– मनिता चाम्लिङ
धरानमा ११ दिवसीय प्रादेशिक महोत्सव शुरु भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सव एक कार्यक्रमका बीच प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले धरानलाई स्मार्ट सिटी बनाउन पहल गरिने बताए ।
उनले प्रदेश नं. १ अन्तर्गतको धरान शहर शिक्षा, स्वास्थ्य र पर्यटनले भरिपूर्ण भएकाले स्मार्ट सिटी बनाउने अवधारणा ल्याईन लागेको बताउदै धरानमा एयरपोर्ट र भेडेटार–बराहक्षेत्रसम्मको केवलकारको सम्भावना खोजिने समेत बताए ।
सोही क्रममा उनले संविधानसभाबाट जारी भएको संविधानलाई कार्यान्वयन गर्न संघीय संरचना अन्तर्गत तीन तहका सरकार पूर्ण रुपमा गठन भइसकेको अवस्थामा अब देश आर्थिक समृद्धिको बाटोमा प्रवेश गरेको बताउँदै आफ्नो एक मात्र अर्जुनदृष्टि विकास र समृद्धिमा हुने बताए । विकाश र समृद्धिमा फुटेर नभई जुटेर गर्नुपर्ने बताउँदै मुख्यमन्त्री राईले भने ‘अहिले उद्योगहरु जिर्ण अवस्थामा छन् । ती उद्योगलाई सुचारु गराउन र नयाँ उद्योग स्थापनाका लागि प्रदेशसभाले छिट्टै कानुन बनाउने तयारी गरेको छ ।’
साना तथा घरेलु उद्योगको लागि संरक्षण, प्रवद्र्धन गर्न, ठुला उद्योगको विकाश सुरक्षाका लागि उद्योग–व्यवसायलाई सहि नीति योजनाका साथमा समृद्धि सँंगसंँगै लिएर जान चाहेको उनको भनाई थियो । मुख्यमन्त्री राईले यस प्रादेशिक महोत्सवले स्थानीय उद्योग र व्यापारका अतिरिक्त कृषि, शिक्षा, स्वास्थ्य पर्यटन क्षेत्रलाई प्रोत्साहन गर्ने भएकाले १ नं. प्रदेशको निम्ति उपलब्धिमुलक हुने बताए ।
‘१ नं. प्रदेश सम्भावना नै सम्भावनाले भरिपुर्ण प्रदेश हो,’ उनले भने, संसारकै अग्लो सगरमाथा र सबैभन्दा होचो अरुण उपत्यका र ८ हजार मिटर भन्दा अग्ला ६ वटा हिमाल मध्ये ५ वटा हिमाल यसै प्रदेशमा भएकाले १ नं. प्रदेशलाई विकाश समृद्धिमा नेपालकै १ नं. बनाउन सकिने उनको भनाई थियो ।
कार्यक्रममा प्रदेश सभामुख प्रदिप भण्डारी, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश थपलिया, प्रदेश सरकारका कानुनमन्त्री हिक्मत कार्की, उद्योग पर्यटन तथा वातावरणमन्त्री जगदिश कुशियत, नेपाली कांग्रेस १ नं. प्रदेशका संसदीय दलका नेता राजिव कोइराला, धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
आयोजक संस्था सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र साहको सभापतित्वमा सम्पन्न भएको उद्घाटन समारोहमा महोत्सवका मुल आयोजक समितिका संयोजक विजय श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिएभने संघका महासचिव शिवराज श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।उद्घाटन कार्यक्रमअघि आयोजित विभिन्न जातिय संघ–संस्थाहरुको झाँकीले धरान नगर परिक्रमा समेत गरेको थियो ।
यही फागुन २१ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा १ सय ५२ वटा स्टलहरु रहेका छन् । जसमा दैनिक उपभोग्य सामानहरु, अटोमोबाइल्स, मदिराजन्य एवं सूर्तिजन्य,सूचना प्रविधि, ईलेक्ट्रोनिक्स, कृषिजन्य तथा जडिबुटी, हस्तकला तथा जातीय भेषभूषाका सामग्री, औद्योगिक सामग्रीहरु, एक गाउँ एक उत्पादनका वस्तुहरुको प्रदर्शन एवं बिक्रीका स्टलहरु रहेका छन् । साथै पोखरा र चितवनका रेष्टुरेण्टका आकर्षक परिकारकाहरु पनि स्टलमा राखिएका छन् । त्यस्तै, बाल उद्यान, रोटे पिङ, लगायतका खेल रहेका छन्भने हरेक साँझमा आदिवासी जनजाति हरुका विभिन्न सांस्कृतिक प्रस्तुति रहनुका साथै नेपालका ख्याति प्राप्त कलाकारहरुको कन्सर्टको आयोजना गरिएको छ ।

प्रतिक्रिया