यस्तो सहमति गरे दलहरूले

यस्तो सहमति गरे दलहरूले


संविधान निर्माणका सन्दर्भमा देखिएका मुख्य विवादका विषयमा निम्नानुसार टुङ्ग्याउने गरी राजनीतिक दलहरूबीच सहमति भएको छ–
(क) संघीय संरचनाबारे
१. नेपालका सबै प्रदेशहरू बहुजातीय हुनेछन् । प्रदेशहरूमा सबै जाति, जनजाति, धर्म, भाषा, संस्कृतिका सबै नागरिकको राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक अधिकार समान रहनेछ ।
२. प्रत्येक नागरिकका मौलिक हक एवम् मानव अधिकारको सम्मान तथा रक्षा गर्नु केन्द्र, प्रदेश तथा स्थानीय सरकारको दायित्व हुनेछ ।
३. प्रदेशहरू एघार रहने गरी तोकिनेछ । हाल नामाङ्कन प्रस्तावित गरिने छैन ।
४. प्रदेशहरूको सीमाङ्कन, नामाङ्कन प्रदेशहरू जोडिने वा प्रदेशबाटै अर्को प्रदेश बन्ने वा प्रदेशको कुनै भाग अर्को प्रदेशमा जाने आदि विषयको समाधान गर्न केन्द्रीय सङ्घीय आयोगको व्यवस्था गरिनेछ ।
५. आयोगले गरेको सिफारिसका आधारमा अन्तिम निर्णय संसद्ले लिनेछ ।
६. नामाङ्कनका सन्दर्भमा प्रदेशसभाले गरेको निर्णय अन्तिम हुनेछ ।
(ख) शासकीय प्रणालीबारे
१. शासकीय प्रणाली मिश्रित रहनेछ ।
२. राष्ट्रपतिको निर्वाचन कानुनमा व्यवस्था भएबमोजिम प्रत्यक्ष प्रणालीबाट हुनेछ ।
३. प्रधानमन्त्री संसद्बाट निर्वाचित हुनेछन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद् गठन गर्नेछन् । मन्त्रिपरिषद् तथा यसका सदस्यहरू संसद्प्रति सामूहिक तथा व्यक्तिगत रूपमा उत्तरदायी रहनेछन् ।
४. शासन पद्धतिमा संसद्को सर्वोच्चता रहने । शासन पद्धतिमा नियन्त्रण र सन्तुलनको व्यवस्था हुनेछ ।
(ग) संसद्को गठन
(१) संसद्को निर्वाचन मिश्रित निर्वाचन प्रणालीबाट गरिनेछ ।
२. प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित एक सय ७१ र समानुपातिकबाट एक सय ४० सदस्य रहनेछन् ।
३. राष्ट्रिय सभामा प्रदेशबाट पाँच/पाँचजनाका दरले सदस्यहरू निर्वाचित हुनेछन् । मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न क्षेत्रका ख्यातिप्राप्त विशिष्ट व्यक्तिहरूमध्येबाट १० जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।
४. प्रदेशसभामा एक केन्द्रीय संसदीय निर्वाचन क्षेत्रलाई दुई क्षेत्रमा विभाजन गरी प्रदेशसभाका सदस्यहरूको निर्वाचन गरिनेछ ।
५. स्थानीय सरकारको गठन कानुनमा व्यवस्था भएबमोजिम हुनेछ ।
(घ) अदालत
१. बाँकी कार्यकाल जति रहे पनि प्रधानन्यायाधीश हुन सक्ने व्यवस्था रहनेछ ।
२. न्यायधीशहरूको नियुक्ति न्यायपरिषद्बाट हुनेछ ।
३. न्यायपरिषद्मा प्रधानन्यायाधीशको अध्यक्षतामा वरिष्ठतम् दुईजना न्यायाधीश कानुनमन्त्री र बार एसोसिएसनका एक प्रतिनिधि सदस्यहरू हुनेछन् ।
४. अन्तरिम संविधानबमोजिम हाल कायम रहेका न्यायाधीशहरूले नयाँ संविधानबमोजिम पुन: नियुक्ति लिन पर्नेछैन । नयाँ संविधानबमोजिम शपथ गर्नुपर्नेछ ।
(ङ) संवैधानिक अदालत
१. प्रधानन्यायाधीशको अध्यक्षतामा संवैधानिक अदालत गठन हुनेछ ।
२. संवैधानिक अदालतमा दुईजना सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश र दुईजना कानुनविद्हरूमध्ये सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका व्यक्तिमध्येबाट सहमतिका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछन् ।
३. संवैधानिक अदालतले प्रदेश/प्रदेशबीचको विवाद, प्रदेश र केन्द्रबीचको विवाद, प्रदेश र स्थानीय सरकारबीचको विवाद हेर्नेछ । संवैधानिक अदालत पाँच वर्षसम्म रहनेछ ।
(च) सेती–महाकालीका नौ जिल्ला एकै प्रदेश हुने मागका सन्दर्भमा तीन दलका शीर्ष नेताहरूले वक्तव्यका साथै उपस्थित भई व्यक्त गरेका विचारहरूसमेतका आधारमा सेती–महाकाली प्रदेश हुनेछ । जनमत सङ्कलन भन्नाले जनमतसङ्ग्रहसम्म गर्न सकिने भनी नेताहरूको प्रतिबद्धतालाई आधार मानिनेछ ।