महोत्तरीको बर्दिबास पुग्ने जोकोहीका लागि एउटा नामलाई लिएर यो के रहेछ भन्ने खुल्दुली जाग्छ । पत्रिकाको नामदेखि गेस्टहाउससम्म, अटो वर्कसपदेखि पान पसलसम्म जताततै देख्न सकिन्छ, पञ्चधुरा । बर्दिबास पूर्वपश्चिम हाइवेमा भएकाले धेरै मानिस ‘पञ्चधुरा’ लेखिएका साइनबोर्डहरू हेर्दै त्यहाँबाट ओहोरदोहोर गर्छन् । कतिलाई चासो हुन्छ, कतिलाई यो के हो मतलबै हुँदैन । चासो राखे पनि त्यसको जानकारी दिने मान्छे पनि त्यति भेटिँदैन, प्रायले एउटै कुरा भन्छन्–यहाँ नजिकै पञ्चधुरा मन्दिर छ, त्यही मन्दिरको नामबाट यी साइनबोर्डहरू राखिएका हुन् । गत फागुनमा कामविशेषले बर्दिबास पुग्दा स्थानीयवासीबाट यही जवाफ पाइएको थियो । प्राय: जिल्ला जाँदा नजिकको मन्दिर कहाँ छ र कसको छ भनेर सोध्ने क्रममा धेरै देवीदेवताको दर्शन गर्ने मौका मिलेको छ । विभिन्न ठाउँ जाँदा मन्दिरहरूको दर्शन गर्दा एकप्रकारको आत्मसन्तुष्टि प्राप्त हुने गर्छ, साथै तिनको ऐतिहासिक जानकारी राख्ने मौका पनि मिल्छ । बाग्लुङमा बाग्लुङ कालिका, पोखरामा विन्ध्यवासिनी, डडेल्धुरामा उग्रचण्डी, सुर्खेतमा देउती बज्यै, धनगढीमा नैना मन्दिर, जलेश्वरमा जलेश्वर महादेव, नेपालगञ्जमा बागेश्वरी सम्बन्धित ठाउँहरूमा पुग्दा यी चर्चित मन्दिर नपुग्ने कमै मानिस होलान् । यो पङ्क्तिकार पुगेका ठाउँहरूको मात्र नाम यहाँ उल्लेख गरिएको भए पनि यस्ता धेरै ठाउँमा रहेका अन्य देवीदेवताका मन्दिरहरू पनि त्यत्तिकै चर्चित छन् । तर, पञ्चधुरा ऐतिहासिक महत्व बोकेको आश्चर्यजनक स्थानमा रहेको चर्चित देवीको मन्दिर हुँदाहुँदै पनि जुन रूपमा चर्चामा आउनुपर्ने हो त्यो हुन सकेको छैन । यो स्थानमा जो मानिस एकपल्ट पुग्छ उसले जिन्दगीमा निकै अनौठो ‘इम्प्रेसन’ बोकेर फर्किन्छ ।
बर्दिबासबाट ६/७ किलोमिटर पश्चिमको जङ्गलमा अवस्थित पञ्चधुरा माताको बारेमा कसैले सोध्दा स्थानीयवासीहरूको एउटै भनाइ रहन्छ, जंगबहादुर महाराजमाथि भएको घटनाबारे अग्रजहरूले बताएको थाहा छ, अरू थाहा छैन । जमिनमा पानी, बीचमा बाँस झ्याङ, बाँसका लहराले पानीमा छोएको, बेत तथा अन्य रूख र लहराले छोपिएको हेर्दै भयङ्करलाग्दो पृष्ठभूमि, छेउमा मन्दिर, अन्य मन्दिरहरूको भन्दा त्यहाँ वरिपरिको वातावरण नै फरक छ । श्री ३ जंगबहादुर राणासँग इतिहास जोडिएको भए पनि श्री ५ महाराजाधिराजहरूले त्यहाँ दर्शन गरेको कुरा भने कसैले बताएन । जंगबहादुरसँग जोडिएको इतिहास उहाँ सिकार खेल्न पत्थरघट्टामा क्याम्प खडा गरेर बसेको बेला उक्त जङ्गलमा सेतो बाघ देखेको कुरासँग सम्बन्धित छ । ऐतिहासिक उपन्यासकार डाइमण्डशमशेर राणाले ‘सेतो बाघ’ उपन्यास नै लेख्नुभएको छ । सेतो बाघ र पञ्चधुरा माताको मन्दिरवरिपरि अहिले पनि कहिलेकाहीँ देखापर्ने रहेछ । पाँचमुखे र तीनमुखे सर्पचाहिँ बेलाबेलामा देखापर्ने तर सेतो बाघ भने कहिलेकाहीँ मात्रै देखापर्ने स्थानीयवासीको भनाइ छ । श्री ३ जंगबहादुरको मृत्यु र सेतो बाघबीच ठूलो सम्बन्ध रहेको बूढापाकाहरूले बताएको स्थानीयवासी बताउँछन् । सय वर्षका मानिसले आफूले पञ्चधुरा माताको मन्दिरवरिपरि देखेका बाँसहरू बच्चाबेलादेखि नै उस्तै देखेको र आफू बच्चा हुँदा आफ्ना सय वर्षभन्दा बढीका हजुरबुबाले पनि त्यस्तै बताउनुभएको उल्लेख गर्नेहरू धेरै छन् । जतिसुकै खडेरी परे पनि त्यहाँ पानी नसुक्ने पनि उनीहरू बताउँछन् ।
