‘काठमाडौंको जुम्ला’मा कविता यात्रा

‘काठमाडौंको जुम्ला’मा कविता यात्रा


– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’

यही फागुन ४ का दिन हामी ४५–५० जना कविहरू जोरपाटीबाट पूर्वोत्तर क्षेत्र कागेश्वरीतर्पm लाग्यौँ । अभिनव साहित्य समाज, घुम्ती कवि गोष्ठी, तरेली साहित्य प्रतिष्ठान र मुजुरा मासिकको संयुक्त आयोजनामा भएको कवि गोष्ठीको मुख्य आयोजना भने तेस्रो कागेश्वरी पर्यटन महोत्सव समितिले गरेको थियो । यो ठाउँ गागलफेदी नगरपालिका वडा नं. १ मा पर्दछ ।

जोरपाटीबाट अत्तरखेल, गोकर्णेश्वर, उत्तरगया, नयाँपाटी, सुन्दरीजल र दूधे हुँदै करिब ३–४ किलोमिटर पहाड चढेपछि भेट्न सकिन्छ भने जोरपाटीबाट नारायणटार, दक्षिणढोका, मूलपानी, थली, डाँछी, आलापोट र गागलफेदी हुँदै पहाड चढेर पनि पुग्न सकिन्छ । कतिपयले यस ठाउँलाई काठमाडौंको जुम्ला पनि भन्दछन् ।

हेर्दा साह्रै मनमोहक भए पनि भौगोलिक विकटताले गर्दा यस ठाउँमा जान केही समस्या भने झेल्नैपर्छ । सामान्य अर्थमा भन्नुपर्दा यो क्षेत्र सांसद रामेश्वर फुयालको क्षेत्र भएकाले केही वर्ष यता उहाँको पहलमा कच्ची बाटो बनेको पनि छ र यो पर्यटन महोत्सवको मुख्य आयोजना पनि उहाँकै पहलमा भएको मानिन्छ ।

काठमाडौंबाट पूर्वोत्तर क्षेत्रमा पर्ने कागेश्वरीमा लिच्छविकालीन सभ्यताको बडो भव्य अवशेष देख्न पाइन्छ । यो ठाउँमा गणेश र महादेवको मन्दिरका साथै आधुनिक पारामा बनेको लोकतान्त्रिक शहीद पार्क पनि छ । यहाँ महादेवको बाहन साँढे नभएर काग भेटिँदा अचम्म पनि लाग्न सक्छ । प्रायः महादेवको मन्दिरअगाडि बसाहा हुन्छन्, तर यहाँचाहिँ कागको मूर्ति खडा छ ।

भनिन्छ कुनै समय शिवजी यस जंगलमा आएर बस्दा सँगसँगै काग पनि आएर बस्यो, उसले महादेवलाई दैनिक दूध खोजेर ल्याई चढाउँथ्यो । कतिपय श्रुतिमा काग यमदूतको रूपमा यहाँ आएर बसेको थियो । अर्को थरिको मतमा यमराजले महादेवलाई मृत्युको सूचना दिन पठाउँदा उल्टै काग महादेवसँगै बस्न थाल्यो । कतिपयले चाहिँ महादेव स्वयंले कागको भेष धरेर यहाँ आई बस्दा यो ठाउँको नाम नै कागेश्वर महादेव रहन गयो भनेका छन् । अन्यत्र यसरी महादेव र कागको प्रसंग नपाइए पनि यो ठाउँमा महादेवसँगै कागको पनि प्रसंग परेकाले यसको पुरातात्विक महत्व अझ बढी देखिनु स्वाभाविक छ । तसर्थ यो ठाउँलाई विश्वव्यापीकरण गरिए खोज र अनुसन्धानकर्ताको ध्यान आकर्षित हुने मेरो ठम्याई छ ।

स्थानीय शहीद पार्कमा भएको कागेश्वरी कविता यात्रामा गागलफेदी वडा नं. १ का अध्यक्ष मुकुन्द गजुरेलको सभापतित्व तथा प्राज्ञ डा. जीवेन्द्रदेव गिरीको प्रमुख आतिथ्यता थियो भने ऐतिहासिक उपन्यासकार श्रीप्रसाद घिमिरे (एस.पी. आशा), महाकाव्यकार गोविन्द घिमिरे वेदमणि, डा. शेषराज आचार्य, प्रलेसं काठमाडौं अध्यक्ष बालमुकुन्द कार्की, कणाद महर्षिलगायत थुप्रै विशिष्ट साहित्यकारहरू उपस्थित थिए । कसैले गीत, गजल त कसैले कागेश्वरीको महिमा झल्किने कविताहरू सुनाएका थिए । सो दिन आशु कविता लेखनको आयोजना गरिएको थियो ।

