म दुई सन्तानकी आमा । मैले उनीहरू भोकाएको बेला खाना दिएर, पढ्न स्कुल पठाएर र उनीहरूको चाहनालाई पूरा गरेर म एक सफल आमा भए भनेर मख्ख पर्दै बसेकी थिएँ । तर, सन्तानप्रति त्यति ध्यान दिनु मात्रै पर्याप्त हुँदो रहेनछ । म सफल आमा बन्न सकेकी रहिनछु भन्ने मलाई धेरै पछि मात्र महसुस भयो ।
म काम गर्नका लागि इजरायल पुगेको बेला म बसेको घरको छिमेकी मेरिनासित राम्रो मित्रता भएको थियो । उनका तीन छोरी मात्र थिए । जेठी छोरी त त्यो बेला सरकारले दिने दुईवर्षे सैनिक तालिममा गएकी थिइन् । दुई छोरी र श्रीमान्–श्रीमती थिए घरमा । प्राय: मेरिना र म दिउँसो उनका छोरी र श्रीमान् बाहिर भएको बेला एक–अर्काको घरमा हुन्थ्यौँ । एक दिन बिहानै मेरिना र उनका श्रीमान् मेरो घरमा आएर मेरो घरमालिक याकुव र हानासित हिब्रु भाषामा के–के कुरा गरे । त्यो बेलासम्म म हिबूको दश वाक्य पनि राम्ररी बोल्न जान्दिनथेँ । अरूले बोलेको पनि ज्यादै कम बुझ्दथेँ । त्यसैले उनीहरूको वार्ता मैले बुझ्न सकिनँ । त्यसैले मैले त्यतातिर ध्यान नै दिइनँ । उनीहरू कुरा गरुञ्जेल आफ्नै कोठामा आएर टीभी हेरेर बसँे ।
झन्डै आधा घन्टापछि याकुवले मलाई बोलायो । म गएँ उनीहरूको सामु । याकुवले भन्यो, ‘निक्कीका लागि मेरिना र तिमी आज डाक्टरकोमा जाऊ ल ?’ ‘किन के भयो र निक्कीलाई ?’ मैले मेरिनातिर फर्केर प्रश्न गरेँ । जवाफ मेरिनाको श्रीमान्ले दियो, ‘निक्कीको महिनावारी पनि सुरु भइसक्यो, तर उसको व्यवहारमा कुनै परिवर्तन आएन । त्यसैले डाक्टरकोमा लिएर जान याकुव र हानासित सल्लाह गर्न आएको ।’
निक्कीको नितान्त व्यक्तिगत र महिनावारीको कुरा आएपछि मैले कुरा सुरु गरेँ । म महिलासित त खुलेर कुरा गर्न सक्थेँ हुँला, तर मेरिनाको श्रीमान् र आपूmले बाबुको स्थानमा राखेको याकुवको अगाडि म यस्तो विषयमा कुरा गर्न सक्ने संस्कारमा हुर्किएकी महिला थिइनँ । त्यसैले मैले कुरा टुङ्ग्याउन खोज्दै भने, ‘कहिले जाने ?’ ‘भोलि निक्कीको स्कुल बिदा छ, भोलि नै जाने हुन्न ?’ मेरिनाले भनिन् । म सहमतिको टाउको हल्लाएर फेरि आफ्नै कोठामा आएर बसेँ । मेरो मनमा त जिज्ञासा आएको थियो– महिनावारी सुरु भएपछि के भएछ ? के परिवर्तन हुनुपर्ने हो र भएनछ त ?
