यो देशमा एकपल्ट ‘नयाँ नेपाल’ भन्ने शब्द निकै चर्चित थियो । मुलुकमा लोकतन्त्र आएपछि के–के नै होला भनेर नेपाली जनताले यो शब्दलाई निकै मन पनि पराएका थिए । तर, नयाँ नेपालको नाममा नयाँ नेताहरू आफैँ बन्नका लागि त्यो शब्दजाल बुनिएको रहेछ भन्ने कुराचाहिँ नेपाली जनताले बल्ल थाहा पाएका छन् । विश्वमै राम्रो मानिएको २०४७ सालको संविधानलाई लत्याएर नयाँ संविधान निर्माण गर्ने नाममा यो देशमा धेरै कुरा भए । तीमध्ये सबैभन्दा स्थापितचाहिँ कुशासन नै बन्यो । लोकतन्त्र र सुशासनका नाममा यहाँ कुशासनको सुरुवात मात्र भएन यसलाई स्थापित गर्न नेताहरू ज्यान दिएर लागे र अझै लागि नै रहेका छन् । अनेक आरोह–अवरोह पार गर्दै अगाडि बढेको यो सानो मुलुकले माओवादी युद्ध सुरु भएपछि धेरै नै कष्ट सहनुपर्यो । माओवादीका नाममा यो मुलुकमा के भएन ? लुटपाट, कुटपिट, विस्थापन, अपहरण, हत्या धेरै कुरा भए । दश वर्षको माओवादी युद्धकालमा देश र जनताले नसोचेको ठूलो मूल्य चुकाए तर अहिले जनताले के पाए ? अभाव, महँगी, कुशासन यस्तै–यस्तै कुरा जनताले पाए भने मुलुक राष्ट्रियता नै गुम्ला कि भनेर चिन्ता गर्नुपर्ने अवस्थामा पुग्यो । गरिबका नाममा राजनीति गरेका माओवादीका नेताहरू अहिले रातारात धनी बने, तर जनता जहाँको त्यहीँ छन् । विगतमा उपभोग गर्दै आएका कुरा पनि उपभोग गर्न नसक्ने अवस्थामा जनतालाई पुर्याइएको छ ।
नयाँ नेपालका नाममा राजाका सालिकहरू भत्काइए । अरू त अरू बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिकलाई समेत बाँकी राखिएन । जसले यो मुलुक बनायो उसैको सालिक भत्काएर नयाँ नेपाल बनाउनेले ठूलो बहादुरीझैं गरेका थिए । माओवादी युद्धकालमा कति मठ–मन्दिरसमेत भत्काइए । हिन्दूधर्ममाथि सीधै खेलवाड गरियो । अचम्म त के भने त्यतिबेला जति भत्काइयो ती सबै मन्दिरहरू मात्रै थिए, मस्जिद या चर्चमा कुनै प्रकारको हमला गरिएन । त्यसबाट पनि हिन्दूधर्ममाथि माओवादीले सुरुदेखि नै रणनीतिक तरिकाले प्रहार गरेका थिए भन्न सकिन्छ । यो मुलुकलाई हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष बनाउनका लागि माओवादीको सुरुदेखिको चाललाई काङ्ग्रेस–एमालेले समेत साकार रूप दिए । त्यसको परिणाम अहिले नेपालभरि चर्चहरू फैलँदा छन् । एफएमलगायतका मिडियामा प्रभुका वचनहरू प्रसारित भइरहेका छन् र हामी नेपालीको मौलिक संस्कृति लोप हुने क्रममा छ ।
