काठमाडौं लगायत मुलुकभर नेपाल बन्दको आंशिक प्रभाव

काठमाडौं लगायत मुलुकभर नेपाल बन्दको आंशिक प्रभाव


मंगलबारका लागि आयोजना गरिएको नेपाल बन्दको प्रभाव मुलुकभरी आंशिक रुपमा परेको छ । नेपाल बन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको हो ।

मुलुकभर अन्य दिनको तुलनामा कम मात्रामा सवारी साधनहरु चलेका छन् । बन्दका कारण काठमाडौं भित्रिने र बाहिरीने सवारीको चाप अत्याधिक न्युन रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बन्दका कारण राजधानीबाट बाहिर निस्किने यात्रुहरुले गन्तब्यसम्म पुग्नका लागि यातायातका साधनहरु पाएका छैनन् । ट्राफिक प्रहरी प्रवक्ता मुकुन्द मरासिनीले राजधानीभित्र कममात्रामा सवारी चलेको र कुनै अप्रिय घटना नभएको जानकारी दिएका छन् ।

विराटनगरबाट विप्लव नेतृत्वको नेकपाका नेताहरुलाई प्रहरीले पक्राउ गरेको विरोधमा सोमबार बन्द आह्वान गरिएको हो । नेकपाका नेताहरु पक्राउ परेको जिल्ला मोरङमा पनि बन्दको प्रभाव सामान्य रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयहरुको अनुसार बन्दको प्रभाव सामान्य रहेको छ । जिल्लाभित्र सवारीका साधानहरु चलिरहेपनि लामो दुरीका यातायातका साधनहरु भने कम मात्रामा चलेका छन् ।