आईटीएफ टेनिसमा मायांका राणाको दोहोरो जित

आईटीएफ टेनिसमा मायांका राणाको दोहोरो जित


नेपालकी मायांका राणाले नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट– २ मा फागुन १ गते मंगलबार दोहोरो जित हात पारेकि छन् । मायांकाले महिला सिंगल्स र डबल्समा जित हात पारेकि हुन् ।

सिंगल्समा मायांकाले भारतकी खुशी शर्मालाई ६–३ र ६–१ को सोझो सेटमा पराजित गरेकि हुन् । डबल्समा मायांकाले जुम्ल्याहा बहिनी माहिकासंग मिलेर भारतका श्रीनिधि श्रीधर र राइना जफरको जोडीलाई ६–३ र ६–१ को सीधा सेटमा पराजित गरेका थिए । जितसंगै मायांका सिंगल्समा प्रिक्वाटरफाइनल तथा डबल्समा क्वाटरफाइनल प्रवेश गरेकि छिन् ।

महिला डबल्समा नेपालका अभिलाषा विष्ट र इरा रावतको जोडी पनि विजयी भए । अभिलाषा र इराको जोडीले जापनकी मिजुमुरा र नेपालीकी प्रकृति श्रेष्ठको जोडीलाई ६–० र ६–२ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरे ।

पुरुष डबल्समा नेपालका प्रणव खनाल र कोरियाका जि हो लीको जोडीले अमेरिका सान्मे गाँन्धी र जापानका केइजु मियाकेको जोडीलाई ३–६, ६–२ (१०–१) को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
महिला सिंगल्समा भारतकी रुदया शाहले मलेसियाकी चोङ झि जिङलाई ६–३ र ६–२, जापानकी रिको कामीकुराले भारतकी पन्यातोया मोहपात्रलाई ६–० र ६–० तथा फिलिपिन्सकी मा कार्मे्न्सिटा इसाबेला कार्लोसले भारतकी प्रियान्शी शर्मालाई ६–२ र ६–३ को सोझो सेटमा पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष सिंगल्समा भारतका कृषण हुडाले नेपालका निन्वाम राईलाई ६–० र ६–०, कोरियाका जिहो लिले जापानका ताइयो हिरानोलाई ३–६, ६–१ र ६–२, ताइपेईंका चिया फन साउले भारतका इक्बाल मोहम्मद खानलाई ६–३ र ६–३ तथा हङकङका होन छुन लिले भारतका रोहन श्रीवास्तवलाई ६–३ र ६–३ को सेटमा पन्छ्याउदै अन्तिम १६ मा स्थान पक्का गरेका छन् ।

पुरुष डबल्समा नेपालका निशान श्रेष्ठ र युटो कातोगीको जोडी भारतीय जोडीसंग पछि परे । त्यसैगरी महिला डबल्समा नेपाली प्रेरणा कोइराला र भारतकी मोहपात्र, नेपालका जुम्ल्याहा दिदी–बहिनी एनी र क्याथ्रिन माथेमा तथा भारतकी खुशी शर्मा र नेपालकी सलोनी तामाङ पनि पराजित भएका थिए ।