शनिबार बिहान काठमाडौंको लगनमा २ घरमा आगलागी, ६५ बर्षीय एक वृद्ध हराए

शनिबार बिहान काठमाडौंको लगनमा २ घरमा आगलागी, ६५ बर्षीय एक वृद्ध हराए


शनिबार बिहान साढे ३ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १२ लगनमा आगलागीबाट २ वटा घर जलेर नष्ट भएका छन् ।

लगनचोकस्थित अमृतलाल रञ्जित र अमृत नारायण महर्जनको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट दुबै घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । उता, आगलागीका कारण ६५ वर्षीय जीवनकाजी श्रेष्ठको अवस्था भने अज्ञात छ ।

श्रेष्ठसँगै उनको परिवार अमृतलाल रञ्जितको पूरै घर भाडामा लिएर बस्दै आएका थिए । प्रहरीका अनुसार उनका छोरा प्रविण आगोमा जलेर सामान्य घाइते भएका छन् ।

आगो निभाउन काठमाडौं, ललितपुर र भक्तपुरका पाँचवटा दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ । आगो निभाउनका लागि दमकलको टोलीसँगै प्रहरी र स्थानीयबासी तैनाथ भएका छन् ।

प्रहरीले आगलागीको कारण नखुलेको जनाएको छ । तर, घरभित्र बालेको हिटरबाट आगो सल्किएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।