यस प्रतियोगितामा क्रमशः भाग्यशाली अधिकारी, शैलेन्द्र श्रेष्ठ र मेनका पोखरेल निर्णायक थिए भने विजयराज न्यौपाने, ज्यो. रत्ननिधि रेग्मी शुक्राचार्य, रीता खतिवडा, गंगा आचार्य र अस्मिता ढुंगाना पुरस्कृत भएका थिए । आशु कविता लेखनका लागि कागेश्वरीको महत्व, मणिचूड पर्वत, शिवपुरी जलाधार, कागेश्वरीमा पर्यटन, स्थानीय बासिन्दा, यहाँको हरियाली, बागमती, नागमती र शैलमती, वन, पानी र जीवन तथा सुदर नेपाल र हरियो वन गरी ९ वटा शीर्षक दिइए पनि २।३ शीर्षकमा मात्र कविता रचिए भने अधिकांशले कागेश्वरीकै महिमामा कविता सुनाए । धेरैजसो पद्यमुक्त र थोरैले वार्णिक छन्दमा कविता प्रस्तुत गरेका थिए भने केहीले लोकलय र झ्याउरेमा पनि कविता सुनाएका थिए ।

सो दिन सरस्वती तिमिल्सिना, उत्तम विचार, बिनुबाबा भण्डारी, पुष्कर प्याकुरेल, रेशमबहादुर न्यौपाने, कृपा धिमाल, सृष्टि पनेरु, विमल अर्याल, शारदा पराजुली, रञ्जना नेपाल, श्यामसुन्दर कुइँकेल, व्रह्मप्रिय प्रेमस्वरुप, पागल यात्री, नारायण निराशी, डिल्लीप्रसाद दाहाल मूलतिहुन, तारा केसी, नीराजन तिमिल्सिना, रुद्र अधिकारी, प्रदीप राय, सानु शर्मा, माधव परियार, दयाराम अर्याल, सानु पोखरेल, अनिता रेग्मी यात्री, दुर्गा रिमाल, रामचन्द्र खतिवडा, अभ्यस्त यात्री, पुष्पा धमला, दिनेश घिमिरे, अच्युत प्याकुरेल, सुमन पुडासैनी, बैरागी जेठा, गोविन्द नेपाल, कात्यायन, कृतिका श्रेष्ठ, विमला दाहाल, दयाराम अर्याललगायत ५० भन्दा बढी कविहरूले कविता वाचन गरेर वतावरण मन्त्रमुग्ध बनाएका थिए । कार्यक्रमका उद्घोषक परशरुाम पराजुलीले बीच बीचमा कागेश्वरीको वर्णनमा रोचक कविता जोडेर आकर्षक पस्तुति गर्नुभएको थियो ।

यसै सन्दर्भमा प्रजातन्त्र दिवस फागुन ७ गते तेस्रो कागेश्वरी पर्यटन महोत्सवको उद्घाटन गर्दै क्षेत्र नं. ५ का सांसद् एवं प्रमुख अतिथि इश्वर पोखरेलले यो क्षेत्रको धार्मिक तथा सांस्कृतिक विकासका लागि पार्टी र सरकारको तर्फबाट सक्दो सहयोग गर्ने वचन दिनुभयो । तेस्रो कागेश्वरी पर्यटन महोत्सवका संयोजक धनबहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं ३ का सांसद् कृष्णकुमार राई, प्रदेश सभासद् रामेश्वर फुयाल, मेयरहरू कृष्णहरि थापा, सुवर्ण श्रेष्ठ तथा सन्तोष चालिसेको पनि उपस्थिति थियो । सो उद्घाटन समारोहमा सूर्यमणि आचार्य, शर्मिला बस्नेतले गीत, रमेश दुलालले प्रहशन, गान्धी आदर्श माविले राष्ट्रिय गान, रत्ननिधि रेग्मी शुक्राचार्य, अस्मिता ढुंगाना र समीक्षा थापाले कागेश्वरीको कविता, केही विद्यालयले गीत तथा नृत्य र स्थानीय परम्परा झल्कने लाखे नाच पनि प्रस्तुत गरेका थिए ।

