सन्दर्भ बीपीजयन्तीको खोजी मिलनबिन्दुको

सन्दर्भ बीपीजयन्तीको खोजी मिलनबिन्दुको


—इन्द्रबहादुर बराल
हालसम्म नेपाली राजनीतिमा स्व. बीपी कोइरालालाई मात्र औपचारिकतामा सम्झने गरिएको छ न कि उहाँका विचारलाई व्यवहारमा उतार्ने काम भएका छन् । तर, नेपाली राजनीति अद्यावधि बीपीकै विचारको पेरिफेरीमा घुमिराखेको छ । यति हुँदाहुँदै पनि नेपाली कांग्रेस पार्टीका नेता तथा कार्यकर्ताले विचार र व्यवहारको तादत्म्यता मिलाउन नसक्दा वा नचाहँदा आज पार्टीले दुर्गति व्यहोर्नु परिरहेको छ । वास्तवमै बीपीका विचारहरू सामसामयिक राजनीतिमा टड्कारो रूपमा खड्किएको हो । बीपीलाई खालि स्मृति दिवस र जन्मदिनमा मात्र सम्झना गरेर दायित्व पूरा गर्ने परम्परा औपचारिकतामा पूरा गर्ने काम अब समाप्त गरी रचनात्मक कार्यक्रमको प्रारम्भ आवश्यक छ, अन्यथा नेपाली राजनीतिबाट नेपाली कांग्रेस इतिहासको पानामा मात्र भेटिन सक्छ । तसर्थ अब पार्टीलाई गति दिने हो भने नेताहरू स–साना झुन्ड र गुटलाई पन्छाएर तल्लो तहसम्म सीधै पुग्ने रणनीति अपनाउनुपर्छ । केन्द्र र गाउँ तहबीचको सम्बन्धमा दूरी ल्याएर राजनीतिक दलाली गर्नेहरूलाई चिन्न जरुरी छ । स–साना झुन्ड बनाएर नेताहरूलाई पट्याउन खप्पीसहरू नेकाभित्र निकै प्रभावशाली हुन खोजेजस्तो हुनु अत्यन्त घातक प्रवृत्ति हो । जति सक्यो छिटोभन्दा छिटो त्यस्ता झुन्डहरूको पहिचान गरी समयमा नै तसर्क हुनु नै पार्टीको हित हुनेछ ।
अहिलेको राजनीतिक परिदृश्यको सही अध्ययन र विश्लेषण गर्ने हो भने राजनीतिक दलाली बढी नै हावी भएको हुनसक्छ । कम–बेसी सबै राजनीतिक पार्टीमा पनि त्यही राजनीतिक दलाली हावी भएको छ भन्नमा हिचकिचाउन पर्दैन । यहाँ भन्न खोजिएको के हो भने बीपीले भन्ने गरेको प्रजातन्त्रको पुनस्र्थापनापछि केही टाठाबाठा हुनेखाने र सुकिलामुकिलाहरू हावी हुनेछन् र वास्तविक योद्धा र इमानदार कार्यकर्ता पाखा लाग्नेछन् भन्ने भनाइ अहिलेका नेताहरूलाई स्मरण गराउन मात्र खोजिएको हो । कुनै दुराग्रह वा पूर्वाग्रह राखेर भनिएको नभई यथार्थता त्यही हो भन्ने दृढ विश्वासका साथ व्यक्त गरिएको हो । आफ्ना वरिपरि र अघिपछि हरेक साँझ–बिहान वा अन्य समयमा एउटै अनुहार देखिनुले प्रमाणित गर्दैन र ? तसर्थ पार्टी नेतृत्व प्रभावमा राखेर आफूलाई पार्टी र समाजमा स्थापित गरी व्यक्तिगत स्वार्थ र अवसरका लागि अघिपछि लाग्नेलाई दूधको तरमा लिप्त झिँगालाई जस्तै झिकेर फाल्न सक्नुपर्छ । त्यस्तो क्षमता नेताहरूमा हुनुपर्छ ।
बीपी दिवस ०६९ को अवसरमा सबै पार्टी नेतामा सत्बुद्धि आओस् भन्ने कामना गर्नु सान्दर्भिक नै होला । बीपीले भन्नुभएजस्तै योजना आयोगमा गरिब किसान जसले फाटेको टोपी लगाएर हलो जोत्दै गरेको फोटो टाँस्न लगाउने महान् जननेताका उक्त भनाइमा कति मार्मिक र मानवीय संवेदना लुकेको होला । त्यस्ता नेताले संस्थापन गरेको पार्टीको वर्तमानसँग दाँजेर हेरौँ त त्यसबाट के शिक्षा लिन सकिन्छ ? नेपाली कांग्रेस पार्टीलाई लोकतन्त्रका आधारभूत सिद्धान्तहरूमा अङ्कुश नलाग्ने गरी समतामूलक समाज निर्माणका