—शोभा त्रिपाठी
कठिन परिस्थितिमा बडो यत्नका साथ निर्माण भएको वर्तमान बाबुराम भट्टराई नेतृत्वको सरकारको प्रतिपक्षी दलहरूद्वारा विरोध हुँदै आएको छ । पदबाट हट्न एकोहोरो आग्रह गर्दै आएकोमा कुनै तर्क र कारणबाट सम्भव नदेखिएपछि प्रमुख विपक्षी दलहरू सरकारविरुद्ध सडक आदोलनमा जाने निर्णयमा पुगेका छन् । यसरी प्रधानमन्त्री डा. भट्टराईप्रति विपक्षी दलहरू यति धेरै असहिष्णु बन्नुको कारकतत्व के छ भनी खोज्दा बाबुरामका गल्ती–कमजोरी पनि खास केही देखिँदैन । विरोधीहरूले जे–जस्ता तर्क दिँदै आएका छन्, यदि त्यसमा कुनै ‘दम’ थियो भने विरोधको यति लामो शृङ्खला अवश्य पनि निष्फल जाने थिएन होला । आमतहबाट हेर्दा देखिएको आधारमा त यस्तै भन्नुपर्ने हुन्छ । आखिर भट्टराई र उनले नेतृत्व गरेको सरकारको यति सस्तो विरोध किन उरालिएको छ त ?
प्रधानमन्त्री बाबुराम भट्टराई आमजनताले सोचेअनुरूप सक्षम सावित नभएकै होलान् । तर, जुन स्तरबाट विरोध गरिएको छ त्यो सुहाउँदो भने पटक्कै छैन । पूर्वाग्रहबाट प्रेरित भएर कसैको विरोध गरिन्छ भने त्यसले विरोध गर्नेकै मानमर्दन हुन्छ । अहिले यस्तै देखिएको छ । भट्टराई के कारणले प्रधानमन्त्री रहन अयोग्य भए भन्नेमा चित्तबुझ्दो तर्क कसैले दिन सकेका छैनन् । उनले छोडिदिएपछि कसको नेतृत्वमा सरकार गठन गर्ने हो त्यो पनि निश्चित छैन । त्यसपछि कुन रूपमा अघि बढ्ने हो ? देशलाई कुन दिशा दिने हो ? यस्ता कुनै पनि प्रश्नको जवाफ कसैले दिन सकेको छैन । फगत ‘बाबुराम भट्टराई हट्नुपर्छ, हट्नैपर्छ’ भन्ने एकोहोरो सुगारटाई विपक्षी दलहरूले गरिरहेका छन् । यसले यही सन्देश दिएको छ कि यत्तिका नेतामा देशप्रति चिन्तित, व्यक्तिगत स्वार्थबाट टाढा त कोही पनि देखिएनन् ।
के प्रधानमन्त्री भट्टराईले जिम्मेवारीबाट अलग हुनेबित्तिकै समस्या फूमन्तर भइहाल्छ त ? निश्चय पनि हुन सक्दैन । किनकि अक्षम नेताहरूले राजनीतिक कसिङ्गरको डुङ्गुर नै लगाइसकेका छन्् कि त्यसलाई एकैपटक डम्पिङसाइडमा पुर्याउने बँुता कसैमा छैन । अनि देशका लागि केही गर्न नखोजेकै हुन् त डा. भट्टराईले ? कि उनीसँग कुनै भिजन नै छैन ? उनको विद्वता मिथ्या नै हो त ? हात्तीको देखाउने दाँत भनेजस्तो मात्रै हो उनको पीएचडी उपाधि ? कि चाहेर पनि केही गर्न नदिएको अवस्था हो ? यस्ता प्रश्नको थुप्रोमा पसेर जवाफ केलाउँदा विरोधीले आक्षेप लगाएजस्तो बाबुरामको अक्षमता त कतै प्रकट हुँदैन । बरु उनलाई असहयोग गरेर जबर्जस्ती असफल सावित गर्ने प्रयत्न भइरहेझैँ लाग्दछ । राजनीतिक सङ्कटमा मुलुक परेको यस परिस्थितिमा सत्ताको हानथाप नगरी किनारा लगाउनैपर्ने मुद्दाहरूमा सबैको ध्यान केन्द्रित हुनुपर्ने हो । राजनीतिक दलहरूको सहयोगको त कुरै छोडौँ प्रधानमन्त्रीलाई राज्यकै कतिपय अङ्गहरूले समेत सघाइरहेका छैनन् भन्ने बुझिन्छ । आर्थिक, भौतिक, नैतिक रूपले सघाउनुपर्ने निकायहरूले नसघाइदिएपछि एउटा व्यक्तिले मात्र के गर्न सक्छ ? के बाबुराम भट्टराईसँग मात्रै कुनै जादुको छडी छ र ?
