखि थातथलोबाटै विस्थापित तुल्याउने कर्म पनि उसबाट भयो । राजनीतिक आस्थाका आधारमा उसले सुराकी र अन्य यावत् लाञ्छना लगाउँदै शिक्षक, पत्रकार, कर्मचारीदेखि सर्वसाधारणलाई समेत निर्दयतापूर्वक ‘सफाया’ गर्न माओवादी पछि परेन । देशका लागि बलिदानी भन्दै हजारौँ किशोर, बालबालिका र युवालाई अकालमै प्राण फाल्न उक्साएको पनि हो । यस्ता कर्मका अनेक आयाम छन् जसको यहाँ बेलिविस्तार सम्भव छैन ।
उपरोक्त क्रियाकलापका अलावा सत्ता हत्याउने सिलसिलामा माओवादीले गुलिया आश्वासन, नारा र भाषण पनि प्रसस्तै दिएको थियो । कथित सिद्धान्तत: माओवादीको लडाइँ नै शोषित, गरिब र सर्वहारा वर्गका लागि थियो । अझै पनि गरिब, निमुखा, असहायका लागि लड्ने कुरा गरिरहेकै छ ऊ । र, सबैभन्दा मुख्य कुरा त जनताको हकहित र अधिकारको पक्षमा अरूले भन्दा चर्को कुरा गर्ने एकीकृत नेकपा माओवादी यतिबेला कसैको अङ्कुश नलाग्ने गरी शासन–सत्तामा विराजमान छ । त्यसमा पनि जनताको दु:ख देख्दा गहभरी आँसु पगारेर देखाउन सक्ने ‘कमलो हृदयका धनी’ डा. बाबुराम भट्टराई नै माओवादीको प्रतिनिधित्व गर्दै प्रधानमन्त्रीको कुर्सीमा छन् । एक वर्षअघि प्रधानमन्त्रीको कुर्सीमा बसेयता प्रधानमन्त्री भट्टराईले कैयनपटक आफ्ना भाषणमार्फत जनतालाई राहत र सहुलियत दिने कुरा रटेकोरट्यै छन् । तर, विडम्बना उ बरु मर्छु तर जनताका लागि सबैभन्दा बढी गर्छु भन्ने यिनै बाबुराम भट्टराईकै पालामा सबैभन्दा बढी पटक इन्धनको मूल्य बढाउने काम भयो । आमनेपालीले सबैभन्दा बढी आशा र विश्वास गरेका व्यक्तिकै प्रधानमन्त्रीत्वका बेला सबैभन्दा बढी आहत हुन विवश हुनुपर्यो । हिजोसम्मका भुइँजनता र आफूलाई अर्थविज्ञकासमेत ठान्ने बाबुराम भट्टराईलाई जनताको भान्सासँग अत्यन्त गहन रूपमा साइनो जोडिएको मट्टीतेल, ग्यासजस्ता वस्तुमा चर्को ढङ्गमा तारन्तार मूल्य बढ्दा के–कति र कस्ता समस्याको सामना गर्नुपर्ने हुन्छ भन्ने ज्ञान पक्कै पनि हुनुपर्ने हो । डिजेल, पेट्रोललगायतका इन्धनमा इतिहासमै कीर्तिमान कायम हुनेगरी भाउ थपिदिँदा त्यसले सामान ढुवानी, सवारीसाधनको भाडा आदिमा कति बोझ थप्ने हो र यसबाट माओवादीकै शब्दमा ‘शोषित, पीडित’ जनताको दैनन्दिनी थप कति कष्टकर बन्न पुग्ने हो– के सर्वहारा जनताका नेता प्रधानमन्त्री बाबुराम भट्टराईलाई हेक्का होला ? दूध, तरकारी, चामल, तेललगायतका खाद्यवस्तुमा चर्को मूल्यवृद्धि खेप्दै आएका उपभोक्ताबारे रत्तिभर ख्याल नराखी एकातिर चाडबाडकै मुख पारेर अन्धाधुन्ध रूपमा मूल्यवृद्धि गरेर जनताको ढाड भाँच्ने अर्कोतिर गरिब परिचयपत्र, ग्यास–मट्टीतेलमा छुट र राहत रकमका कुरा गरेर तिनै घाइते नेपालीलाई मल्हमपट्टीको अभिनय पनि गर्न खोज्ने । व्यापारी, कालाबजारी मोटाउन् भनेर मनपरी भाउ तोक्न, कार्टेलिङ गरेर अभाव सिर्जना गराउन छुट दिइरहने अनि फेरि अनुगमन र मूल्य नियन्त्रणको डङ्का पनि पिटाउन खोज्ने । यस्तो नौटङ्की कहिलेसम्म ? गरिबको जीवनस्तर उकास्ने प्रण गरेका प्रधानमन्त्रीले जवाफ दिऊन् कि अब गरिबको जीवन उकासिन्छ कि झन्–झन् ओरालो लाग्छ ? हिजो माओवादीकै एक ‘मुख्य कमान्डर’का रूपमा रगतको खोलो बगाएर प्राप्त भएको प्रधानमन्त्रीको कुर्सी या सिङ्गो शासन–सत्ता यसरी महङ्गी, अशान्ति, असुरक्षा, अराजकता र अन्योल थोपर्नकै लागि हो त ? आज आमनेपाली प्रधानमन्त्री बाबुराम भट्टराईसँग यसको जवाफ खोजिरहेका छन् ।
प्रतिक्रिया