यिनै हुन् सञ्चिताका पहिलो श्रीमान्

यिनै हुन् सञ्चिताका पहिलो श्रीमान्


सबैजना बलेकै आगो ताप्छन् । उनी मात्र के कम ? उनले पनि त्यसै गरिन् । उनी अर्थात् सञ्चिता लुइँटेल ।
सिनेमा क्षेत्रमा स्थापित हुनुअगाडि सञ्चितालाई एउटा पुरुषको सख्त साथको आवश्यकता थियो । उनको यो आवश्यकता पूरा गरिदिएका थिए आकाश शाहले । नयाँ–नयाँ नायिका, आँखा लगाउनेहरू पनि कम थिएनन्, तथानाम भनेर सञ्चिताको मन दुखाउनेहरूको जमात पनि ठूलै थियो, तर त्यस्ताहरूको अगाडि आकाश पर्खाल भएर उभिए । आकाशकै कारण सञ्चितालाई कसैले औंला उठाउन सकेनन् । किनकि मिडियासँग आकाशको सम्बन्ध मीठो थियो । यो सम्बन्धको भरपूर फाइदा लिइन् सञ्चिताले । अन्तत: यो सम्बन्ध विवाहमा नै परिणत भइदियो ।
समय बित्दै गयो । सञ्चिता दिनप्रतिदिन नाम र दाम कमाउँदै अगाडि बढिन् । उनको उठबस र खानपिन फिल्मी हस्तीसँग बढ्न थाल्यो । कुनै समय आकाश आफूलाई सुटिङमा लिन ढिला आए भने आकाशसँग रिसाउने सञ्चिता अब भने आकाश चाँडो आए भने रिसाउने अवस्थामा पुगिन् । आफ्नो क्यारियर नै दाउमा राखेर सञ्चिताको पछि लागेका र उनलाई साथ दिएका आकाशमाथि त्यतिबेला बज्रपात पर्न गयो जब सञ्चिताले आकाशसँग ‘डिभोर्स’को प्रस्ताव राखिन् । आकाशले पनि यसमा नाइँनास्ती गरेनन् । यसरी टुट्यो आकाश र सञ्चिताको सम्बन्ध ।
निकै रुवाएकी छिन् सञ्चिताले आकाशलाई भन्दा फरक पर्दैन । आफ्नो क्यारियर अनि परिवार त्यागेर सञ्चिता भन्दै उनलाई साथ दिएका आकाश सहन नसक्ने गरी धोका खाएपछि एकाएक नेपालबाट हटाए । बीचमा थुपै्र वर्ष हराए उनी । यसबीचमा सञ्चिताले दाम मात्र होइन नाम पनि कमाइन् र नायक निखिल उपे्रतीसँग विवाह गरेर आमा पनि बनिन्, तर आकाशको अत्तोपत्तो थिएन । यतिबेला भने समयले कोल्टो फेरेको छ । हायहाय भएकी सञ्चिता ‘बाइबाई’ हुने अवस्थामा छिन् भने सञ्चिताले ‘बाइबाई’ गरेका आकाशको अब ‘हायहाय’ हुने निश्चित भएको छ । कारण हो आकाशले अभिनय गरेको चलचित्र बडीगार्ड । सञ्चिताले धोका दिएपछि विक्षिप्त भएर मुलुक छाडेका आकाश लामो समय भारतीय चलचित्र उद्योगमा सङ्घर्ष गरिरहे । आफूलाई हरेक पक्षबाट फिट बनाएपछि नेपाल फर्किएका आकाशलाई चलचित्र बडीगार्डमा नायकको रूपमा अनुबन्ध गरे निर्माता सुशील पोखरेलले । यतिबेला हरेक मिडियामा आकाश र उनको बडीको गजवले चर्चा चल्न थालेको छ भने आफ्ना पूर्वपतिको नाम र चर्चा सुन्दै अनि रुँदै सञ्चिता निखिलको सन्तान स्याहार्दै माइती नै छटपटाइरहेकी छिन् । सायद यसैले भन्छन् होला …पुछेको ढुङ्गा पनि काम लाग्छ भनेर ।
आकाशलाई छाडेर एक समय स्टार भएका निखिलको पछि लागेकी सञ्चिताले छानेको निखिल यतिबेला स्टार रहेनन् । तर, आकाश भने स्टार बन्ने सम्भावना देखिएको छ । आजभोलि आकाशलाई उदाहरण दिँदै भन्न थालिएको छ, ‘इख नभएको मान्छे र विष नभएको सर्पको काम छैन ।’