एकतिर यी सवाल छन् भने अर्कोतर्फ बाबुराम भट्टराईलाई आफ्नै परिवारबाट पनि सहयोगको साटो बिघ्नबाधा खडा भइरहेको त छैन ? यो पाटोबाट पनि हेर्नु सान्दर्भिक होला । जानाजान मात्र होइन, अन्जानमै पनि, नगरूँ भन्दाभन्दै पनि अर्थात् सहयोग गरूँ भन्दाभन्दै पनि कहिलेकाहीँ असहयोग पुगिरहेको अवस्था हुनसक्छ । कसैको काममा जब अर्कोले ‘म पनि जान्ने नै हुँ’ भनेर अनावश्यक र असान्दर्भिक अग्रसरता देखाउन खोज्छ भने पक्कै त्यहाँ केही न केही चुक हुन जान्छ । प्रधानमन्त्रीका परिवारजन, सहयोगी र शुभचिन्तकले विशेष मनन गर्नुपर्ने कुरा हो यो । प्रधानमन्त्रीपत्नीका बारेमा मिडिया तथा अन्य माध्यमबाट पनि आमजनताले अनेक टीकाटिप्पणी सुन्दै आएका छन् । थाहा पाएसम्म उहाँ आफ्नै पहिचान, हैसियत र आफ्नो ठाउँमा विशेष योगदान भएको व्यक्ति पनि हो । तर, सुनिन्छ उहाँ प्रधानमन्त्रीका कतिपय मामलामा आफैँ ‘जान्ने’ बनेर अग्रसरता लिन खोज्नुहुन्छ । प्रधानमन्त्रीलाई सघाउने उद्देश्यले गर्दागर्दै पनि त्यसले उल्टै असहयोग र डा. भट्टराईको छविमा आँच पुगिरहेको हुनसक्छ । सघाउन खोज्दा हितको साटो अहित हुन्छ भने परिवारजनले आफूलाई अलग राखेकै राम्रो होला भनी यहाँनेर भन्नैपर्ने हुन्छ ।
प्रसङ्ग विपक्षी राजनीतिक दलहरूले प्रधानमन्त्रीविरुद्ध घोषणा गरेको आन्दोलनमै जोडौँ । हिजो यिनै दललगायत सबैले बाबुरामको नाममा सहमति जनाएकै हुन् । ‘डा. बाबुराम भट्टराई विद्वान् छन्, विश्वपरिवेश बुझेका बौद्धिक व्यक्ति हुन्, साधारण छन्, कमाउ–धमाउमा लोभ राख्दैनन्, जनताका दु:ख नजिकबाट बुझेका छन्, त्यसैले माओवादी पार्टीको कसैलाई प्रधानमन्त्री बनाउनुपर्छ भने डा. भट्टराईबाहेक अरू स्वीकार्य हुने छैन’, यही भनेका हुन् नेपाली काङग्रेस र एमालेसहितका दल र ती दलका नेताहरूले । यसरी सहमति जनाएकाहरूले बाबुराम प्रधानमन्त्री बनेको भोलिपल्टैबाट विरोध सुरु गर्नुको कारण के हो ? यसको जवाफ आउनुपर्छ । मुलुकको समस्या कहाँनेर छ, कताबाट काम सुरु गर्ने र कसरी टुङ्गोमा पुर्याउने ? आजको समस्या कसरी टार्ने र भोलिको हित कुन बाटोबाट खोज्ने भन्नेमा कसैले रत्तिभर चिन्तन–मनन गरेनन् । आफ्नो यो कमजोरी नकेलाई अर्काको कमी–कमजोरी मात्र खोज्नु बुद्धिमत्ता हुन सक्दैन । यतिखेरको सरकारको परिधि के–कति छ, परिस्थिति के हो, कुन परिबन्दमा काम गर्नुपरिरहेको होला, के यस्ता कुरामा घोत्लिनु पर्दैन ? काम गर्न चाहेर पनि गर्न नदिने परिवेश काङ्ग्रेस–एमालेहरूले नै निर्माण गरिरहेका छन् भन्दा अब पाप लाग्दैन । जनताले पनि सही र गलत बुझ्न नपाउनेगरी भ्रम खडा गरिएको छ भन्नैपर्ने हुन्छ । टेढिएको राजनीतिलाई सोझ्याउने कि झन् बङ्ग्याउने ? भत्किएकोलाई बनाउन दिने कि झन् भत्काएर अस्तव्यस्त पार्ने ? यसका लागि सबैले अहिले नै सोच्ने कि भड्खालोमा जाने ? निर्णय दलहरूकै हातमा छ ।
प्रतिक्रिया