भक्तपुरमा सेवाग्राहीबाट यसरी असुलिन्छ रकम

भक्तपुरमा सेवाग्राहीबाट यसरी असुलिन्छ रकम


सेवाग्राहीलाई अप्ठ्यारोमा पारेर अनुचित ढङ्गले रकम असुल्ने बानी परेका कर्मचारीहरूले कसरी जनतालाई दुःख दिने गर्छन् भन्ने कुराको उदारहण भक्तपुर जिल्ला प्रशासन कार्यालयमा देखिएको छ । नागरिकताको प्रमाणपत्र लिन नियमानुसार आवश्यक पर्ने सबै कागजातसहित उक्त जिल्ला प्रशासन कार्यालयमा पुगेका एक सेवाग्राहीको काम नगर्न प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेले मातहतको कर्मचारीलाई कार्यालयको आन्तरिक टेलिफोनमार्फत विशेष निर्देशन दिएपछि निजको ‘रकम असुल्ने काइदा’ जानकारीमा आएको हो ।

कार्यालयको कोठा नम्बर २२ मा कार्यकक्ष रहेका भुपेन्द्र पाण्डेले कोठा नम्बर १५ मा रहेका काम गर्ने मातहतका कर्मचारी राम लम्साललाई फोन गरी कागजातमा कुनै खोट देखाई नागरिकता प्रमाणपत्र नदिन निर्देशन दिँदै गर्दा सेवाग्राहीनजिकै रहेका व्यक्तिले सुनेका थिए । पाण्डेको विशेष निर्देशनपछि लम्सालले सम्बन्धित सेवाग्राहीको कागजातमा केही कुरा मिलाउनु पर्छ भनि प्रमाणपत्र दिन आनाकानी गरेका थिए ।

सेवाग्राहीले आफुले पेश गरेको कागजपत्र (जन्मदर्ता, शैक्षिक योग्यता प्रमाणपत्र, बाबु–आमाको नागरिकता, वडा अध्यक्षको सिफारिस, दस्तुर बुझाएको रसिद र आबेदन फाराम)मा केचाहिँ त्रुटी छ भनि ऱ्याख्ऱ्याख्ति पारेपछि लम्साल ‘अक्क न बक्क’ भएका थिए । कागजपत्रमा कुनै खोट नरहेको स्पष्ट हुँदा पनि नागरिकताको प्रमाणपत्र दिन नखोजेको भनी सेवाग्राहीले होहल्ला गर्न थालेपछि लम्साल बाध्य भएर नागरिकता दिने प्रक्रिया अगाडि बढाएका थिए ।

सेवाग्राही सचेत नभई साधारण ब्यक्ति परेका भए मोलमोलाई हुने र मागिएको रकम प्राप्त भएपछि मात्र प्रमाणपत्र उपलब्ध गराउने निश्चित थियो । यसरी भक्तपुर जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रमाणपत्र र पासपोर्ट बनाउन पुगेका सिधासाधा सेवाग्रहीबाट अनुचित ढङ्गले रकम असुल्ने गरेको आज बुधबारको यस घटनाबाट प्रस्ट भएको छ ।