जीवन कथा—रामहरि त्रिपाठी
जीवनकथाहरू आँसु व्यक्त गर्नका लागि मात्रै पनि हुँदैनन् । खुसी साट्ने पलहरूमा मात्रै सीमित पनि हुँदैनन् । सिङ्गो समाजलाई सचेत गराउने खालका पनि हुन्छन् ।
त्यस्तैमध्येको प्रतिनिधि घटना हो यो । ०६४ साल पुस २३ गते । जाडो महिनाको समय थियो । मानिसको जन्म र मृत्यु भावीले नै लेखेको हुन्छ भन्छन् । त्यस्तै भयो । अन्य दिनझैं आज पनि नाबालक छोरा खेल्न भनी घरबाहिर निक्लेको थियो । अबेरसम्म पनि घरमा छोरा आइपुगेको थिएन । जम्मा श्रीसम्पत्ति त्यही एउटा छोरा । छोराकै लागि बाबुआमा दिनरात घोटिइरहेका छन् । यति गर्दा पनि छोराले बाबुआमाले भनेको नमान्दा उनीहरूलाई दु:ख लाग्नु स्वाभाविक पनि हुनसक्ला । घरमा आमा रमिणी र बाबु धनबहादुर दुवै रिसाइरहेका थिए । जाडो महिना भएकोले दुवैले अलिअलि रक्सी पिएका थिए । रमिणीले अण्डा र आलुभुजिया बनाइन् । श्रीमान्–श्रीमती दुवैले आलुभुजियाको सितानसँगै रक्सी पिए । केही रक्सी खाएपछि रमिणी ओछ्यानमा पल्टिन्, बाबुचाहिँ भने रक्सी पिइरहे । रातको ८:३० बजेतिर छोरा मानबहादुर कोठामा आइपुग्यो । अघिदेखि नै दुवैजना साँझसम्म पनि छोरा घर नआएकामा रिसले चुर थिए । छोरा कोठामा छिर्नेबित्तिकै बाबु आमाले गाली गर्न थाले ।
बाबुले दाहिने हातले छोरा मानबहादुरको कञ्चटमा हान्न थाले, एक–दुई मुक्का हानेपछि छोरा ढल्न पुग्यो । तैपनि रिस कहाँ मरेको थियो र ! राम्रैसँग सबक सिकाउन लागे बाबुचाहिँ । कोठामा रहेको बञ्चरोको पछाडिपट्टिको भागले हाने । रक्सी लागिसकेको थियो । हान्दा छोराको अनुहारमा लाग्न पुग्यो । आमाचाहिँले पनि आगोमा घ्यू थपेझैं गाली गर्दै छोराको घाँटी समाउन थालिन् । यसरी आज राम्रैसँग छोरालाई तह लगाए उनीहरूले । अब भोलिदेखि चाहिँ छोरा सबेरै घर आउने भयो भन्नेमा उनीहरूले सफलता ठाने । तर, दुर्भाग्यवश छोरा भने कहिल्यै खेल्न जान नसक्ने अवस्थामा पुगिसकेको थियो । निकैबेरसम्म पनि छोरा नचलेपछि दुवैको होसहवास उड्यो । हेर्दा हेर्दै छोराको मृत्यु भएको आभास भएपछि दुवैजना आत्तिन लागे । बेचैन हुन लागे । होसहवास उड्न लाग्यो । अब के गर्ने ? दुवैको समजले काम गर्न छाड्यो । अनि दुवैजना मिलेर आमाले खुट्टापट्टि र बाबुले टाउकोपट्टि समाती नजिकै रहेको अधिकारीको इँटा पोल्ने भट्टामा लगे । आगो बलिरहेको इँटा पोल्ने भट्टीमा लगी आफ्नो एकमात्र छोरालाई फाल्न बाबुआमा विवश भए ।
एक कान दुई कान गर्दै भोलिपल्ट घटनाको सनसनी मच्चियो । सुरुमा कसले हत्या गर्यो भन्नेमा सबैलाई अन्योल भयो । पोष्टमार्टम रिपोर्टमा जलेर मृत्यु भएको भन्ने रिपोर्ट आएपछि घटना झन् बढी रहस्यमय बन्न पुग्यो । आखिर पाप कहाँ टिक्न सक्छ र ? केही दिनमै अनुसन्धानको घेरामा बाबुआमा नै परे । अन्तिममा बाबुआमाले आफ्नो अपराध स्वीकार गरे । यसरी व्यास नगरपालिका वडा नं. ५, तनहुँमा एउटा मार्मिक र दु:खान्त घटना घट्यो । राम्रो गर्न खोज्दा भएको एउटा छोरा पनि गुम्यो । जब दुवैजनालाई अपराध गरेको महसुस भयो । समय धेरै ढिलो भइसकेको थियो । आज दुवैजना जन्मकैदको सजाय व्यहोर्दै छन् । ख्यालख्यालमै कस्तो बीभत्स घटना । कस्तो बेहोसीपन ।
प्रतिक्रिया