आफ्नो उपन्यास ‘सेतो बाघ’मा डाइमण्डशशमेर राणाले लेखेका छन्, ‘उनी जङ्गलमा पुगे, घोर जङ्गलभित्र पसे, माउतेले हात्तीलाई सिकारको खोजमा चारैतिर घुमाउन थाल्यो, टाढाटाढासम्म पुर्यायो । त्यस दिन महाराजको निसाना ठीकसँग लागेन । उनी रित्तै हात क्याम्प फर्किए । बडामहारानी, आज मैले सेतो बाघ देखेँ, कस्तो रहेछ सरकार ?, निख्खुर सेतो, बडामहारानी आश्चर्यमा परिन् । जंगबहादुरले पनि यसअघि सेतो बाघ कहिल्यै देखेका थिएनन्, आज देखेर जिल्ल परेका थिए । त्यो सेतो बाघलाई सरकारबाट हानिबक्सिएन ? हानेँ तर लागेन भनेर उनी खोक्न थाले । सबैले निशाना चुकाए । सेतो बाघलाई कसैले देखेनछन्, खाली मैले मात्र हानेको थिएँ, लागेनछ । सेतो बाघबारे शङ्का–उपशङ्का सवारी क्याम्पभरि फैलियो । कोही त्यो बाघलाई जङ्गलकी देवी भन्न थाले, कोही भूत भन्न थाले, कसैको विश्वास बाघ हो भन्ने पर्यो । त्यो सेतो बाघ देखापरेको खबर काठमाडौंमा पनि पठाइयो । त्यस दिन सिकारमा जाने जति सबै क्याम्पमा आइपुगेपछि बिरामी परे । कसैलाई ज्वरो आयो, कसैलाई पखाला चल्यो, कोही बमन गर्न थाले, जंगबहादुरलाई पनि सन्चो भएन, भोलिपल्ट उनी सिकार जान सकेनन् ।’
हुन पनि पञ्चधुरा मन्दिर जङ्गलको बीचमा छ । अहिले सडक बनेकाले रूखहरू पातलिएका छन्, गाउँ जाने बाटो बनेको छ । त्यो ठाउँ विक्रमसम्वत् १९३३ सालमा कस्तो थियो होला भनी अनुमान गर्न सकिन्छ । स्थानीय बूढापाकाले भनेको र सेतो बाघमा उल्लेख भएको कुरा मिल्न जान्छ । पछि दृष्टिभ्रम भई साधारण बाघलाई सेतो देखेको भनेर उपन्यासमा उल्लेख भएको कुराचाहिँ सही हो जस्तो लाग्दैन । स्थानीय बूढापाकाहरू भन्छन्– श्री ३ महाराजलाई देवीले सेतो बाघका रूपमा दर्शन दिनुभएको थियो तर उनले त्यसलाई बुझ्न सकेनन् र सिकारका लागि बन्दुक तेस्र्याए । परिणाम उनको मृत्युमा गएर टुङ्गियो । सेतो बाघ देखेको केही दिनमै रगत बान्ता गरेर पत्थरघट्टामा जंगबहादुरको मृत्यु भएको थियो । पुरुषोत्तमशमशेर जबराद्वारा लिखित पुस्तक ‘श्री ३ हरूको तथ्य वृत्तान्त’मा जंगबहादुरलाई सिकारबाट फर्किएपछि अप्ठ्यारो महसुस भएको, रगत बान्ता गरेको, अन्तिम अवस्थामा भित्र चिसो भएकाले बाहिर निस्किएको, बाहिर गर्मी महसुस गरेकाले भित्र छिरेको कुरा उल्लेख गरिएको छ । यसबाट तुरुन्तै गर्मी तुरुन्तै जाडो अकस्मातै अनौठो रोग लागेर मृत्यु भएको बुझ्न सकिन्छ । त्यतिबेला जंगबहादुरका साथमा ६ हजार सेना थिए रे, तीमध्ये अधिकांश बिरामी परेको कुरा इतिहासमा उल्लेख छ ।
यस्तो ऐतिहासिक पृष्ठभूमि भएको पञ्चधुरालाई शक्तिशाली देवीका रूपमा लिइन्छ । आफ्नो देशमा भएका कैयौँ ऐतिहासिक धरोहर र शक्तिशाली पीठहरूको जानकारीबाट नेपालीहरू नै अनभिज्ञ रहेको अवस्थामा अन्य देशका हिन्दूहरूले त्यस्ता ठाउँहरूको दर्शन गर्न सक्ने कुरै भएन । भारतमा भएको भए यस प्रकारका शक्तिपीठलाई के मात्रै गरिँदैनथ्यो होला– हामी अनुमान गर्न सक्छौँ । जेहोस्, पञ्चधुरा माताको मन्दिर र त्यो अनौठो स्थान आफँैमा ऐतिहासिक र आश्चर्यजनक छ । हिन्दू धर्ममा आस्था र विश्वास राख्नेहरूले एकपल्ट पुग्नैपर्ने ठाउँको रूपमा पञ्चधुरालाई लिन सकिन्छ ।
प्रतिक्रिया