विश्वकपमा छनोट हुन फलामकै चिउरा चपाउनुपर्ने

विश्वकपमा छनोट हुन फलामकै चिउरा चपाउनुपर्ने


आईसीसी डिभिजन–२ मा उत्कृष्ट प्रदर्शन गरेर विश्वकप छनोट चरणमा प्रबेश गरेको नेपाल आफ्नो अन्तिम खेलमा यूएईसँग पराजित भएको थियो । लिग चरणमा यूएईलाई पराजित गर्न सफल नेपाल फाइनल खेलमा यूएईसँग झिनो रन अन्तरले पराजित भएको थियो । यसरी नेपालको सानदार प्रदर्शनका बाबजुद पनि उपविजेतामै चित्त बुझाउनुपरेको थियो ।

निकै सनसनीपूर्ण रहेको फाइनल खेलमा यूएईले पहिलो ब्याटिङ गर्दै नेपालको सामु २ सय ७८ रनको चुनौती राखेको थियो । यूएईले उक्त योगफल ४ विकेटको क्षतिमा ५० ओभरमा बनाएको थियो । निकै चुनौतीपूर्ण योगफल भए पनि ब्याटिङ पिच भएका कारण नेपालले उक्त लक्ष्य भेट्टाउने अनुमान गरिएको थियो । २ सय ७८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालको सुरुवात पनि राम्रो रह्यो । ओपनरद्वय ज्ञानेन्द्र मल्ल र दिलीप नाथले पहिलो विकेटको लागि ३४ रनको साझेदारी गरेका थिए । त्यसपछि मैदानमा उत्रिएका दीपेन्द्रसिंह ऐरी र ज्ञानेन्द्र मल्लले पनि राम्रै योगदान दिएका थिए ।

फाइनल खेलमा कप्तान पारस खड्काले उत्कृष्ट प्रदर्शन गर्दै कप्तानी पारी खेलेका थिए । पारसले १ सय ३ बलमा १ सय १२ बनाएका थिए । पारसले आफ्नो सतकीय पारीमा ८ छक्का र ३ चौका प्रहार गरेका थिए । खेलको अन्तिम ओभरमा ३ छक्का प्रहार गरेका पारसले नेपाललाई जिताउन अथक प्रयास गरे पनि असफल भएका थिए । परिणाम नेपाल २ सय ७० रनमै सीमित हुँदा यूएई ७ रनले विजयी हुँदै च्याम्पियन बनेको थियो ।

आईसीसी डिभिजन–२ मा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेपछि नेपाल सन् २०१९ मा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगितामा छनोट हुन सफल भएको छ । नेपाल उक्त प्रतियोगिताको समूह ‘बी’मा परेको छ । नेपालसँगै समूह ‘बी’मा आयोजक राष्ट्र जिम्बाबे, अफगानिस्तान, स्कटल्यान्ड र हङकङ रहेका छन् । समूह ‘बी’मा परेका टिमहरूमा हङकङ र नेपालबाहेक अन्य राष्ट्रले एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा यसअघि सहभागिता जनाइसकेका छन् । त्यस्तै, नेपाल र हङकङलाई पनि ट्वान्टी–२० विश्वकप क्रिकेट खेलेको अनुभव छ ।

त्यस्तै समूह ‘ए’मा विश्वच्याम्पियन वेष्टइन्डिज, आयरल्यान्ड, नेदरल्यान्ड, पपुवान्युगिनी र यूएई परेका छन् । १० वटा टिमबीच हुने विश्वकप छनोट चरणमा शीर्ष स्थान हासिल गर्ने दुई टिम आगामी वर्ष सन् २०१९ मा इंग्ल्यान्डमा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् । त्यस्तै शीर्ष तीनमा पर्ने टोलीले एकदिवसीय मान्यता पाउने छ भने पुछारमा रहने दुई टिम रेलिगेसनमा पर्नेछन् । ती टोली डिभिजन–१ बाट घटुवा भएर ‘बी’मा झर्नेछन् ।

नेपाल अहिलेसम्म एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा छनोट हुन सकेको छैन । त्यसैले आगामी १ मार्चदेखि २५ मार्चसम्म जिम्बाबेमा आयोजना हुने विश्वकप छनोट प्रतियोगिता नेपालका लागि अग्निपरीक्षा हुनेछ । समूह ‘बी’मा आयोजक राष्ट्र जिम्बाबे, अफगानिस्तान, स्कटल्यान्ड र हङकङ रहेका हुनाले विश्वकपको यात्रा नेपालका लागि त्यति सहज देखिँदैन । नेपालले शीर्ष स्थान हासिल गरेर विश्वकपको यात्रा तय गर्नुपर्ने बाध्यता छ । यस्तो चुनौतीको पहाडमा विश्वकप छनोट चरणमा नेपालले कस्तो प्रदर्शन गर्ला त्यो प्रतीक्षाको विषय बनेको छ । यदि नेपाल विश्वकपमा छनोट भए त्यो ऐतिहासिक सफलता हुनेछ । त्यसबाहेक यो प्रतियोगितामा नेपालले शीर्ष तीन स्थान हासिल गर्न सफल भए एकदिवसीय क्रिकेटको मान्यता पाउनेछ । यसमा नेपाल कति सफल हुन्छ त्यो नेपालको प्रदर्शनमा भर पर्नेछ ।