११ वर्षीय बालकसँग अप्राकृतिक मैथुन

११ वर्षीय बालकसँग अप्राकृतिक मैथुन


अप्राकृतिक मैथुन गरेको आरोपमा महोत्तरी जिल्लाको बर्दिवासमा एक जना पक्राउ परेका छन् । बर्दिवास नगरपालिका–१ का करीब ४० वर्षीय अच्युतम रिसाललाई जिल्लाकै गौशाला नपाको लक्ष्मीनियाँका ११ वर्षीय बालकमाथि यौनजन्य अप्राकृतिक क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो ।

बर्दिवास नगरपालिकाको बाल सञ्जालले आर्थिक लेनदेनका बलमा बालयौन दुराचारको घटना मिलाउन लागिएको प्रयासलाई विफल बनाउँदा रिसाललाई पक्राउ गरिएको इप्रका बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेललाई उद्धृत गर्दै राससले जनाएको छ । पीडकले पीडितलाई धम्की दिएर समाजको पञ्चायत (छलफल)बाट ५१ हजार दिएर घटना ढाकछोप गर्न लागेका थिए ।

पीडक रिसालले आफ्नै ठाउँमा मिल्न दबाब दिँदै दुईचार जना बसेर निर्णय गराउँदै रु ५१ हजार दिन आएको पीडित बालकका पिताले बताएका छन् । यही फागुन पहिलो सातामै राति रिसालले बालकमाथि यौनजन्य क्रियाकलाप गरेको आरोप छ ।