बर्लिन खुला करातेमा नेपाली टोलीको सहभागिता

बर्लिन खुला करातेमा नेपाली टोलीको सहभागिता


बर्लिन खुला कराते च्याम्पियनसिपमा सहभागिता जनाउन चार सदस्यीय नेपाली टोली आज (फागुन २ गते) बुधबार जर्मनीको बर्लिन प्रस्थान गर्दैछ ।

फेब्रुअरी १६ र १७ तारिखमा संचालन हुने प्रतियोगिताको पुरुष एकल कातामा मन्डेकाजी श्रेष्ठ र ६७ केजीमा मुकुन्द महर्जनले प्रतिस्पर्धा गर्नेछन् । महिलाको ५० केजीमा अनु अधिकारी र ५५ केजीमा मल्लिका थापाले सहभागिता जनाउने छन् ।

टोलीलाई नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बिदाइ गरे । टोलीका लागि हवाइ टिकट र ट्रयाकसुट प्यारागन पब्लिक स्कुलले प्रायोजना गरेको छ । बिदाइ कार्यक्रममै प्यारागनका प्रबन्ध निर्देशक साकिर उद्दिनले टोलीलाई टिकट र ट्रयाकसुट हस्तान्तरण गरेका थिए ।

सोही अवसरमा टोलीलाई नेपाल भारोत्तोलन संघका उपाध्यक्ष राम श्रेष्ठले ब्याग, न्यातपोल क्लासिकका प्रोप्राइटर विष्णु श्रेष्ठले १५ हजार नगद र पाटनका महेन्द्र महर्जनले ट्रयाकसुट प्रदान गरेका थिए ।