बीपीजयन्ती र काङ्ग्रेसको दशा

बीपीजयन्ती र काङ्ग्रेसको दशा


बीपी कोइरालाको जन्मजयन्ती यस वर्ष पनि मनाइयो । विगतका वर्षमा जस्तै नेपाली काङ्ग्रेसले नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास कोट्याउने र बीपीको गुण तथा जीवनीको चर्चा गरेर ९९औँ बीपीजयन्ती मनाउने औपचारिकता पूरा गर्‍यो । केन्द्रको तुलनामा मोफसल या मुलुकका गाउँगाउँ या कुना–कन्दरामा बीपीजयन्ती आत्मीयताका साथ मनाइएका समाचार सुनिए । सत्ता र भागवण्डाको राजनीतिमा दलहरू अल्झिएको परिवेशबीच आत्मीयताका साथ विधि पुर्‍याएर जन्मजयन्ती मनाउने या बीपीका सारगर्भित कर्म–कीर्तिहरू सम्झँदै त्यसलाई मुलुक र जनताका हितमा कसरी उपयोग गर्ने भन्ने सवालमा चिन्तन–मनन गर्ने फुर्सद नेपाली काङ्ग्रेस केन्द्रीय नेतृत्वलाई नहुनु त अस्वाभाविक कुरा पनि भएन ।
‘हरेक नेपालीको परिवारसँग बास बस्न एउटा घर, बारी, केही खेत, एक हल गोरु, केटाकेटीलाई दूध खुवाउन एउटा गाई होस्’ भन्ने बीपीको एउटा चर्चित भनाइ छ । बीपीको यो एक अभिव्यक्ति मात्र नभई आफूले स्थापना गर्न चाहेको आदर्श नेपाली समाजको सपना पनि थियो, जसका लागि उनले सिङ्गो जीवन अर्पेका हुन् । तर, बीपीको जीवनकै सारका रूपमा रहेको उक्त ‘अभिव्यक्ति’लाई बीपीका ‘मै हुँ’ भन्ने अनुयायीहरूले पनि भाषणको विषयभन्दा माथि उठाउन सकेनन् । यस्तै जन्मजयन्ती र स्मृति दिवसमा भाषणमार्फत दोहोर्‍याएर मात्र बीपीको समाजवादी चिन्तनले मूर्तता प्राप्त गर्न सक्दैन भन्ने ब्रह्मज्ञान काङ्ग्रेस नेतृत्व, यसका नेता–कार्यकर्ता र आमप्रजातन्त्रवादीमा नभएसम्म सालको एकपटक सम्झने कार्यक्रम ‘जन्मजयन्ती’ र ‘स्मृतिदिवस’ मनाउनुको तुक पनि रहन्न । यस विषयमा बेस्सरी मन्थन गर्नु जरुरी भइसकेको छ ।
वास्तवमा बीपी कोइरालालाई नेपाली राजनीतिमा सम्झनुपर्ने कारण्ँहरू अनेक छन् । ०७ सालको क्रान्तिको अगुवा, ०१५ सालको पहिलो निर्वाचनमा निर्वाचित प्रधानमन्त्री, २८ महिनाको छोटो कार्यकालमै सामन्तवादी संरचना भत्काएर नयाँ परिपाटी बसाल्न खोज्ने गर्विलो इतिहास बोकेका राजनीतिक हस्ती आदिका रूपमा त उनको सम्झना र चर्चा भइरहेकै छ र भई नै रहनेछ । साथसाथै उनको कठोर सङ्घर्Èले कठिनभन्दा कठिन परिस्थितिमा पनि आममानिसलाई सङ्घर्Èमा होमिन, कुनै पनि खालको बलिदान दिन हौस्याइरहने जुन पाटो छ, वास्तवमा बीपीलाई सदा श्रद्धापूर्वक सम्झनुको अभिप्राय यतैकतै लुकेको हुनुपर्छ । तर, के आजका हाङ्ग्रेसजनमा बीपीको यो गुणको कणबराबर अंश पनि कतै भेटिएला त ?
प्रजातन्त्र पुनस्र्थापनापछि बीपीप्रतिको आस्था र विश्वासकै कारण्ँले बहुमत नेपाली मतदाताले काङ्ग्रेसलाई ०४८ को निर्वाचनमा रोजेका थिए । तर, काङ्ग्रेसले मुलुक बनाउने र देश निर्माणमा योगदान दिन सक्ने आफू एक मात्र राजनीतिक दल भएको प्रमाणित गर्ने त्यो अमूल्य अवसर अत्यन्त दर्दनाक ढङ्गबाट गुमाइसकेको छ । काङ्ग्रेसले आफूलाई मात्र असफल सिद्ध नगरी मुलुकलाई नै असफलता, अशान्ति, अन्योल र अराजकताको भासमा पारिदियो भन्ने आक्षेप विशेषत: वामपन्थीइतर पक्षबाट जो लाग्दै आएको छ, यो सम्पूर्णतया आरोप होइन भनी स्वीकार नगरी धरै छैन । आज यसरी ‘राजनीतिक बद्नामी’ हासिल हुनुमा बीपीले मार्गनिर्देश गरेको बाटो छोडेर अन्धाधुन्ध बतासिन खोज्नु नै मुख्य एक कारकतत्व हो भन्नेमा काङ्ग्रेस नेतृत्वले जति नै विमति जनाउन खोजे पनि यथार्थ लुक्न सक्दैन ।
देश आज रसातलमा भासिएको अवस्थामा छ । राजनीतिक दलहरू स्वार्थी गुट–उपगुटमा बाँडिएका छन् भने तिनका राष्ट्रिय छविमाथि कहाली लाग्नेगरी ह्रास आइरहेको छ । नैतिकवान् राजनीतिको अवसान हुन पुगेको छ । अरू त अरू बीपीको विरासत बोकेको दाबी गर्ने दल नेपाली काङ्ग्रेस स्वयम् नै दिग्भ्रमित दशा व्यहोरिरहेको छ । यस्तो कहालीलाग्दो राष्ट्रिय तथा सामाजिक अवस्था त निश्चय पनि बीपीको सपनाको एक अंश पनि थिएन । गल्ती कहाँनेरबाट सुरु भयो र यसलाई सच्याउने बिन्दु कुन हुन सक्छ, के यस सवालमा काङ्ग्रेस नेतृत्वले एकपटक घोत्लिने चेष्टा गर्ला ?