प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु


प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुदुरपश्चिमको धनगढीमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना र कैलाली जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा फाप्ला क्रिकेट मैदानमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको पहिलो दिनको खेलमा घरेलु टोली सुदुरपश्चिम र विभागीय टोली एपीएफले विजयी सुरुवात गरेका छन् । फागुन ९ गते भएको उद्घाटन खेलमा सुदुरपश्चिमले पश्चिमांचल विकास क्षेत्रलाई ५ विकेटले पराजित गरेको छ । त्यस्तै एपीएफले मध्यपश्चिमलाई १० विकेटले पराजीत गर्दै विजयी सुरुवात गरेको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको पश्चिमाञ्चलले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ७३ रन बनायो । पश्चिमाञ्चलका लागि बर्षा रानाले १४ र सरस्वती पुनले १० रन बनाउन बाहेक अन्यले दोहोरो अंक समेत जुटाउन असफल भए । पश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा सुदुरपश्चिमकि लक्ष्मी साउदले ३ र कविता जोशीले २ विकेट लिएका थिए ।

७४ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको सुदुरपश्चिमले १७ दशमलव १ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य भेट्टाएको थियो । सुदुरपश्चिमका लागि विमला भट्टले १८ र कप्तान मञ्जु वोगटीले १२ रन बनाइन् । पश्चिमाञ्चलकी सरस्वती पुनले ३ विकेट लिईन् । खेलको नेपाल वेष्टर्न कलेज वुमेन अफ द म्याच सुदुरपश्चिमकी लक्ष्मी साउँद भईन् ।

दोश्रो खेलमा टस जितेर व्याटिङ गरेको मध्यपश्चिमले १८ दशमलव ४ ओभर सबै विकेट गुमाउदै ३६ रनमै सिमित भयो । मध्यपश्चिमले १० रन अतिरिक्त पाएको थियो । मध्यपश्चिमका लागि गिता गोसाईले १५ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन् । मध्यपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपीएफकी रितु कनौजीयाले ४ विकेट लिईन । ३७ रनको झिनो लक्ष्य सहित मैदान उत्रिएको एपीएफले ४ दशमलव ५ ओभरमा विना विकेटको क्षतीमा लक्ष्य प्राप्त गरेको थियो । एपीएफकी ओपनर ज्योती पाण्डेयले १७ र सिता राना मगरले १२ रनको योगदान दिईन् । खेलको नेपाल वेष्टर्न कलेज वुमेन अफ द म्याच एपिएफकी रितु कनौजीया भईन् ।

प्रतियोगीताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले उद्धघाटन गरेका थिए । उद्घाटन गर्दै सदस्य सचिव फाप्ला क्रिकेट मैदानमा प्याराफीट निर्माणका लागि बजेट विनीयोजन गर्ने बताए । त्यस्तै कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिहले धनगढीलाई क्रिकेटको मात्रै होईन खेलकुदकै शहर बनाउनका लागि पहल भईरहेको बताए ।

प्रतियोगिता अन्तर्गत भोली मध्यामञ्चल र पश्चिमाञ्चल तथा दोश्रो खेल एपीएफ र पुर्वाञ्चल विच हुने प्रतियोगीताका संयोजक बाबुराजा श्रेष्ठले जानकारी दिएका छन् । प्रतियोगितामा ५ विकास क्षेत्र र एक विभागीय गरी ६ टीमले सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले नगद २ लाख पाउनेछन । प्रतियोगिताको मुख्य प्रायोजक सगरमाथा सिमेन्ट रहेको छ ।

– सीताराम ओझा

तस्बिर : अविनाश चौधरी