मपाईं प्रवृत्ति

मपाईं प्रवृत्ति


राष्ट्रिय सूचना आयोगको पाँचवर्षे रणनीति तर्जुमासम्बन्धी कार्यक्रममा भाग लिन पुगेका एकीकृत माओवादीका नेता अग्नि सापकोटा कार्यक्रम सुरु नहुँदै त्यहाँबाट हिँडे । आयोजकले सापकोटासँगै नेकपा एमालेका परशुराम मेघीलगायत अन्य केही राजनीतिक दलका मझौला नेताहरूको नाम लिएर परिचय सुरु गरेपछि ‘मेरो प्रोटोकल नै मिलेन, यस्तो कार्यक्रममा बोलाउने ?’ भन्दै उनी बाहिरिएका थिए । उनी बाहिरिए पनि आयोजकलाई खासै फरक परेन, कतै केही घाटा परेको भए नेताजीलाई नै पर्‍यो । एक त सूचनाको हकसम्बन्धी ऐनको कार्यान्वयनबारे मुलुकमा के भइरहेको छ ? भन्ने कुराको जानकारीबाट उनी टाढा रहे र अर्कोचाहिँ माओवादीहरू जो सबैको हैसियत एकै खालको बनाउने भन्ने सपना बाँडेर अहिलेको ठाउँमा पुगेका छन् उनीहरूले नै अरूसँग आफ्नो तुलना गर्न नमिल्ने या आफ्नो हैसियत नै नमिल्ने भन्न थालेपछि अरूले त उनीहरूको भनाइ र गराइबीचको फरक टुलुटुलु हेरेर बस्नबाहेक अरू के नै भन्न या गर्न सकिन्छ र ? सापकोटाको यस्तो व्यवहारले यस पङ्क्तिकारलाई दुई वर्षअघि माओवादीकै एक नेतृले गरेको व्यवहारको सम्झना गरायो । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हिमालय टेलिभिजनले गरेको शृङ्खलाबद्ध ‘टक सो’मा तत्कालीन संविधानसभाकी उपाध्यक्ष पूर्णकुमारी सुवेदीले त्यहाँ बोल्न बोलाइएकी अर्की ‘प्यानलिस्ट’को नाम लिँदै भनिन्, उहाँसँग मेरो ‘स्टेटस’ कसरी मिल्छ ? उहाँलाई यो मसँगै राख्ने हो भने म जान्छु, बोल्दिनँ ।’ बोल्न बोलाइएकी ‘गेस्ट’ले यसरी आपत्ति जनाएपछि आयोजकहरूलाई निकै अप्ठ्यारो पर्‍यो र हुन्छ हामी मिलाउँछौँ भन्दै पूर्णकुमारीसँग एकल कुराकानी सुरु गरे । यी नेताजीले आफ्नो हैसियत नै नमिल्ने भनिएकी अर्की महिला चर्चित अधिवक्ता मीरा ढुङ्गाना थिइन् । आफ्नैअगाडि यी सब भइरहँदा अधिवक्ता ढुङ्गानाले निकै अप्ठ्यारो मानिन्, आयोजकले उनीसँग माफी माग्दै अर्को सिफ्टमा वक्ताको रूपमा बसिदिन अनुरोध गरे र उनी बसिन् पनि । पङ्क्तिकारको आँखैअगाडि भएको यो घटनाले त्यतिबेला पूर्णकुमारीलाई हेर्ने दृष्टिकोण नै बदलिदिएको थियो ।
सन् १९९८ मा फिलिपिन्सको राजधानी मनिलामा चाँदनी जोशीलाई भेट्दा अचम्मै लागेको थियो । उहाँको बारेमा धेरै कुरा सुनेको भए पनि देखेकी भने थिइनँ । त्यतिबेला उहाँ संयुक्त राष्ट्रसङ्घीय महिला निकाय युनिफेम (हाल यूएन वुमन) दक्षिण एसियाकी निर्देशक हुनुहुन्थ्यो । दक्षिण एसियाली महिलाले संयुक्त राष्ट्रसङ्घीय निकायमा कमै मात्रामा त्यसप्रकारको सम्मानित पद प्राप्त गर्ने गर्छन् । नेपाल सरकारमा रहेर लामो समय काम गरेको अनुभव उहाँसँग थियो, उहाँकै पालामा सुरु भएको महिला विकासको अवधारणा अहिले मुलुकभरि फैलिएको छ । चाँदनी जोशीसँग एकपटक भेट्न मात्रै पाए जिन्दगीमा ठूलै सफलता प्राप्त हुन्थ्यो भन्ने मान्यता राख्ने महिला विश्वमा धेरै छन् । उहाँ न्युयोर्क जाँदा संयुक्त राष्ट्रसङ्घमा काम गर्ने ‘इन्टर्न’हरूले बुझाउने प्रतिवेदनको एउटा मुख्य पाटो चाँदनी जोशीसँगको भेट र कुराकानी हुन्थ्यो भनेको पनि सुनेकी थिएँ । कतिले आफ्नो व्यक्तिगत विवरणमै उहाँसँग भेटेको र काम गरेको कुरा उल्लेख गरेका छन् । उहाँसँग काम गरेको कुरा उल्लेख मात्रै गर्न पाए विश्वमा जहाँ पनि काम पाइन्छ भन्नेहरू पनि छन् । यूएनको ‘ड्रिम टिम’ अवार्ड प्राप्त चाँदनी जोशी मनिलामा सबै नेपालीसँग हजुर, हजुर भन्दै