कुरा ०४५ साल माघ महिनाको हो । इलाम घुम्ने र आफन्तहरूसित पनि भेटघाट गर्ने भन्ने चाहनाले म इलामको सुम्बेकतिर पुगेकी थिएँ । म त्यहाँ पुगेको बेलामा गाउँमै एउटा विषयले चर्चा पाएको थियो । स्थानीय बासिन्दा भोला सुवेदीकी अपाङ्ग दिदी त मरिछिन् । मानिस जन्मेपछि मर्नुपर्छ, त्यसमाथि एक अपाङ्ग जसले उचित स्याहारसुसार पाइनन् होला र मरिन्– मेरो मनमा यही आयो । तर, घटना त ज्यादै मार्मिक रहेछ । केही कुरा सुनेपछि म पनि लागेँ मेरा नातेदारसितै सँगै जोडिएको भोलाको घरतिर । भोला भर्खर दिदीलाई सेलाएर फर्केका रहेछन् । सामान्य कुराकानी भएर हामी फर्कियौँ घर । दिदीको झुटो बारेर बसेकाले मेरो फुपूको घरबाट ती दिनमा भोलाको छाक टारिदिने काम भएको थियो । ती दिनमा खानेकुरा लिएर जाने काम म पनि गर्दथेँ । मैले त्यही समयमा भोलाको घरबारे राम्ररी थाहा पाएँ । भोला र मेरी फुपूले दिएको जानकारीअनुसार उनकी दिदीका दुवै हातखुट्टै नचल्ने । उनी बोल्न पनि सक्दिनरहिछिन् । बाबु बिरामी ओछ्यान परेका, दिदी अपाङ्गलाई घरमा छोडेर भोला र उनकी आमा दिनभरि अरूको ज्याला–मजदुरी गर्न जान्थे । उनीहरूको दिनभरिको कमाइले दुई छाक टार्ने काम मात्र भइरहेको थियो त्यो घरमा । घरलाई गरिबीले यति गाँजेको थियो कि बाबुलाई के रोग लागेको हो र उनी ओछ्यान परे भन्ने पत्ता लगाउनलाई डाक्टरकोमा लिएर जाने पैसा पनि उनीहरूसित थिएन । दिनभरि कमाइ भएन भने चारैजना भोकै सुतेको अनुभव पनि भोलासित धेरै छ । जडीबुटी र कन्दमूलको भरमा बाबुलाई धेरै दिन बचाउन भोलाको परिवारले सकेन । बाबुलाई सेलाएपछि घरमा दिदीलाई मात्र छोडेर भोला र आमा काममा जान्थे । एक दिन गफ गर्दै जाँदा भोलाले आफ्ना अतीतका पाना पल्टाउँदै मसित भनेका थिए, ‘दिनभरिकी भोकी दिदी साँझमा हामी घर फर्कंदा आँगनको डिलमा पर्खिरहेकी हुन्थिन् । हामीलाई देख्नासाथ उनी आई–उई गरेर अर्थबिनाको आवाज निकाल्दै खुसी भएको हाउभाउ देखाएकी हुन्थिन् । हामी सधैँ दिउँसो खान दिएको केही खानेकुरा राखेर दिदीलाई ल्याइदिन्थ्याँै । उनलाई आँगनमै ती खाने कुरा खुवाएर मात्र आमाले घर पस्न पाउनुहुन्थ्यो ।’
सुख पाइएला नि भन्दै दु:खैदु:खको भुमरीमा हाम्रा दिनहरू बितिरहेका थिए । बिस्तारै हाम्री दिदी आँगनको डिलमा होइन, घरभित्रै भेटिन थालिन् । उनी हामीले ल्याएको खानेकुरालाई पनि वास्ता गर्न छोड्दै गएकी थिइन् । दिदीको स्वभावमा आएका यस्ता परिवर्तनले आमा र मलाई आश्चर्य बनाइरहेको थियो । दिदी बिस्तारै मोटाउँदै गइन् । केही महिनापछि एक दिन आमाले सबै गाउँलेलाई आँगनमा जम्मा गर्नुभयो । पञ्चेती बस्यो, अनि पो मैले थाहा पाएँ दिदी त दुईजिउकी पो भएकी रहिछिन् । ओहो ! एउटा मुढोजस्तो शरीर अनि बोल्न नसक्ने मेरी दिदीलाई त्यो अवस्थामा पुर्याउने को होला ? बिस्तारै पञ्चेतीमा