बाँसुरी वादन, नृत्य, विभिन्न वेशभूााका झाँकीहरू पनि प्रस्तुत गरिए भने कवि गोष्ठी र महोत्सव उद्घाटन समारोहमा ज्ञानुमाया तामाङले भुटेका मकै र भटमास तथा गुन्दु्रक खाजा ख्वाउनुभएको थियो । त्यस दिन कागहरू बोलाएर काग सम्मेलन गर्ने भनिए पनि अन्तिमसम्म त्यसो भएन । धेरै मानिस रमेश दुलालले काग बोलाएको हेर्न लालयित भएर साँझसम्म कुरेर बसेका थिए । उद्घाटन समारोहमा केही सुधार्नै पर्ने कमजोरी पनि देखिए । पत्रकार तथा साहित्यकारका लागि बस्ने ठाउँसम्म भएन । म स्वयं नै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सदस्य हुँ, एक पुरानो लेखक, ज्योतिर्विद् र कवि पनि हुँ, उद्घोषक मुकुन्द गजुरेलजीले चिनेकै भए पनि मैले दिनभरि उभिएर बिताएँ । बेलुका फर्किंदा साँझ झमक्कै परिसकेकाले उहाँदेखि हिँड्नुपऱ्यो । मेरा लागि आयोजकले यातायातको कुनै व्यवस्था गरिदिएनन् । सांसद् कृष्णकुमार राईसित पनि अनुरोध गरें, उहाँले चढेको गाडीमा हामी नेपालीको रगत् पसिना भए पनि हामीले त्यसमा झुण्डिएर आउन पाएनौं । आलापोटसम्म हिँडेपछि एउटा ट्रकमा थलीसम्म आएर त्यहाँबाट हिँडेर राती साढे नौ बजे म बासस्थान आइपुगें ।

म यस्ता महोत्सवमा धेरै जिल्ला पुगेको छु तर यहाँजस्तो काँठे स्वभाव अन्यत्र कतै व्यहोरेको छैन । अन्यत्र त यसरी कहिल्यै उभिएर बिताउनु परेको थिएन । पत्रकारको भन्दा राजनीतिक कार्यकर्ताको बढी मानभाउ भएको देखियो । यो एक विडम्बना हो भन्ने मलाई लाग्छ, म स्वतन्त्र विचार भएकाले पनि अलिक राजनीतिक पूर्वाग्रह राखिएकै हो कि भन्ने ठम्याएँ । कागेश्वरीको यात्रापछि मैले यस्तै महसूस गरेको छु । तर केहीले गरेको यो व्यवहार म सम्पूर्णमाथि लगाउन चाहन्नँ । स्थानीय व्यक्तिहरूको व्यापक सहभागिता थियो । कार्यक्रममा गोठाटारेलीहरूको सहभागिता महिमालायक थियो । शंकरापुर, गागलफेदी र कागेश्वरी मनोहरा नगरपालिकाका स्थानीय बासिन्दाको उत्साहपूर्ण सहभागिता रहेको यो महोत्सवलाई व्यापक बनाउन सकेमा सार्थक हुन्छछजस्तो मलाई लाग्छ ।

मैले त आफ्नो कवितामा यस ठाउँलाई स्वर्गसित तुलना गरेको छु । जस–कसैले पनि यो ठाउँको भ्रमण गरेमा आनन्दको अनुभूति गर्न सक्छन् । कागेश्वरी काठमाडौं शहरबाट त्यति टाढा पनि होइन, यहाँका छाँगा, छहरा, मणिचूपर्वतको विशाल श्रृंखला, सल्लाका हरिया रुखवृक्ष, तल फेदीको उर्वरा फाँट, यहाँबाट हेर्दा देखिने सुन्दरीजलको मनमोहक दृश्य वर्णन गरेर कहिल्यै सकिँदैन । शहीदपार्कको केही तलबाट तेर्सिएपछि पर सानो छहरा, छहरामाथि ढुंगे पहाड, बीचमा शिवमन्दिर र अगाडि बसेको काग रोमाञ्चित दृश्य हेरेर कहिल्यै नअघाइने खालको छ । यहाँ पुगेपछि जसकसैलाई पनि सहजे फर्किन मन लाग्ने छैन । तपाईंहरू पनि अवश्य यो ठाउँमा पुग्नुहोस् र स्वर्गीय आनन्द अनुभूति गर्नुहोस् । म यहाँको पर्यटनमा यथेष्ट विकास होस् भन्ने अपेक्षा राख्छु ।