२२ हजार घरमा छैनन् मापदण्ड पुगेका शौचालय

२२ हजार घरमा छैनन् मापदण्ड पुगेका शौचालय


– रेजिना गौतम

झापा जिल्लालाई आगामी चैत्र २२ गते खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने निर्णय गरिएको छ । जिल्लास्तरीय खानेपानी तथा स्वच्छता समितिको माघ १९ गते बसेको बैठकले चैत १५ सम्ममा सबै स्थानीय तहलाई खुल्ला दिसा घोषणा गर्ने र चैत्र २२ गते जिल्लालाई पूर्ण खुल्ला दिसामुक्त घोषणा गर्ने निर्णय गरेको जिल्ला स्तरीय खानेपानी तथा स्वच्छता समितिका संयोजक सोम पोर्तेलले जानकारी दिए ।

जिल्लालाई खुल्ला दिसामुक्त घोषणाका लागि अनुगमनका क्रममा विभिन्न मापदण्ड तयार गरिएको छ । जस अनुसार प्रत्येक परिवारको पहुँचमा शौचालयमा हुनुपर्ने, प्रत्येक स्थानीय तह खुल्ला दिसामुक्त हुनुपर्ने लगायत खुल्ला दिसामुक्त गर्नका लागि पहिलो फोकस प्रत्येक घर÷घरमा शौचालय हुनुपर्ने मान्यता अनुसार सबै घरधुरीमा शौचालय निर्माण सम्पन्न भएपछि जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिने संयोजक पोर्तेलले बताए । उनले भने,‘पहिलो फोकस घर नै हो, त्यसपछि सार्वजनिक शौचालयका कुरा पनि आउँछन, चैत १५ सम्ममा सबै घरको पहुँच शौचालयमा पुग्छ, यसमा सबै स्थानीय तहका जनप्रतिनिधिहरू पनि प्रतिवद्ध हुनुहुन्छ ।’

झापामा अझै १३ प्रतिशत घरधुरीमा शौचालय निर्माण हुन बाँकी छ । तर, तोकिएको मितिमै खुल्ला दिसामुक्त घोषण हुँदा पनि शौचालय निर्माण गर्न अझै डेढमहिना बढी समय पर्याप्त भएको अभियान्ताहरू बताउँछन् ।

एकलाख ८२ हजार २१५ घरधुरी रहेको झापामा हालसम्ममा एक लाख ५९ हजार ७५९ वटा घरधुरीमा मापदण्ड पुगेका शौचालय निर्माण भइसकेका छन् । लक्षित समयमा खुल्ला दिसामुक्त घोषणा गर्नका लागि २२ हजार ४५६ शौचालय निर्माण हुनुपर्नेछ । प्रतिशतका हिसावले कुल घरधुरी संख्याको १३ प्रतिशतमा शौचालय निर्माण हुन बाँकी रहेको देखिन्छ ।

झापामा अहिलेसम्ममा साविकका १३ वटा गाविस खुल्ला दिसामुक्त घोषणा भएका छन् । खुल्ला दिसामुक्त भएका साविकका १३ गाविसमा महाभारा, पाँचगाछी, बैगुनधुरा, लखनपुर, बुधबारे, शान्तिनगर, गोलधाप, दुवागढी, धाइजन, खुदुनावारी, जलथल र चकचकी रहेका छन् ।

हालसम्म दुई गाउँपालिका पूर्ण खुल्ला दिसामुक्त घोषणा भइसकेका छन् । जसमा बुद्धशान्ति र कमल गाउँपालिका रहेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापा स्रोतले जनाएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार आठ नगरपालिका मध्ये सबैभन्दा बढी गौरादह नगरपालिकामा ३ हजार ३९८ घर शौचालय बिहिन छन् । दोस्रोमा मेचीनगरपालिका रहेको छ । कुल २५ हजार ७६३ घरधुरी रहेको मेचीनगरमा दुई हजार १४६ घरमा शौचालय निर्माण हुन सकेको छैन। तेस्रोमा भद्रपुर नगरपालिकामा दुई हजार ७४ वटा शौचालय निर्माण गर्न बाँकी रहेको ग्लोबल सरसफाई अभियानका जिल्ला संयोजक विनोद शर्माले जानकारी दिए । त्यसैगरी १७ हजार ८९४ घरधुरी रहेको विर्तामोड नगरपालिकामा एकहजार ७५४ घरधुरी शौचालय विहिन छन् । उता शिवसताक्षी नगरपालिकाका एक हजार १०६ घरधुरीमा शौचालय निर्माण हुन सकेका छैनन् भने अर्जुनधारा नगरपालिकाका १४६ घरमा शौचालय निर्माण हुन बाँकी छ । १५ हजार ४२४ घरधुरी रहेको दमक नगरपालिमा ३ महिना अगावै ११९ घरधुरीमा मात्र शौचालय निर्माण हुन बाँकी रहेको देखिएको थियो ।

आगामी फागुन ७ गते कनकाई नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणा गर्ने निर्णय भइसकेको छ । आठवटा नगरपालिका मध्ये कनकाई नगरपालिका खुल्ला दिसामुक्त हुने पहिलो नगरपालिका हो ।

सातवटा गाउँपालिकामध्ये अब ५ वटा गाउँपालिका खुल्ला दिसामुक्त हुन बाँकी छन्। जसमध्ये विगतमा सबैभन्दा समस्याका रुपमा देखिएका कचनकवल, झापा र गौरीगञ्ज गाउँपालिका रहेको थिए । आदिवासी÷मुस्लिम समुदायको बढी बसोबास रहेका यी गाउँपालिका अन्तरगत कचनकवलमा चार हजार ९४ घरमा शौचालय निर्माण हुन सकेको छैन भने झापामा तीनहजार ४ र गौरीगञ्जमा तीनहजार ४०० घरधुरीमा शौचालय निर्माण गर्नुपर्ने देखिन्छ ।

झापामा २०६८ सालदेखि खुल्ला दिसामुक्त अभियान सुरु भएको हो ।