नबोले नि हाँसिराख न
मनका भावना व्यक्त गर्न बोल्नैपर्छ भन्ने छैन । कति कुराहरू त नबोलीकन पनि स्वत: व्यक्त हुन्छन् र मन्द मुस्कान अनि हाँसोले पनि ती कुरा र भावनाहरूलाई व्यक्त गरिरहेका हुन्छन् ।
यस्ता कुरा बुझेर नै होला निर्देशक शरद केसीले एउटा चलचित्रको निर्देशन गरेका छन्– ‘नबोले नि हाँसिराखन’ । यतिबेला पोस्ट प्रोडक्सन कार्यमा व्यस्त यो चलचित्र बजारमा आउने भएको छ कात्तिक ३ गतेदेखि ।
चलचित्र नैना रेसम, नाइट क्विन र नबोले नि हाँसिराखन गरेर तीनवटा चलचित्र निर्देशन गरिसकेका शरद अब भने ‘न’ होइन रे ‘श’ अक्षरबाट उठेको नामबाट मात्र चलचित्र बनाउने रे । ‘ज्योतिषलाई देखाउँदा यही सल्लाह पाएपछि यस्तो योजना बनाएको हुँ,’ उनले भने ।
पछिल्लो समय नेपाली चलचित्रकर्मी ज्योतिष विद्याप्रति निकै नै विश्वस्त हुन थालेका छन् । यसकारण पनि चलचित्र क्षेत्रभित्र हावी हुँदै गएको ज्योतिष विद्याले फाइदा पुर्‍याएको कुरा पनि बताउँछन् उनीहरू । ‘मैले अब यही विश्वासमा तीनवटा चलचित्रको नाम ‘श’बाट उठेको जुराएको छु । पहिले म सकस बनाउँछु भने त्यसपछि शिसा अनि साइनो,’ निर्देशक शरदको योजना छ ।
मुख्य सहायक निर्देशनको अभिभारामार्फत सिनेमा क्षेत्रमा छिरेका शरदले नबोले नि हासिराखन मा निखिल उपे्रती, ऋचासिंह ठकुरी, कमलकृष्ण पौडेल, शान्ति गिरी, लक्ष्मी गिरी र नयाँ प्रस्तुतिमा सुनिलसिंह ठकुरीलाई निर्देशन गरेका छन् ।

बोली फेर्दै सिनेमा खेल्दै
‘पाए अन्त नपाए लखनको जन्त’ यस्तै भएको छ अहिले नायिका झरना बज्राचार्यको जीवनमा । नेपाली सिनेमाकर्मीहरूले चाहिनेभन्दा बढी नै महत्व दिन थालेपछि– ‘सिनेमा खेल्ने त इच्छा नै छैन’ भन्दै म्युजिक भिडियोतिर हराइरहेकी उनी पछिल्लो समय नायिकाभन्दा पनि बढी मोडल हुन पुगेकी थिइन् । पछि आफूभन्दा निकै जुनियरसँग पनि भिडियोमा कम्मर मर्काएर नाच्नुपर्दा उनलाई पनि खासै रमाइलो भने लागेको रहेनछ । सबैको हाईहाई पाएकी झरनाले फिल्मबाट बाईबाई हुने अवस्थामा आइपुग्दा भने केही रामै्र कुरा सोचिन् र भन्न थालिन्– ‘सिनेमा क्षेत्रलाई त्याग्न सक्दिनँ ।’
यसरी समय र परिस्थितिअनुसार विचार, सोच र उद्देश्य बदल्न सक्ने झरना यतिबेला भने सिनेमाबाट अफर आउनासथ नाइँनास्ती होइन कि ‘ए कुरा गरौँ न त’ भन्न थालेकी छिन् । यसकारणले पनि उनले गत हप्ता मात्र दुईवटा चलचित्रमा काम गर्न मञ्जुरी दिएकी छिन् ।
झरनाले अभिनय गरेका सिनेमा हिट छैनन् तर पनि उनलाई मन पराउने र पर्दामा झरनालाई हेर्नका लागि तयार हुन सिनेमाहलमा दर्शकको सङ्ख्या नभएको पनि होइन । यो कुरा बुझेर पनि होला अब झरनाले पहिलेजस्तो सिनेमालाई ‘छ्या’चाहिँ नभन्लिन् कि ? यो हाम्रो अनुमान हो ।