झुकेर बोलिरहनुभएको थियो । हुँदैहुँदै उहाँले पहिलोपल्ट भेट भएकी आफूभन्दा उमेर, अनुभवलगायतका धेरै योग्यताले सानी यस पङ्क्तिकारलाई पनि हजुर भनेर सम्बोधन गर्दा अप्ठ्यारो पनि लाग्यो । होटलको लबीमा एसिया प्यासिफिकका धेरै महिला–पुरुष उहाँलाई भेट्न प्रतीक्षारत थिए । उहाँ सबैलाई एउटै तहमा राखेर व्यवहार गरिरहनुभएको थियो । कार्यक्रम हलभित्र उहाँको उपस्थिति मानिसको व्यवहारले आफैँमा गरिमामय लाग्थ्यो । सबैसँग झुकेर बोल्ने, के ठूलो के सानो सबैलाई उस्तै व्यवहार गर्ने, असाध्यै नरम बोली–चाली । जिन्दगीमा पहिलोपल्ट आफूप्रतिको भ्रम नै टुटाइदिएको थियो उहाँसँगको भेटघाट र व्यवहारले । कहिलेकाहीँ हामी आफूलाई ‘म पो त’ भनेर प्रस्तुत गरिरहेका हुन्छौँ, तर त्यो ‘म पो त’ भन्ने कुरा ‘उहाँ पो त’ भन्ने कुराका अगाडि धेरै तुच्छ हुँदोरहेछ । कतिपय मानिस आफूले आफैँलाई ‘म यस्तो, उस्तो’ भनेर आफ्नोबारे गफ दिइरहेका हुन्छन् । तर, ऊ कस्तो भन्ने कुरा त उसको व्यवहारले झल्काउने कुरा हो । व्यवहार राम्रो भए ‘उहाँ यस्तो’ भनेर अरूले नै परिचय दिन्छन्, आफूले दिनैपर्दैन ।
कति मानिस कस–कसले आफूलाई नमस्कार गरे, कसले गरेनन् भन्ने कुराको समेत जानकारी राख्दै हिँड्छन् । नमस्कार भन्ने कुरा सम्मान हो, सम्मान आफूले खोज्ने होइन, अरूले दिने कुरा हो र त्यो प्राप्त गर्ने स्थान भने आफूले बनाउने हो । कार्यालयमा कोठाकोठामै गएर हाकिमलाई नमस्कार गर्ने चलन छ हामीकहाँ । नमस्कार भन्ने कुरा त अभिभादन हो, खासमा जसले पहिला देख्यो उसैले गरे पनि हुन्छ । तर, कसैले नमस्कार गरिदिए ठूलो मान्छे भइन्छ भन्ने सोच हामीकहाँ छ । साथै ‘प्रोटोकल’को कुरा पनि औपचारिक ओहोदामा हुँदा विशेष स्थानमा बाहेक अन्त त्यसले खासै अर्थ राख्दैन । जस्तो राजकीय भ्रमणहरूका बेला, विदेशी कूटनीतिज्ञहरूसँगको भेटघाटलगायतका प्रसङ्गमा कस्तो कपडा लगाएर जाने, के बोल्ने, कतिबेला बोल्ने, दायाँ बस्ने कि बायाँ बस्नेजस्ता कुराले निकै अर्थ राख्छ । बाहिर जाँदा सुरुपसुरुप आवाज निकालेर चिया पिउने, नाक कोट्याउनेलगायतका काम गर्ने अनि देशमा चाहिँ मेरो हैसियत मिलेन भन्ने सार्वजनिक जीवनमा रहेकाहरूको सङ्ख्या हामीकहाँ धेरै छ ।
आफूप्रति भ्रम भएका धेरै मानिस यो विश्वमा छन् जो आफूलाई भयङ्कर ठान्छन्, तर वास्तविकतामा खासै केही हुँदैनन्, जोसँग केही खुवी छ उसले आफूलाई मपाईं ठान्दै ठान्दैन । फलेको हाँगो सधैँ निहुरिन्छ र खहरे गडगडाएरै आउँछ भन्ने बुझेकाहरूले आफ्नो हैसियतको कुरा गर्दैनन् । अझ माओवादीहरू त सबैलाई एउटै हैसियतमा पुर्‍याउने नाराका साथ यहाँसम्म आएका हुनाले उनीहरूले जनसमक्ष गर्ने व्यवहार फरक हुँदा राम्रो हुन्छ । सम्मान भन्ने कुरा मागेर पाइने कुरा पनि होइन । राष्ट्रिय सम्मानचाहिँ बरु सरकारमा हुनेहरूको तजबिजको विषय बन्न थाल्यो अब तर अरूले गर्ने इज्जत त कुनै मान्छेका अगाडि बस्दा घट्ने कसैका अगाडि बस्दा बढ्ने भन्ने हुँदैन । हरेक मानिसका आ–आफ्नै प्रकारका योग्यता र क्षमता हुन्छन् । एक–अर्कामा भएका राम्रा कुरालाई उपयोग गर्दा गर्न सकिने कुराहरू धेरै छन् । जब मानिस असल बन्दै जान्छ उसलाई आफूप्रतिको भ्रम टुट्दै जान्छ, उसलाई आत्मबोध हुन्छ कि विश्वमा आफूभन्दा कैयौँ गुणा क्षमतावान र ज्ञानी मानिस धेरै छन् । पद भन्ने कुरा त क्षणिक हो, आज छ भोलि नहुन सक्छ, तर बिनापद पनि प्रतिष्ठा आर्जन गर्न सक्नुचाहिँ ठूलो कुरा हो ।