भोलिपल्ट मेरिना र निक्की आए मलाई लिन । हामी गयौँ डाक्टरकोमा । उनीहरूले डाक्टरसित समय लिइसकेका थिए होलान् । हामी अस्पताल होइन डाक्टरको घरमा नै गयौँ । घरको तल्लो तलाको दुईवटा कोठामा उनले क्लिक्लिक बनाएकी रहिछिन् । डाक्टर अमेरिकन नागरिक हिब्रुभन्दा अङ्ग्रेजी नै बोल्न रुचाउने । हामी डाक्टरको कोठाभित्र पस्नासाथ डाक्टरले निक्कीलाई बाहिर बस्न लगाइन् । मेरिना र म डाक्टरको अगाडि थियौँ । मेरो मनमा त हिजोदेखि नै कुतूहल थियो नै । त्यसैले म चुपचाप मेरिनाको कुरा सुन्न थालँे ।
निक्कीको स्तन समयभन्दा ६ महिनाजति पछि मात्र बढेकोजस्तो लाग्यो रे मेरिनालाई । उनले निक्कीको प्रत्येक व्यवहारमाथि विचार गरिरहेकी थिइन् रे । समयमै महिनावारी पनि सुरु त भएछ । तर, महिनावारी सुरु भए तापनि उसमा परिवर्तन देखिएन रे । ओ हो उ फेरि उही चेन्ज नआएको गुनासो । आखिर के चेन्ज चाहिएको हो मेरिनालाई ? अब मेरो धैर्यको बाँध टुट्यो । मैले प्रश्न गरेँ– आखिर तिमी के चेन्ज चाहन्थ्यौ छोरीको व्यवहारमा ?
‘उसले अहिलेसम्म परिवार नियोजनका अस्थायी साधन जस्तै कन्डम आफुसित राखेकी छैन । यस्ता कुरा राख्ने मात्र होइन उसको त कुनै केटाप्रति गहिरो आकर्षण नै पनि छैन । उसले अहिलेसम्म ब्बाइफ्रेन्ड पनि बनाएकी छैन । मेरी छोरीको शरीरमा के कमी भयो ? मैले के गर्नुपर्यो ?’ मेरिना डाक्टरतिर फर्किई ।
डाक्टरले सोधिन्, ‘छोरीको चाहना बढी केमा देखिन्छ ? उनी समय केमा बढी बिताउँछिन् ?’ जवाफमा मेरिनाले भनिन्, ‘टीभीमा स्पोर्टस् हेर्नु अनि पढ्नु । कहिलेकाहीँ समुद्रतिर जान्छे पौडिन । त्यत्ति हो ।’
डाक्टरले निक्कीलाई बोलाइन् र उनलाई जाँच्नका लागि हामीलाई बाहिर निकालिन् । केही बेरपछि हामीलाई पनि भित्र बोलाइयो । मेरा लागि यो अनौठो रोग थियो भने मेरिनाको लागि चिन्ताको विषय । जाँचिसकेपछि डाक्टरले भनिन्, ‘सानैदेखि निक्कीले पढ्नुपर्छ भन्दै सुन्दै आएकी र दिदीले राम्रो नम्बर ल्याउँदा उनले बाबु–आमाबाट कम स्यावासी पाउने गरेकोले एक शब्द थ्याङ्क्यु आफूले पहिले सुन्न पाइयोस् भनेर उसको सबै ध्यान पढाइमा गयोे । महिनावारी सुरु हुनुभन्दा पहिलेदेखि नै उसलाई पनि केटासाथी बनाउने चाहना त आएको थियो । तर, पढाइमा डिस्टर्ब होला कि भनेर उसले केटासित मित्रता नगरेको रे ।’
ओ हो कस्तो डाक्टरी परीक्षण ? अनि कस्तो बिरामी ?? मेरिना पनि आमा हुन् र म पनि आमा । उनी उनको छोरीको व्यवहार परिवर्तन भएन उसले ब्बाइफ्रेन्ड बनाइन भनेर चिन्तित भएकी थिइन् भने म सधैं छोरीलाई केटाभन्दा केटीलाई नै साथी बनाऊ ल भनेर भन्ने गर्दथेँ । छोरीको महिनावारी सुरु हुँदा स्वास्थ्यसम्बन्धी अपुरो मात्र ज्ञान मैले छोरीलाई दिएकी थिएँ । उसको व्यवहारमा के परिवर्तन भएको छ ? त्यसमा त मैले कहिल्यै ध्यान नै दिइनँ ।
एउटी छोरीका लागि महिनावारीलगायत यौनशिक्षाको जानकारी दिन आमाभन्दा नजिक र पहिलो शिक्षक को नै हुन सक्दछ र ? तर, म आफूलाई सफल आमा भन्न सुहाउने ठाउँ कहाँ रहेछ त ? म त मेरी छोरीका लागि कहिल्यै पनि असल शिक्षक बन्न सकिनछु । मजस्ता आमा कति होलान् ?
प्रतिक्रिया