पूर्वउपाध्यक्ष जोशी राष्ट्रिय तेक्वान्दोमा

पूर्वउपाध्यक्ष जोशी राष्ट्रिय तेक्वान्दोमा


राष्ट्रिय तेक्वान्दो संघ नेपालको फागुन १० गते बसेको कार्यसमितिको बैठकले विभिन्न समितिको गठन गर्दै जिम्मेवारी प्रदान गरेको छ । संघले संगठन समिति, सल्लाहकार समिति र प्रतियोगिता विभाग गठन गरेर जिम्मेवारी प्रदान गरेको हो ।

संघका अध्यक्ष शिव कोइरालाको अध्यक्षतामा बसेको उक्त बैठकले संगठन समितिअन्तर्गत रहेको संरक्षक मण्डलमा तेक्वान्दो खेलका संस्थापक मध्यका एक प्रदीप जोशी (टेकराज)लाई संरक्षक मण्डलको सदस्यमा चयन गर्दै सम्मानित गरेको छ । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता विभागको संयोजकको जिम्मेवारी पनि जोशीलाई दिएको छ ।

साथै उक्त बैठकले संघको सल्लाहकारमा वरिष्ट खेलकुद पत्रकार श्रीविक्रम भण्डारी, वरिष्ट तेक्वान्दो प्रशिक्षक शेरबहादुर थापामगर, राखेपका कानुन शाखाका अधिकृत नारायणराज अर्याल, तेक्वान्दोका धरोधर सितकर राजभण्डारी, शेरवहादुर थापा, गोरेवहादुर थापा र धर्मेन्द्र कार्कीलाई चयन गरेको छ ।

संघको संरक्षक मण्डलको सदस्य र प्रतियोगिता विभागको संयोजकमा सम्मानसहित चयन भएपछि जोशीले ‘अव आफु राष्ट्रिय संघको परिकल्पना सहित अगाडि बढने सो अवसरमा प्रतिवद्धता जाहेर गरेका थिए ।’ तेक्वान्दोको समग्र विकासको लागि मेरो आवद्धता हो भन्दै जोशीले आफु कार्यकारी पदलाई जिम्मेवारीलाई प्राथमिकता दिने बताए । आफु पदमा रहेपनि नरहेपनि तेक्वान्दोको समग्र विकासको लागि सवै खाले जिम्मेवारी पुरा गर्ने बताएका थिए । जोशी नेपाल तेक्वान्दो संघका पूर्व वरिष्ठ उपाध्यक्ष हुन् ।

त्यस्तै, सल्लाहकारमा चयन भएका थापामगरले आफुले सारा जीवन तेक्वान्दोमा नै बिताएको र रगत पसिना सुकाएको स्मरण गराउँदै संघले सम्मानसहित सल्लाहकारमा चयन गरेकोमा खुशी व्यक्त गरेका थिए । थापाले आफ्नो लागि पद ठूलो नभएको प्रकास पार्दै बाहिरै बसेर पनि तेक्वान्दोको विकासको लागि अहम भूमिका निभाउने बताए । साथै राष्ट्रिय तेक्वान्दो संघमा मेरो प्रवेशसंगै अन्य तेक्वान्दोका हस्तीहरु पनि प्रवेशको लागि तयारीमा रहेको खुलासा गरेका थिए ।

तेक्वान्दोका हस्ती प्रदीप जोशी र शेरबहादुर थापाको संघमा प्रबेशले संघलाई उचित मार्गदर्शन प्रदान गर्ने अध्यक्ष कोईरालाले बताए । उहाँहरुजस्तो तेक्वान्दोको हस्ती संघमा प्रवेश गर्नु र जिम्मेवारीलाई आत्मसात गर्नु संघको भविष्यको लागि निकै राम्रो भएको बताए । त्यस्तै यो अवसर जुटाइदिनु भएकोमा संघका उपाध्यक्ष तथा नेपाल तेक्वान्दो संघका पूर्व मुख्य प्रशिक्षक ध्रुव गुरुङप्रति आभार प्रकट गरेका थिए ।

सो अवसरमा संघका बरिष्ठ उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक एकनाथ थापा, उपाध्यक्ष ध्रुव गुरुङ, महासचिव राजकुमार कार्की, कोषाध्यक्ष पदम राना र सचिव राकेश श्रेष्ठको उपस्थिति रहेको थियो ।