केही दिनअगाडि नेपाली कांग्रेसले बीपीजयन्ती मनायो । तर, त्यो यति अल्छीलाग्दो र निरर्थक पाराको थियो कि केवल प्राविधिक र औपचारिकता निर्वाह गरिएको । यसबाट स्पष्ट हुन्छ– यदि यही बीपीजयन्ती पनि नमनाउदा हुँदो हो त कांग्रेसले त्यो पनि मनाउने थिएन । वर्तमानको यो क्रूर सत्यलाई कसैले अन्यथा नलिँदा हुन्छ । कांग्रेसका निमित्त र अझ कांग्रेस नेतृत्वका निमित्त बीपी बोझ बन्नुभएको छ ।
आजको कांग्रेसले न त बीपीको नीति तथा कार्यक्रमलाई बोक्छ न त उहाँको विचार र सिद्धान्तलाई हाँक्छ । यति भइसकेपछि साँच्चै भन्ने हो भने अब कांग्रेसले बीपीजयन्ती नमनाए नै जाती हुन्छ । कांग्रेसका निमित्त त्यो परम्परागत प्रजातन्त्रवादी मतहरू एकत्रित हुने बाटो हुनसक्ला । तर, बीपीका प्रति अन्याय हुन्छ । बीपीका नाममा सत्ताको भर्याङ बन्नु दुर्भाग्य हो । सिद्धान्तको धरहरा बनाउनुपर्दथ्यो कांग्रेसले बीपीलाई जसमा कांग्रेस चुक्यो ।
बीपी कोइराला भनेको नेपाली राजनीतिमा नेपाली जनताको पहिलो जनपक्षीय विश्वास थियो र रहिरहनेछ कालान्तरसम्म । यसलाई आफ्नो संस्थापक भएकै कारणले कांग्रेसले दुरुपयोग गर्ने नैतिक अधिकार राख्दैन । अरूलाई के मतलब, मलाई जन्माउने बाबुलाई म मार्छु भन्न पाइन्छ र ? तसर्थ कांग्रेसले अब बीपीलाई आफ्नो हिस्सामा नराखेर स्वतन्त्र गरिदेओस् । यही नै बीपीका प्रति न्याय हुनेछ । त्यसो त गरेकै के छ कांग्रेसले बीपीका नाममा ? केवल वर्षमा दुई दिन सराद्धे होइन ?
कुरा आक्रोश र आवेगको हुँदै होइन । विचार र सिद्धान्तको कठोर सत्यको हो । र, जब सत्यको उद्घाटनको प्रश्न आउँछ २०४६ सालपछि कांग्रेस आफ्नो विचार, आस्था, सिद्धान्त, मूल्य र मान्यतामा क्रमश: स्खलित हुँदै गयो । कांग्रेसको चम्किलो इतिहास बोकेको क्रान्तिकारी अनुहार क्रमश: यति घाउयुक्त भयो कि त्यसको पिप र फोहोर स्वयम् कांग्रेसलाई नै समेत गन्हाउने भयो । यो सत्य त्यस बेलाका र अहिलेका सत्ताका खेलाडीहरूले नस्वीकार्लान् । तर, उनीहरू अन्धा हुन् । अन्धाहरूले हात्ती देखिनँ भनेर भएको हात्ती नहुने हो र ? ०४८ पछिको कांग्रेसको सरकारको नेतृत्व र त्यसमा सहभागीहरू पैसा कमाउन नलागेर देश बनाउन लागेका भए अहिलेसम्म देशले एउटा बाटो समातेर देश केही अर्थमा ‘जापान’ हुने थियो । हो, यही कालखण्डदेखि कांग्रेसले बीपीलाई छाडिसकेको थियो ।
त्यसो त त्यसपछि आएकाहरूले पनि त्यस्तै नै गरे । एमालेले पनि सङ्गठित भ्रष्टाचार नै गर्यो– कांग्रेसभन्दा तीन हात माथि उफ्रिएर तर पछि कांग्रेसको पहिलो सरकार ठीक भइदिएको भए यिनीहरूलाई यसो गर्न मुस्किल पर्ने थियो ।
यसपछि कुरा आउँछ, नेपाली राजनीतिलाई उग्रपन्थबाट बचाउन जननायक विश्वेश्वरप्रसाद कोइरालाले आजीवन खेल्नुभएको भूमिकालाई उहाँकै भाइ गिरिजाप्रसादका पालामा कांग्रेस तिलाञ्जली दिएको छ । यसले मुलुकलाई असर भविष्यसम्म पार्ने अत्यन्त डरलाग्दो हुनसक्छ । अराजक र उग्रवादले केवल प्रजातन्त्रको हत्या मात्र होइन– मुलुकको अस्तित्व नै नामेट भएर जानसक्छ भन्ने बीपीको अडानलाई पन्छाएर माओवादीसँग सम्झौता गर्न पुग्नुपर्ने कुनै कारण थिएन–सत्ताको घीनलाग्दो लोभबाहेक । तर त्यही सत्ता पनि चार वर्षदेखि आएको छैन ।
यसरी बीपीका सिद्धान्त र आदर्शलाई तिलाञ्जली दिँदै कांग्रेस नेतृत्वले चार वर्षअघि माओवादीसँग मारेको अँगालोले लोभ गरेको सत्ता त प्राप्त हुँदैन हुँदैन । मुलुक थप अराजकता र द्वन्द्वमा गएर गृहयुद्धमा फस्नेछ र अन्तत: विदेशी हस्तक्षेपमा टुङ्गिनेछ । यसका प्रारम्भिक लक्षणहरू अहिले नै देखिई पनि सकेका छन् । बीपी कोइरालाका दूरदर्शी निर्देशनहरूलाई बेवास्ता गरी कांग्रेस जसरी माओवादीको सहयात्री बन्यो । त्यसै दिन कांग्रेसले ढिलो–चाँडो आफ्नो आत्महत्याको बाटो त रोज्यो रोज्यो । प्रजातन्त्रको समाप्ति र राष्ट्रियताको सर्वनाश पनि हुने भयो ।
आफूसँग भएको तागतलाई चिन्न नसक्दा कांग्रेसले ऐतिहासिक भूल गरेको छ । कांग्रेसले यसका निमित्त कहिल्यै क्षमा पाउने छैन । स्वयम् बीपीले क्षमा दिनुहुने छैन । अझ सबैभन्दा रमाइलो त के भने यतिबेला पनि कांग्रेस आफ्नो भूलका प्रति पश्चात्ताप गर्ने, सपार्ने काममा लागेको छैन । बरु त्यही भूल अझ थप्दै छ, बलियो पर्दै छ । केही दिनको सत्ताका लागि ।
प्रतिक्रिया