इच्छाविपरीत रङ र लोला हान्नेलाई मुद्दा चलाइने

इच्छाविपरीत रङ र लोला हान्नेलाई मुद्दा चलाइने


फागु पर्व (होली)मा अरुको इच्छाविपरीत रङ खेल्ने र लोला हान्नेलाई तत्काल कारबाही हुने भएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले फागुन १७ गतेको फागुलाई लक्षित गर्दै विशेष सुरक्षा योजना नै तयार पारेको छ ।

परिसरका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिएअनुसार कोही कसैले बलजफ्ती गरेर लोला, रङ र पानी हानेमा तत्काल प्रहरीलाई खबर गरे प्रहरी आएर त्यस्ता व्यक्तिलाई मुद्दा चलाउनेसम्मको कारवाही गरिनेछ । होलीमा ट्राफिक नियम उल्लंघन गर्ने तथा सामाजिक आचरणविपरीतका क्रियाकलाप तथा झै–झगडा रोक्न प्रहरीको विभिन्न स्थानमा टोली परिचालन गरिने पनि उनले बताए ।

काठमाडौं प्रहरी परिसरले राजधानीको सुरक्षा व्यवस्था सुदृढ गर्न सर्वसाधारणको सहभागितामा २०० जनाको सूचनादाता समूह गठन गरेको छ । वरिष्ठ उपरीक्षक पोखरेलले अपराधमुक्त राजधानी बनाउने उद्देश्यले गठन गरिएको सो समूहले प्रहरीको गतिविधिदेखि स्थानीय तहमा हुने आपराधिक गतिविधिबारे गोप्यरुपमा प्रहरीलाई सूचना दिने छ । ती युवाको परिचय गोप्य राखिने र उनीहरुले दिएको सूचनाका आधारमा काम कारबाही अघि बढाइने प्रहरीको भनाई छ । बताइएअनुसार उक्त समूहमा चिकित्सक, इञ्जिनियर र विद्यार्थीदेखि सर्वसाधारणसम्म रहेका छन् ।