नाम तथा केन्द्र परिवर्तन बारे स्पष्ट जानकारी पठाउन निर्देशन

नाम तथा केन्द्र परिवर्तन बारे स्पष्ट जानकारी पठाउन निर्देशन


-विजय दमासे

स्थानीय तहको नाम तथा केन्द्र परिवर्तन बारे संघीय तथा स्थानीय विकास मन्त्रालय नै अनविज्ञ रहेको पाइएको छ ।

आठ गाउँपालिका तथा एक नगरपालिकाले स्थानीय तहबाट नाम तथा केन्द्र परिवर्तन गराउने निर्णय गरेतापनि उनीहरुले केन्द्रमा स्पष्ट जानकारी नदिदाँ मन्त्रालय अनविज्ञ रहन पुुगेको हो ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका, पाँचथरको फागुनन्द गाउँपालिका, इलामको रोङ गाउँपालिका, दोलखाको गौरीशंकर गाउपालिका, गोरखाको धार्चे गाउँपालिका, रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिका,दाङको राजपुर गाउँपालिका, सोही जिल्लाकै शान्तिनगर गाउँपालिका, डडेलधुराको भागेश्वर गाउँपालिकाले स्थानीय तथा नगरसभाबाट नाम तथा केन्द्र परिवर्तन गराएतापनि संघीय तथा स्थानीय विकास मन्त्रालयलाई जानकारीनै दिएका छैनन् ।

ती नगर तथा स्थानीय तहलाई मन्त्रालयले दिएको निर्देशनमा यसबारेमा तत्काल मन्त्रालयलाई जानकारी दिन भनिएको छ । मन्त्रालयले नाम तथा केन्द्र परिवर्तन बारे अनविज्ञता देखाउँदै,‘गाउँ तथा नगरको नाम एवं केन्द्र हेरफेर गर्ने सम्बन्धी प्रस्ताव सभामा कहिले पेश भएको हो ?’ भनि सोधेको छ ।

यस्तै, प्रस्ताव पेश गरेको मितिदेखि पारित भएको मितिसम्म निरन्तर रुपमा छलफल भएको वा भएको होइन भनि जानकारी दिन भनिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जारि गरेको स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ अनुसार स्थानीय तहको नाम र केन्द्र परिवर्तन गर्न सकिन्छ ।

जसमा गाउँपालिका तथा नगरपालिकाको पहिलो निर्वाचन भएको मितिले ६ महिनाभित्रमा सम्बन्धित सभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट एकपटकका लागि स्थानीय तहको नाम, केन्द्र वा दुवै परिवर्तन गर्न सकिने उल्लेख छ ।

गाउँ तथा नगरसभाबाट नाम वा केन्द्र हेरफेर गर्नका लागि प्रस्ताव पारित गरी सरकारलाई सिफारिस गरिएको खण्डमा सरकारले सो सिफारिस अनुसार गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र फेरिएको घोषणा गर्नुपर्ने कानूनी व्यवस्था छ ।