बन्दाबन्दै भाँच्चियो बेलिब्रिज

बन्दाबन्दै भाँच्चियो बेलिब्रिज



– किशोर बुढाथोकी/सिन्धुपाल्चोक

दुगुनागढीको पाङसेर्पु पहाड खसेर मोटरेवल पुलमा क्षति भएपछि निर्माणाधीन बेलिब्रिज मंगलबार दिउँसो भाँच्चिएको छ । अरनिको राजमार्ग अन्तर्गत फुल्पिङकट्टीको लार्चामा निर्माणकै क्रममा रहेको पुल ठेकेदार र इञ्जिनियरको लापरवाहीका कारण भाँच्चिएको हो ।

कामदारले पुलको एकातर्फ बढी सामग्री र अर्काेतर्फ कम राखेकाले तौल सन्तुलित नहुँदा ब्रिज राख्ने क्रममा निर्माणाधिन ५० मिटर लामो पुल भाँच्चिएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । पुल बीच भागमा भाँच्चिएको छ । भाँच्चिएको भाग पहिले स्थानीय आवजतावत गर्नका लागि बनाइएको फड्केमा अड्किएको उनले बताए ।

भदौदेखि सडक डिभिजन कार्यालयले निर्माण गरिरहेको पुल अन्तिम चरणमा पुगेको थियो । दुई दिनमा सकिने यो पुल भाँच्चिएसँगै बाह्रविसे–तातोपानी सवारी आवागमन थप अन्यौलमा परेको छ । पुलमा राखिने फलामे ब्रिज दुईतिरै बाट राखिए पनि तातोपानी भेगतर्फको भागमा निकै कम राखिएको थियो ।
यसअघि स्थानीयले पुल निर्माणमा ठेकेदारले चासो नदेखाएको आरोप लगाउँदै आएका थिए । स्थानीयले पुल निर्माणका क्रममा कमसल सामग्रीको प्रयोग भएकाले बलियो नभएको बताउँदै आएका थिए । ‘सडक डिभिजनका कर्मचरी र इञ्जिनियरले वास्तागरेका थिएनन्,’ एक स्थानीयले भने, ‘ पुल अड्याउने दुवैतर्फको वाल ढुंगाको लगाइएको र त्यसमा बालुवा, सिमेन्ट पर्याप्त राखिएको थिएन ।’

पुलको दुवैतर्फको फाउण्डेशन बनाएर ब्रिजको काम भइरहेका बेला पुल भाँच्चिएको ठेकेदार मुकेश पन्तले जानकारी दिए । ‘सामग्री दुवैतर्फ बराबर थिएन अहिले,’ उनले भने, ‘राख्दै जाने क्रममा दुईतर्फको तौल बराबर नहुँदा यस्तो भएको हो ।’ उनले सामग्री भने मापदण्डअनुसारकै प्रयोग गरेको दावी गरे ।
पुल भाँच्चिएपछि तल खसेको भागलाई तत्कालै क्रेन ल्याएर उठाउने प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले जानकारी दिए । ‘पुललाई क्रेनले उठाएपछि जोडिनेछ,’ उनले भने, ‘खासै क्षति भने भएको छैन, अब केही दिनमै पुल निर्माण सकेपछि चालु हुनेछ ।’ उनले ब्रिज जोड्ने क्रममा लोड अन्ब्यालेन्स भएकाले पुल भाँच्चिएको बताए । ‘भोलितिर निर्माण सम्पन्न हुनेथियो, हाम्रो भाग्यमै रहेनछ,’ उनले भने, ‘अब दुई तीन दिन ढिला हुनेभयो ।’