उमेरले नछेकेको प्रेम—सरिता अर्याल

उमेरले नछेकेको प्रेम—सरिता अर्याल


कामबाट थाकेर आएकी थिएँ, तर पनि ज्याक्सन हाइटको पटेल हाउसमा नपसी धरै थिएन । किनकि घरका खाने सामान केही थिएन । म पटेल हाउसमा पसेर बहिनी रानुलाई पनि केही चाहिन्छ कि भनेर फोन गर्दै थिएँ, पछाडिबाट कसैले मेरो टाउकोमा हिर्कायो ट्वाक्क । को होला नाम लिएर बोलाएको भए भइहाल्ने थियो त । म मनमनै रिसाउँदै फर्किएँ । ओहो अगाडि त भर्जिनियामा सँगै काम गर्ने निदेशभाइ पो रहेछन् । मेरो रिसाउँदै अँध्यारो भएको अनुहार त मुसुक्क मुस्कुराउन पो पुग्यो । मैले सोध्नै नपाई उसका प्रश्नहरू ममाथि नै ओइरिन पुगे– किन फोन नं. बदलेको । किन कसैलाई आफ्नो ठेगाना पनि नदिएको ? कहाँ बस्नुहुन्छ ? कति खोज्यौँ हामीले । मैले हाँस्दै भने, ‘मेरो ब्लाक बेरी त पानीमा खस्यो नि अनि त फोन नै फेर्नुपरेको हो । मैले तिमीलाई चिन्ने यहाँ कसैलाई चिनेकै छैन भने म कसलाई मेरो ठेगाना दिनु ?’ म पनि कहाँ कम थिएँ त निदेशलाई जवाफ दिन ।
त्यो दिन निदेश मेरै डेरामा गयो । हामीले पुराना गफ गर्‍यौँ । निदेश पनि न्युयोर्क आएको धेरै दिन भइसकेको रहेछ । ऊ एक ब्याग पसलमा काम गर्दोरहेछ । सोचेअनुसार, पढेअनुसारका काम पाउनु नेपालीको लागि गाह्रै छ त्यहाँ, त्यसैले काम र मामबीचको सम्झौतामा काम सुरु हुन्छ अमेरिकामा । ऊ पनि ज्याक्सन हाइटमै बस्ने हुनाले खाना खाएर केही बेर कुरा गरेर आफ्नो डेरातर्फ लाग्यो । त्यसपछि हाम्रो भेट भइनै रहन्थ्यो । जापानिज खाना निदेशलाई असाध्यै मन पर्दोरहेछ । उसको तलब आएको दिन ऊ मलाई केही बोल्नै नदिई रेस्टुरेन्ट पुराउँदथ्यो । हप्तामा एकपल्ट त मैले ऊसित गएर जापानिज खाना खानुपर्दथ्यो भने ऊ नेपाली खाना खान मेरो छुट्टी भएको दिन मेरोमा आउँथ्यो । केही महिनापछि उसले काम फेरेको कुरा सुनायो । ऊ अब म्यानहटनको एउटा गहना पसलमा काम गर्न थालेको थियो । त्यसपछिका भेटहरूमा ऊ आफ्नो कामका कुराबाटै गफ सुरु गर्न थालेको थियो । उसको पसलमा ऊ र उसकी मालिक्नी मात्र थिए । उसकी मालिक्नी बूढी छ रे, त्यसैले कामका धेरै जिम्मेवारी उसमाथि पर्ने गरेको कुरा पनि ऊ गरिरहन्थ्यो । बिस्तारै ऊहाम्रो समूहका रानु, सुजित, सङ्ग्राम, पारू सबैको सानो भाइ पनि बन्दै गएको थियो । एक दिन जापानिज रेस्टुरेन्टमा उसले आफ्नी मालिक्नीलाई पनि लिएर आएको थियो । झलक्क हेर्दा साताँै दशकमा पो पुग्न लागेकी हुन् कि जस्ती देखिने ती महिलाको अनुहारमा भने एकप्रकारको रौनक थियो । यो उमेरमा त यस्तो तेजिलो अनुहार छ भने उमेरमा कस्ती थिइन् होला ? ती महिलाको नाम जुलिया रहेछ । डिनर सक्दा–नसक्दै मैले थाहा पाइसकेकी थिएँ, जुलिया रूप कि मात्र धनी होइनन् कि विचारकी पनि धनी रहिछन् । निदेशले त्यो रात डिनरबाट फर्किंदा मसित भनेको थियो, ‘दिदी मैले काम पनि रामै्र पाएँ अनि मालिक्नी पनि राम्रै छ नि होइन अब मलाई अर्को काम खोज्नुपर्दैन होला ।’ मैले निदेशलाई जिस्क्याउँदै भने– काम त ठीक हो तर मालिक्नी राम्री हुनु–नहुनुले तिमीलाई के फरक पार्छ र ? ऊ त तिम्री हजुरआमाजस्ती छ, उमेर मिल्ने भएको भए त ल बुहारी बनाउन न त भन्थेँ होला म पनि । मेरो कुरा सुनेर निदेश पनि बेस्कन हाँसेको थियो ।
समय बित्दै गयो, जुलिया पनि हाम्रोमा आइरहन्थी । कहिले रानुकोमा भजन सुन्न त कहिले नेपाली खाना खान । एकपल्ट निदेशले फोनमा भन्यो– दिदी जुलिया बिरामी भएकी छ, हजुर र रानु दिदीलाई सम्झिरहन्छे । निदेशसित समय मिलाएर रानु र म दौडियौँ जुलियालाई हेर्न । जुलियाको घर म्यानहटनमै रहेछ । निदेशले हामीलाई मार्गदर्शन गराएको थियो । जुलिया बिस्तरा नै परिछन् । बिचरा बूढीका छोराछोरी त थिए तर कता हो कता ? निदेश केही दिन जुलियाकै घरमा बसेर उनको स्याहार गरेछ । बिरामी परेको बेलामा सेवा गर्न आफ्नै घरमा बस्दा पनि जुलियालाई निदेश बाहिरको मान्छे जस्तो लागेन रे । त्यसैले उनले निदेशलाई आफ्नै घरको एउटा कोठा खाली गरेर बस्न दिइछन् । अमेरिकामा घर भाडा नतिरी बस्न पाएपछि निदेशले पनि नाइँ भन्ने त कुरै भएन । राम्रो काम, राम्री मालिक्नी, राम्रो घर निदेशको मुखबाट अरू कुरा निस्कन नै गाह्रो भइसकेको थियो ।
निदेशले ग्रिनकार्डका लागि निवेदन दिएको रहेछ । ऊ न्युयोर्क सर्नुको कारण पनि त्यही रहेछ । तर, अमेरिका सरकारले उसको निवेदन नामञ्जुर गरिदियो । अमेरिकनहरू कानुनलाई नकार्न चाहँदैनन्, त्यसैले अवैधानिक व्यक्तिलाई कसरी काममा राख्ने भन्ने पीर जुलियालाई लाग्न थाल्यो । अब कुरो आयो अमेरिकामा वैधानिक भएर कसरी बस्न सकिन्छ त ? जुलियाले निदेशलाई उनको पारिवारिक वकिलकोमा लिएर गइन् । अमेरिकन वकिलले कुनै उपाय छैन नेपाल फर्काइदेऊ भनेछ । निदेशले आएर हामी सबैसित सल्लाह गर्‍यो । हामीले नेपाली वकिलसित पनि सल्लाह मागौँ न भनेर निर्णय गर्‍यौँ । मेरो बिदाको दिन निदेश र म नेपाली वकिलकोमा गयौँ । वकिलको अगाडि सबै अवगत गरायौँ । वकिलले सबै कुरा सुनिसकेपछि भन्यो, ‘एउटै उपाय छ, तिमीहरू पेपर म्यारिज गर । बस्छौ पनि एउटै घरमा काम पनि एउटै । निरीक्षणमा आए पनि तिमीहरूलाई एउटै घरमा भेट्छ समस्या छैन ।’ अब कुरो आयो डबलभन्दा बढी उमेरकी बूढी आइमाईलाई नक्कली विवाहका लागि राजी कसरी गराउने ? मलाई त निदेशलाई जिस्क्याउने विषय मिल्यो । राम्री बूढीसित घरजम बस्ने भो मेरो भाइको । नेपालमा पनि लिएर जान्छौ कि सासूससुरालाई ढोगाउन ? के–के हो के–के मैले बाटोभरि निदेशलाई जिस्क्याइरहेकी थिएँ । घरमा पनि रानु, सङ्ग्राम सबैले निदेशको विषयलाई मजाक नै बनाएका थिए । बिचरा निदेशको हालत हेर्न लायक थियो । निष्कर्ष निस्कियो– बूढीलाई भजन छ भनेर बोलाउने । भजन सकेपछि बिस्तारै सब मिलेर कुरा राख्ने । बूढी पनि आइन् समयमा । भजन पनि सकियो । अब बिरालोको घाँटीमा घन्टी कसले बाँध्ने ? सबै बूढीको उमेरले गर्दा हिचकिचाइरहेका थिए । बिस्तारै मैले नै सुरु गरेँ अनि सबै खनियौँ । तर, बूढी त रिसाउनुको साटो मरिमरि हास्न पो थालिन् । के हो निदेश हजुरआमासित विवाह गर्ने हो ? उल्टै जुलियाले निदेशलाई पो सोधिन् र हामीतिर हेर्दै भनिन्– तिमीहरूका लागि र निदेश जसले मलाई यत्रो सहयोग गरेको छ जुन मैले आफ्नो सन्तानबाट पनि पाएकी थिइनँ, त्यो आत्मीयता मैले निदेशबाट पाएकी छु र मेरो एक झुटले निदेश यहीँ मसँगै नै हुन्छ भने म नाइँ भन्दिनँ । कहिले जाने त वकिलकोमा निदेशतिर फर्केर जुलियाले हाँस्दै सोधिन् । निदेश लाजले भुतुक्कै भयो । कोर्टमा रानु, सङ्ग्राम र म साक्षी बसेर दुवैको विवाह पनि भयो । जुलिया हाम्रोअगाडि निदेशलाई जिस्क्याउँदै भन्थिन्– माई डियर हस्वेन्ड । विवाह गरेको दुई वर्षपछि निदेशले हरियो पत्ता पनि पायो । उसको बसाइ बूढीकै घर थियो । अढाई वर्षजति भएको हुँदो हो, जुलियाले हामी सबैलाई उनको घरमा डिनरमा बोलाइन् । सधैंजस्तै हामी पनि गयौँ । खाना खाएपछि गफ सुरु भयो । निदेश आज पनि हच्किएर कुरा गरिरहेको थियो । जुलियाले कुरा खोलिन्, ‘निदेश र मैले दुई वर्ष पहिले कानुनी रूपमा विवाह गरेका थियौँ । कानुनी रूपमा त हामी पतिपत्नी भइसकेका थियौँ । हाम्रो उमेरमा ३० वर्षको भन्दा पनि बढी फरक छ । तर पनि हामी यसबीचमा यति नजिक आएछौँ कि अब एक–अर्काबाट टाढा भएर हामी बस्नै नसक्ने अवस्थामा पुगेछौँ । त्यसैले हामीले धेरै सोचेर यो निर्णय लियौँ कि अब हामीलाई यहाँहरूको साक्षी होइन कि शुभकामना चाहियो ।’ कोठामा शून्यता छायो । होहल्ला भइरहेको कोठा त सियो खस्दा पनि आवाज पो आउने हो कि भन्नेजस्तो भयो । धेरै बेरपछि रानुले मौनता तोड्दै भनिन्– जिन्दगी तिमीहरूको हो, तिमीहरू यसैमा खुसी छौ भने हामी को हौँ र केही भन्ने ? कहिले आउने त अब शुभकामना दिन ? कि आजै दिने शुभकामना ?
अब निदेशको पनि बोली फुट्यो । उसले मतिर हेर्दै भन्यो– सरि दिदी गाली नगर्नु ल । धेरै पहिले मजाकमा हजुरले मलाई जिस्क्याउनुभएको थियो सायद त्यो बेला भगवान्ले हजुरको बोलीलाई तथास्तु भनेका थिए होलान्, त्यसैले त्यस्तै भयो । सुनेको थिएँ प्रेमले उमेर हेर्दैन भनेर, सत्य रहेछ । यी बूढीमा मैले के पाएँ होला त ? मलाई यिनको प्रेमले अन्धो बनायो दिदी ।