दाइजो प्रथाविरुद्ध सडक नाटक

दाइजो प्रथाविरुद्ध सडक नाटक


दाइजो प्रथाको विरुद्धमा सचेतना जगाउन नवलपरासी सीमावर्ती पाल्हीनन्दन-५ गेरमीमा नागरिक-प्रहरी सडक नाटक प्रदर्शन गरिएको छ । छोरीलाई दाइजो होइन शिक्षा दिनुपर्छ भन्ने सन्देशसहित महिला हिंसा न्युनीकरण गर्ने उद्देश्यले प्रहरी र नागरिकले संयुक्त रुपमा नाटक प्रर्दशन गरेका हुन् ।

नाटकमा स्थानीय नागरिक, मेलमिलापकर्ता तथा प्रहरीचौकीका प्रहरीको सहभागिता रहेको थियो । युके एडको सहयोगमा सर्च फर कमन ग्राउण्ड, हिकोडेफ र प्रहरी मेरो साथीसँगको सहकार्यमा सञ्चालित पहुँच परियोजना अन्तर्गत सो कार्यक्रम गरिएको हो ।

कार्यक्रममा दाइजोको नाममा महिलामाथि हुने हिंसा, असरको बारेमा जानकारी गराइएको थियो । वडा नं. ५ का वडा अध्यक्ष ओमप्रकाश गुप्ताको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्ताको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा अछामबाट अवलोकन भ्रमणमा आएको वाच नेपाल परियोजनाको टोलीसँग सुरक्षा र न्यायाको क्षेत्रमा भइरहेका गतिविधिबारे एकआपसमा अन्तर्रिक्रिया पनि गरिएको थियो ।

सो अवसरमा यस्ताखाले जनचेतनामुलक कार्यक्रमहरु सीमावर्ती क्षेत्रका अन्य गाउँपालिकामा गर्नुपर्ने माग पनि स्थानीय क्षेत्रमा उठ्न थालेको छ ।

– आरपी उपाध्याय