पुराना धरोहरहरूलाई देख्न नसक्ने तर राणा–शाहले बनाइदिएका तिनै पुराना भवनहरूमा बसेर राज्य गर्नुपर्ने माओवादीले अरू त अरू सिंहदरबारभित्र रहेको ऐतिहासिक पुतली बगैँचालाई समेत छोडेनन् । जुद्धशमशेर युरोप भ्रमणमा जाँदा त्यहाँको बगैँचा देखेर प्रभावित भई यहाँ फर्किएर पुतली बगैँचाको निर्माण गर्न लगाएका थिए । तर, अहिले यो ऐतिहासिक बगँैचालाई मासेर योजना आयोगको भवन बनाउने तयारी भइरहेको छ । ऐतिहासिक संरचना जति सबै भत्काउने योजना बुनेरै आएका माओवादी नेताहरूका लागि यो बगैँचा आँखी हुनु स्वाभाविकै हो । तर, नेपाली जनताका लागि यस्ता कुराले निकै महत्व राख्ने हुँदा कुनै हालतमा यो कार्य गर्न दिनुहुँदैन । प्रधानमन्त्री बाबुराम भट्टराई, अध्यक्ष प्रचण्डलगायतका माओवादी नेताहरूले बुझ्नुपर्छ कि राष्ट्र लुट्न जति सजिलो छ, यस्ता ऐतिहासिक संरचनाहरू ध्वस्त पारेपछि पुनर्निर्माण गनु त्यत्तिकै गाह्रो छ । त्यसैले नयाँ नेपाल भन्ने शब्दलाई नै बद्नाम गर्न सफल नेताहरूलाई एउटा अनुरोध छ कि यसप्रकारका संरचना जति बाँकी छन् कृपया हाम्रा सन्ततीहरूका लागि बाँकी राखिदिनुस्, उनीहरूलाई आफ्नो मुलुकको इतिहास बुझ्नका लागि केही कुरा बाँकी राखिदिनुस् ।
नयाँ नेपालका लागि पुराना संरचना भत्काएर मात्र हुँदैन, नयाँ सोच, जोस र मुलुक बनाउने नयाँ रणनीति चाहिन्छ । पञ्चायतकाललाई कालरात्रि भन्दै जतिसुकै गाली गरे पनि त्यतिबेला केही कुराहरू अवश्य राम्रा थिए । राजनीति र नेताहरूप्रति जनताको यति धेरै घृणा पनि त्यतिबेला थिएन । बोलेको कुरा पुर्याउनुपर्छ भन्ने धारणा मानिसमा थियो । अहिलेका मन्त्रीको भन्दा कैयन गुणा बढी इज्जत एउटा प्रधानपञ्चको थियो । अहिले राजनीति गर्छु भन्नै लाजमर्दो अवस्थामा राजनीतिलाई पुर्याउने श्रेय पनि यिनै नेताहरूलाई जान्छ । माओवादी सरकारमा आएपछि के–के नै होला भनेर राहतको आशा गरी बसेका नेपाली जनता अब भ्रमबाट मुक्त भइसकेका छन् । यो भ्रमबाट मुक्तिसँगै उनीहरू राजनीतिबाट दिक्क पनि भइसकेका छन् । यही तरिकाले नेपालको राजनीति अगाडि बढ्ने हो भने केही वर्षपछि राजनीति भन्ने कुरा राम्रा मानिसले गर्न त होइन सुन्न पनि चाहँदैन । त्यसैले मुलक चलाउनका लागि यसप्रकारको गाईजात्रे राजनीति नभएर स्वच्छ र निश्वार्थ राजनीति गर्नेहरूको जमातले हस्तक्षेप गर्नु जरुरी छ । मुलुक चलाउनका लागि एउटा संविधानसमेत दिन नसक्नेहरूको नेतृत्व अब जनतालाई चाहिएको छैन । त्यसैले नयाँ होइन पुरानो नेपाललाई जस्ताको तस्तै जोगाउँदै नयाँ–नयाँ अवधारणाबाट देशलाई अगाडि बढाउने सङ्कल्प बोकेकाले अबको नेतृत्व लिनुपर्छ ।
(लेखिका शाह राष्ट्रिय जनशक्ति पार्टी महिला सङ्गठनकी अध्यक्ष हुन्)
प्रतिक्रिया