प्रयोगबिना कवाड बन्ने भयो नयाँ बारुणयन्त्र

प्रयोगबिना कवाड बन्ने भयो नयाँ बारुणयन्त्र


– प्रणय साह (पर्सा)

जिल्लाको दोस्रो सदरमुकामको रुपमा रहेको पोखरिया नगरपालिकामा नयाँ बारुणयन्त्र केहि महिनादेखि अलपत्र अवस्थामा छ । ग्रामीण क्षेत्रको पहिलो बारुणयन्त्र भएको पोखरिया नगरपालिकाले ईलाका प्रहरी कार्यालय पोखरियामा थन्किएर रहेको छ ।

पर्सा जिल्लाको सदरमुकामबाट १८ किमी पश्चिम दूरीमा रहेको पोखरिया नगरपालिकाले बारुणयन्त्र सात महिना पहिला खरिद गरे पनि अलपत्र अवस्थामा राखेको छ । ग्रामीण क्षेत्रहरूमा आगलागी भएपछि भौतिक क्षतिको साथै मानवीय क्षतिसमेत हुँदै आएको लगडीका स्थानीय जितेन्द्र शर्माले गुनासो गरे ।

पोखरियाबाट २४ किमी दूरीमा ठोरी, १५ किलोमिटर दूरीमा बिरुवागुठी, १२ किलोमिटर टाढा भिस्वा बोर्डर, १५ किमिमा अमरपटी बोर्डर, १५ किलोमिटर दुरीमै सोनवर्षा जंगल क्षेत्र र १८ किलोमिटर दूरीमा सदरमुकाम वीरगञ्ज रहेकोलले पोखरिया नगरपालिकामा न्यु बारुणयन्त्र सञ्चालन गर्नु आवश्यक ठानिन्छ । यसआधारमा बारम्बार आग्रह गर्दा पनि कुनै सुनवाई नभएको नेपाल रेडक्रस सोसाइटी पर्सा उपशाखा पोखरियाका सभापति भगवान कुर्मीको गुनासो छ ।

अब गर्मी तथा हावाहुरीको दिन शुरु भएपछि आगलागी हुने खतरा बढेको कारण ग्रामीण क्षेत्रका सर्वसाधारणमा चिन्ता छाएको छ । ग्रामीण क्षेत्रहरूमा आगलागी हुँदा वीरगञ्ज महानगरपालिकामा रहेको बारुणयन्त्रलाई जानकारी दिँदा वीरगञ्जबाट आउँदाआउँदै आगलगीले घर पूर्ण रूपमा जलेर नष्ट हुने र भौतिक क्षतिको साथै मानवीय क्षतिसमेत हुने गरेको कुर्मीले बताए । बितेको तीन महिनामा आगलागीको घटना बढेको छ । मसिहानी गाउँमा आगलगी हुँदा सात घर जलेर नष्ट भएको थियो । यसको सम्बन्धमा पोखरिया नगरपालिकाको मेयर दिपनारायण रौनियारसँग जानकारी लिँदा सात महिना पहिलादेखि बारुणयन्त्र खरिद गरेर राखिएको भए पनि बारुणयन्त्रमा कर्मचारीहरू नरहेको कारण समस्या भएको र छिटै बारुणयन्त्र सञ्चालनको लागि कर्मचारी बहाली गरेर सञ्चालनमा ल्याउन प्रक्रिया अगाडि बढाउने बताए ।

उता, यसै साउन महिनामा आएको विनाशकारी बाढीबाट क्षतिग्रत भएका ठाउँमा रहत वितरण भएको छ । विनाशकारी बाढीबाट क्षतिग्रत भएका किशानहरूलाई राहतस्वरुप जिवीकोपार्जनको लागि बिउ वितरण, बाख्रा वितरण तथा पशुस्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरिएको छ । युएनडिपीको सहयोगमा पर्साको सामुदायिक विकास केन्द्रले पर्सा जिल्लाको विभिन्न ८ वटा स्थानीय तहमा बिउ वितरण, बाख्रा वितरण तथा पशु स्वास्थ्य शिविर जस्ता क्रियाकलाप आयोजना गरिएको हो ।

बाढीप्रभावितहरूको लागि जिवीकोपार्जनमा सहयोग पुर्याउनेमा पर्साको ठोरी, छिपहरमाई, पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिका तथा वीरगञ्ज मनपा, पोखरिया, पर्सागढी र बहुदरमाई नगरपालिकाका ३ हजार घरधुरीलाई १० किसिमका बिउसहितको प्याकेट वितरण गरिएको छ भने ठोरी, पटेर्वासुगौली र छिपहरमाई गाउँपालिकामा ६०० थान बाख्रा वितरण गरिएको छ ।

त्यसैगरी वीरगञ्ज म.न.पाको उदयपुरघुर्मी, पकहामैनपुर गापाको सबैठवा र पटेर्वा सुगौली गाउँपालिकाको सुगौलीमा आयोजना गरिएको पशु स्वास्थ्य शिविरमा ५२० गाई वस्तु र ५२५ पंक्षीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । सामुदायिक पुर्वाधार तथा जीवीकोपार्जन कार्यक्रमअन्तर्गत सम्पन्न यी क्रियाकलापहरुबाट बाढीपीडितहरूको पोषण तथा जीवीकोपार्जनमा निकै सहयोग पुगेको पर्सा सामुदायिक विकास केन्द्रको अध्यक्ष प्रभात मिश्रले बताए ।