कुरा उठ्यो, गाउँलेहरूल्ँे पनि देखिरहेका रहेछन् छिमेकी ठुटे तामाङ पो हाम्रो घरमा हामी नभएको बेलामा आइरहन्थ्यो रे । पञ्चेतीले निर्णय गर्यो र ती ठुटे तामाङलाई लिन पठाइयो । उनी आए । उनलाई देख्नासाथ मेरी दिदी त हँसिली हुँदै हाप र झाप गर्दै ऊनेर घसिँ्रदै पुगिन् र लुटुपुटु गर्न थालिन् । समाज र पञ्चेतीलाई मेरी लाटी दिदीले अन्जानमै नतजिामा पुर्याइदिइन् । ठुटेले आफ्नो गल्ती स्वीकार गर्यो । प्रत्येक दिन दिउँसो ऊ अनेक खानेकुरा ल्याएर दिदीलाई दिने गर्दोरहेछ । धेरै दिनसम्म दिनभरि दिदीसितै बसेर उसले दिदीको मन जित्ने कोसिस गरेर बिस्तारै बेलाबेलामा सम्भोग गरी फर्किने गरेको कुरा उनले गाउँलेसामु सुनाउँदै माफी माग्यो । दुई छोराको बाबु बनिसकेको ठुटेकी श्रीमती मरेको एक वर्ष पनि भएको थिएन । समाज र पञ्चले ठुटेलाई मेरी दिदीको पालनपोषण गर्ने निर्णय गरेर जिम्मा लगायो । ठुटे तामाङले पनि केही भन्न सकेन र दिदीलाई पाल्छु भनेर आफ्नो घरतिर लिएर गयो । त्यो दिन रातभरि नै आमा रोइनै रहनुभयो भने हामी आमा–छोराले केही खाएनौँ पनि । भोलिपल्ट आमालाई के लाग्यो कुन्नि छोरीलाई हेर्न आमा पुग्नुभएछ तामाङको घरमा । आफ्ना दुई छोरा र हाम्री दिदीलाई मात्र घरमा छोडेर ऊ त राति नै डाँडा काटिसकेको रहेछ । छरछिमेक र परपरको गाउँमा पनि ठुटेको खोजी भयो । तर, ठुटे कहाँ गयो पत्तो भएन । ठुटेका दाजुभाइले त दुई छोरालाई लिएर गए तर बिजोक त हाम्री दिदीको भयो ।
हामीले हाम्री दिदीलाई घरमा लिएर आयौँ । उनको शारीरिक बनोटले गर्दा उनको गर्भपतन गराउन इलामका डाक्टरले मानेनन् । बाहिर लैजान सक्ने हाम्रो आर्थिक अवस्था थिएन । आमाले धेरै घरेलु औषधि खुवाउनुभयो तर कुनै काम भएन । सात महिनापछि दिदी प्रसव बेथाले छटपटिइन् । आमाले केही काम गरेको पैसा जोगाएर सुत्केरी हुँदा चाहिन्छ भनेर राख्नुभएको रहेछ । त्यही पैसा लिएर आमा र म भएर दिदीलाई इलाम अस्पताल लग्यौँ । तर, डाक्टरहरूले दिदीको अवस्थालाई हेरेर हामी सक्दैनौँ अन्तै लिएर जाओ भने । हामीले दिदीलाई झापा जिल्ला अस्पताल भद्रपुर लग्यौँ । आमालाई के–के कागजहरूमा औँठाछाप गर्न लगाएर दिदीको अप्रेसन भयो । छोरो रहेछ । दिदीको अप्रेसन त उनको शारीरिक बनोटकै कारणले गर्दा अगाडिबाट पेट चिरेर होइन कोखातिरबाट काटेर पो गरेको रहेछ । दिदीको अवस्थाले गर्दा आमाले मेरी छोरीको ज्यान बचाउने डाक्टरहरू त मेरा लागि भगवान् नै भए भनेर धन्यवाद दिएको मैले अस्पताल बसुन्जेल नै सुन्नु परिरहेको थियो । हामी केही दिन भद्रपुर अस्पतालमा बसेर बच्चा र आमालाई घर लिएर आयौँ ।