लागि लोकतान्त्रिक (प्रजातान्त्रिक) समाजवादको बाटोमा पार्टीलाई अग्रसर गराउन सफल बीपी कोइरालाको विचार अहिले पनि त्यत्तिकै सान्दर्भिक छ । उहाँले देखाएको लोकतान्त्रिक समाजवादी विचार वर्तमानको राजनीतिक एवम् संवैधानिक गतिरोधको अचुक निकास हुनुपर्छ । उग्रवामपन्थी र उग्रदक्षिणपन्थीलाई एउटै मिलनबिन्दु ल्याउने एक मात्र आर्थिक एवम् राजनीतिक निकास दिने मध्यमार्ग भनेकै लोकतान्त्रिक समाजवाद हो । लोकतान्त्रिक राजनीतिक मैदानमा सामाजिक र आर्थिक न्याय दिन सकिने सबै बाटाहरू खुला रहन्छन् ।
२१औँ शताब्दी भनेको राजनीतिक एवम् आर्थिक सबलीकरणको युग हो । जहाँ आर्थिक समानताका नाममा लोकतान्त्रिक प्रणालीका आधारभूत अधिकारहरूमा अङ्कुश लगाउन पाइँदैन भने राजनीतिक अधिकारका नाममा सामाजिक–आर्थिक न्यायका मूलभूत अधिकारमाथि बन्देज लगाउन पाइँदैन । लोकतान्त्रिक समाजवाद भनेकै आर्थिक–सामाजिक न्याय र मानवअधिकारको आधारभूत मूल्य र मान्यताको निर्वाध उपभोग हो । यही बिन्दु नै सबैका लागि मान्य हुनुपर्छ र त्यसको परिपालन इमानदारीपूर्वक हुनु अहिलेको आवश्यकता हो जुन अत्यन्त सान्दर्भिक पनि हुनसक्छ । समग्र मानवजातिकै लागि यो एउटा सर्वोत्तम राजनीतिक एवम् आर्थिक समस्याको समाधान बनाउनुपर्छ । आजपर्यन्त नेपालको राजनीतिक क्षितिजमा सम्भवत: यो नै एउटा असल र सुगम बाटो हो, गतिरोध अन्तका लागि । मानिसले बाँच्न पाउने नैसर्गिक अधिकार हो । बाँच्नका लागि खाना पाउनु, बस्नका लागि घर, लगाउनका निम्ति कपडा र शिक्षा, स्वास्थ्य तथा रोजगारी उसका नैसर्गिक अधिकार हुन् । जुन अधिकार परिपूर्तिका लागि लोकतान्त्रिक समाजवाद नै एक मात्र सर्वमान्य विकल्प हुन सक्नुपर्छ । यिनै अन्तरवस्तुमा केन्द्रित भएर बीपी कोइरालाले ०१२ सालमा नेपाली कांग्रेस पार्टीलाई लोकतन्त्रसहितको समाजवादी पार्टीमा रूपान्तरण गर्नुभएको थियो । अहिलेको अन्तरद्वन्द्व, असहमति, असझदारी र संस्कृतिहरू सहकार्यलाई रूपान्तरित गरी शान्ति, समझदारी, सहमति र सहकार्यको संस्कृतिलाई सामाजिक, आर्थिक न्याय दिने पद्धति नै लोकतान्त्रिक समाजवाद हो । यसको कार्यान्वयनमा आ–आफ्ना कार्यशैली र प्राथमिकता हुन सक्ला तर सैद्धान्तिक विमति भने पक्कै पनि नहुनेमा विश्वास गर्न सकिन्छ । त्यसैले सर्वकालिक रूपमा सहजै स्वीकार्न सकिने विचार प्रवाह गर्ने महान् जननेता स्व. बीपी कोइरालाप्रति आफ्नै पार्टी नेपाली कांग्रेसले न्याय गरेजस्तो लाग्दैन ।
बीपीको विचारमा प्रत्येक नेपालीको एउटा आफ्नै घर होस्, खानजोत गर्न जग्गाजमिन होस्, आवश्यक पर्दा ओखतीमूलो गर्न सकून्, समायोचित शिक्षा पाउनुपर्नेजस्ता न्यूनतम आवश्यकता परिपूर्तिका लागि लोकतान्त्रिक (प्रजातान्त्रिक) समाजवाद नै आवश्यक छ । यही महान् विचारले बीपी हाम्रो माझमा नभए पनि उहाँका विचार नेपालको राजनीतिमा यत्रतत्र छचल्किराखेका छन् र त्यही विचारलाई नै नेपाली–नेपालीबीचको मिलनबिन्दु बनाउनुपर्छ । बीपीको विचार सान्दर्भिकता भनेकै त्यही हो । यसमा कसैको हारजितको प्रश्नै आउँदैन । सबैको विचारको समान सम्मान रहन्छ ।