जनताको सम्मान गरौँ—रमेश ग्रहण सिलवाल

जनताको सम्मान गरौँ—रमेश ग्रहण सिलवाल


दी बटमलाइन
दिवंगत संविधानसभाको पुनस्र्थापना गर्नुपर्छ भन्दै केही राजनीतिकर्मी ज्यान छोडेर लागेका छन् । साम्प्रदायिक उद्देश्यका साथ लोकतान्त्रिक गणतन्त्रात्मक सङ्घीय गठबन्धनको गठन पनि गरियो । सो गठबन्धनमा सामेल गराउन कांग्रेस–एमालेलगायत अन्य दलहरूलाई एमाओवादी र मधेसी मोर्चाले आ–आफ्नै तरिका र शैलीमा दबाब दिइरहेका छन् । तर, नेपाली जनता नयाँ जनादेशमा जान उत्सुक एवम् उत्साहित भइरहेका छन् । नेपाली जनताको नयाँ संसद्को चुनावमार्फत नेता चुन्ने उत्कठ आकाङ्क्षालाई खिल्ली उडाउँदै अवसरवादीहरू संविधान र सर्वोच्चको भावनाविपरीत संविधानसभाको पुनस्र्थापनाको एकोहोरो रट लगाउनुको पछाडि के अभिलाषाले काम गरेको छ, यसै भन्न सकिने अवस्था रहेन, संविधानसभा पुनस्र्थापना भए फेरि एकपटक जाति–जाति लडाएर आफ्नो सङ्कीर्ण एवम् स्वार्थी आकाङ्क्षा र सपना पूरा गर्ने कसैको दाउ पक्कै पनि रहेको देखिन्छ ।
गिरिजाप्रसादको देहावसानपछि यो मुलुकमा कमरेड प्रचण्डले हरहिसाबले परिणामुखी भूमिका निर्वाह गर्नेछन् भनेर ठानेको विशाल पङ्क्ति अहिले निराश भएको छ । उनको गैरजिम्मेवारी अभिव्यक्ति र स्वार्थी रणनीतिले गर्दा सबैथोक अन्योलग्रस्त बन्न पुगेको छ । कहिले २५ वर्ष यो सरकार जान्छ भन्ने त कहिले जातीय सङ्घीयता नै बटमलाइन हो भन्दै उनले जग हँसाइरहे । यो गणतन्त्र कुनै नेताले नभई नेपाली जनताले ल्याएका हुन् । जुन दिनसम्म हामी जनता चुपचाप बस्छौँ त्यो दिनसम्म गणतन्त्र कायम रहला तर जुन दिन जनता मैदानमा उत्रिन्छन् त्यो दिन गणतन्त्र समाप्त हुनेछ र राजतन्त्रको पुनस्र्थापना हुनेछ । नेपाली जनताले कसैलाई मठाधीश वा पिठाधीश बनाउन रगत बगाएका थिएनन् । कसैलाई महासामन्ती बनाउन जनताले प्राणको आहुती दिएका थिएनन् । तर, जनताको सम्पूर्ण त्याग, बलिदानको अवमूल्यन गर्दै मनपरी गरेर जनताप्रति विश्वासघात गरिएको छ ।
नेपाली जनता सोझा छन् । ०६२/०६३ को आन्दोलनमा गणतन्त्र ल्याउने एजेण्डा थिएन । केवल राजतन्त्रको निरङ्कुशता समाप्त गर्न जनता सडकमा उत्रेका थिए । तर, कसैलाई थाहा–पत्तो नभएको सङ्घीयता र मुलुकको पहिचान नै समाप्त पार्ने धर्मनिरपेक्षता नेतागणले थोपरे । त्यसैको प्रतिफलस्वरूप आजको धर्मसङ्कट निम्तिएको हो । नेपाली जनताले हार्न जानेका छैनन्, यो इतिहासले भनेको छ, मानेको छ । यदि गणतन्त्र सार्थक हुन्थ्यो भने जनताले यतिबेला नेताहरूलाई भगवान् ठान्ने थिए । तर, जनतालाई पीडा मात्र दिने कामकारबाही भएकोले नेताहरू दानव सावित भएका छन् । जनतालाई पीडा दिनेहरू राजनेताको के कुरा, नेता मात्र पनि बन्न वा मानिन लायक हुँदैनन् । नेताजीहरूलाई थाहै होला जनता तात्दैनन्, तातेपछि फैसला नगरी छोड्दैनन् । नेता अर्थात् नेपाली समाजका अगुवाहरूले सही मार्ग दिन सक्नुपर्छ तर यहाँ त जनता भड्काउने र जनता–जनताबीच लडाउने दिनचर्यामा नेताहरू छन् ।
हाम्रो अर्थात् नेपाली जनताको यो आग्रह छ कि जनता बेवकुफ बनाउने एजेण्डा अब नेताहरूले नल्याऊन् । सबैलाई स्वीकार्य हुने साझा पहिचाान नै हाम्रो अमूल्य सम्पत्ति बन्नेछ । राष्ट्रिय सहमति गर्दा सबै पक्ष अटाउने गरी गरियोस् । गणतन्त्रवादीहरू मात्र बसेर गरेको सहमतिको कुनै अर्थ छैन, त्यहाँ राजावादीहरूको पनि संलग्नता जरुरी हुनुपर्छ । साम्राज्यवाद र विस्तारवादको गोटी बनेर नेपाल र नेपालीको हित नहुन सक्छ । त्यसकारण नेपाल र नेपाली वैरीहरूको घुमाउरो पाराले सेवा नगरियोस् । २१औँ शताब्दीमा कट्टरपन्थी कम्युनिस्टलाई कुनै स्थान छैन । त्यसैले विनास होइन विकासमा सबै नेपाली लाग्नुपर्छ । को कति पानीमा छ भन्ने कुरा आगामी चुनावी परिणामले निक्र्योल गर्नेछ । सबैले अब यथाशक्य छिटो नयाँ चुनावमा जाने सहमति गरून् । चाहे नागरिक समाज हुन् वा मानवअधिकारकर्मी, कोही पनि दलका प्रवक्ता वा दास नबनून् । नेपाली जनताको सुख, शान्ति, समृद्धि, शक्ति र सन्तुष्टिका लागि हरेक तह र तप्काबाट इमानदारी र संवेदनशीलताको आवश्यकता छ, त्यसैले अब संविधानसभा ब्युँताउने नभई ताजा जनादेशमा जाने मार्ग अवलम्बन गरौँ र नेपाली जनताको सम्मान गरौँ ।