दिदी र आमाले त्यो नवजात शिशुलाई माया गरेको देख्दा मलाई प्रत्येकपल्ट त्यो तामाङको सम्झना हुन्थ्यो । त्यो तामाङलाई सम्झेकै निहुँमा मेरो रिस नवजात शिशुप्रति पोखिन्थ्यो । मैले एकपल्ट पनि त्यो बच्चालाई फर्केर हेरिनँ । ३८ दिनपछि त्यो बच्चा पनि मर्यो । मेरी आमालाई एक दिन फेरि रुने बहाना मिल्यो । नचाहँदा–नचाहँदै पनि घरको एक मात्र पुरुष भएकोले मैले नै त्यो मृत शरीरलाई जङ्गलमा लगेर गाडेर फर्कनुपरेको थियो । दिदीले केही दिन त बच्चालाई सम्झेर हामीलाई ज्यादै दु:ख दिइन् । मैले नै उनको अगाडिबाट बच्चा लिएर हिँडेकाले उनी मलाई देख्नासाथ आँखा तरेर रिस देखाउँथिन् । धेरै पिरले आँसु बहाएकी मेरी आमाको आयु पनि लामु हुन सकेन । सुत्केरी दिदी र मलाई टुहुरो बनाएर एक रात हामीलाई थाहै नदिई आमा पनि नफर्कने बाटोतिर लाग्नुभयो । अब दिदीलाई स्याहार्ने र पाल्ने जिम्मा म बालकमा पर्यो । आमाले के–के गरेर स्याहार्थिन् दिदीलाई सायद मैले त्यसरी स्याहार्न सकिनँ या जानिनँ दिदीको बच्चा निकालेको घाउ त पाक्न थाल्यो । दिदी सुतिरहने, उठेर घस्रिन पनि नसक्ने भइन् । उनको घाउमा मल्हमले कुनै काम गरेन । दिदीको स्याहार गरेर घर बसौँ खानै समस्या, काममा जाऊँ दिदीको अवस्था । कुनै दिन केही पनि खानेकुरा दिन सकिनँ भने दिदी कराएर, रोएर मलाई रातभरि सुत्न दिन्न थिइन् । काम र दिदीको स्वास्थ्य ? यी दुईमा भोको पेटले जित्यो र म काममै जान थालेँ । दिदीको घाउले हावा पाएन । सधैँ थिचिएकोले उनको घाउ ढाडतिर बढ्दै जान थाल्यो । बिस्तारै जिउँदै मेरी दिदीको शरीरबाट अरू पनि जीवहरू निस्कन थाले । उनको घाउमा कीरा परे । दिनभरि नै दिसा, पिसाब र कीराको बीचमा आहाल परेकी दिदीलाई कामबाट फर्केर मात्र म सफा गर्न पाउँथेँ । तर पनि जे–जस्ती भए पनि घरमा दिदी छिन् भनेर म घरभित्र पस्न पाएको थिएँ । उनले पनि छोडेर गइन्, म नितान्त एक्लो भएँ ।’ निकै लामो सुस्केरा हाल्दै भोलाले मलाई सबै रामकाहनी सुनाएका थिए त्यो बेला । केही महिनासम्म त यो घटना मेरो दिमागमा आइरहन्थ्यो, पछि बिस्तारै मैले भोलालाई बिर्सिसकेकी थिएँ ।
हिजो तिनै भोलाले मलाई कोटेश्वरमा हिँडिरहेको बेला चिनेछन् । पछाडिबाट मेरो नाम लिएर बोलाएपछि मैले त भोलालाई चिन्न सकिनँ, तर उनैले सम्झाए सबै कुरा । उनले अरूको घरमा नोकरी गरेर एसएलसी पास गरेछन् । स्कुलमै पढ्दा विवाह पनि गरेछन् । एक छोरा र एक छोरीका धनी भोलाले आफ्नै घर बनाएर गाउँमै सानो पसल चलाएका रहेछन् । विभिन्न सामाजिक सङ्घ–संस्थाहरूमा संलग्न श्रीमान्–श्रीमतीको मिहिनेतले समाजमा उनीहरूको बेग्लै स्थान बनिसकेको रहेछ । छोरोले प्रथम श्रेणीमा एसएलसी पास गरेकोले काठमाडांैमै राखेर पढाऊँ भनेर छोरा लिएर भोला काठमाडौं आएका रहेछन् । चिया पिउँदै मैले भोलाको बारेमा धेरै कुरा जान्ने मौका पाएँ र म पत्रकार भनेको सुनेर भोलाले नै भने मेरो कथा छापिदिनु न, कुनै कतै अर्को भोला जन्मिएको छ भने उसले पनि मेरो कथाबाट ज्ञान लिन सकोस् र अगाडि बढोस् ।
प्रतिक्रिया