तेक्वान्दोका महासचिव दीपराजलाई अमेरिकाबाट खुल्लापत्र

तेक्वान्दोका महासचिव दीपराजलाई अमेरिकाबाट खुल्लापत्र


पूर्व तेक्वान्दो खेलाडी, सहायक प्रशिक्षक तथा राष्ट्रिय अन्तर्राष्ट्रिय रेफ्री अमिर श्रेष्ठले नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङलाई चुनौती दिएका छन् । अमेरिकाबाट एक खुल्ला पत्र पठाई अमिरले दीपराजलाई चुनौती दिएका हुन् ।

वर्तमान अवस्थामा अमेरिकामा रहेका श्रेष्ठको उक्त खुल्लापत्र अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । जसले तेक्वान्दो संघमा तरङ्ग उत्पन्न गर्नुका साथै खेलाडी, प्रशिक्षक र पदाधिकारीहरूमा खुलदुली मच्चाइदिएको छ । उनै चर्चित प्रशिक्षक श्रेष्ठले महासचिव गुरुङलाई पठाएको खुल्लापत्र तल प्रस्तुत गरिएको छ ।

तपाईंले बीबीसी नेपाली सेवामा नेपाली तेक्वान्दो खेलको बारेमा दिएको अन्तर्वार्ता सुनेपछि म यो खुल्लापत्र खेल्न बाध्य भएको हुँ । त्यहाँ तपाईंले नेपाली तेक्वान्दोको खेलको स्तर घट्नुमा राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयलाई दोष लगाउनुभएको छ । तर त्यसमा कुनै सत्यता छैन, तेक्वान्दोको स्तर खस्किनुमा राखेप र मन्त्रालय नभै तपाईं स्वयम् ‘दीपराज’ हो । तपाईंले नेपाली तेक्वान्दोका होनहार गुरुहरूलाई गलहत्याएर तेक्वान्दो संघबाट निस्कन तथा देश छोड्न बाध्य बनाएकोले नै तेक्वान्दोको स्तर खस्केको हो ।

तेक्वान्दो संघको सबै कार्यक्रमको लागि खेलकुद परिषदले बजेट उपलब्ध गराउँछ, तर संघले वार्षिक रुपमा उठाउने करोडौँ रकम कहाँ जान्छ ? त्यसको कुनै लेखाजोखा किन गरिँदैन ? अहिलेसम्म तेक्वान्दो संघले एक पैसा पनि राजश्व नबुझाउनु यसको प्रमाण हो । अनि दोष सबै खेलकुद परिषद र खेलकुद मत्रालयलाई दिने ? अलिकति त शरम मान्नुस् दीपराज जी !

कुनै पनि खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिता पदक हासिल गर्दा त्यसको सम्पूर्ण श्रेय संघ र तपाई लिने गरेको कसैवाट छिपेको छैन । विडम्बना, जुन खेलाडीलाई तपाईंले कहिल्यै प्रशिक्षण दिनुभएको छैन, चर्चित खेलाडी संगिना बैद्यले १२ औं एसियन च्याम्पियनसिपमा स्वर्ण पदक जित्दा तपाईंले गोर्खा दक्षिण बाहु (गोदवा) कसरी पाउनुभयो ?? जबकि संगीनालाई सुरु देखि ६–७ वर्षसम्म लगातार सेतो पेटीदेखि सिकाउने प्रशिक्षक म ‘अमिर श्रेष्ठ’ हुँ ।

साँचो रुपमा भन्नुहोस, तपाईंले संगीनालाई प्रशिक्षण गराउँदा कति चोटी किकिङ प्याड समात्नुभयो ? सिकाउने क्रममा संगीनालाई कति चोटी आफ्नो शरिरमा किक प्रहार गर्न दिनुभयो ? संगीना जस्तो खेलाडिको ४ डनको प्रमाणपत्र २ वर्षसम्म किन लुकाएर राख्नुभयो ? तपाईंले मेरो सन् १९९६ मा पास गरेको अन्तर्राष्ट्रिय निर्णायक टेस्ट नतिजा लुकाएर अमानविय कार्य गर्नुभएको थियो ।

त्यस्तै तपाईंले आठौं एसियन च्याम्पियनसिपको छनोट चरण जितेका सरोज गुरुङलाई पाखा लगाएर उनको प्रतिभा मार्ने काम किन गर्नुभयो ? तपाईले मलगायत शेरबहादुर जस्ता कयौं तेक्वान्दोका वरिष्ठ गुरुहरु जसले आफ्नो जीवन तेक्वान्दो विकासको लागि समर्पित गरेका थिए, तिनीहरूलाई गलहत्याएको कारण तेक्वोन्दोको स्तर खस्केको हो ।

झुटको पनि हद हुन्छ, त्यसैले अब झुटको खेती गर्न बन्द गर्नुहोस् । हिजोसम्म तपार्इंलाई गुरु भनेर पूजा गर्नेहरू आज सबैले घृणा गर्न थालेका छन्, तेक्वान्दो छोडेर जान थालेका छन् । एकपटक आफ्नो अन्तरआत्मालाई सोध्नुहोस्, ‘तेक्वान्दोको स्तर किन खस्केको हो भनेर ?’ जय तेक्वान्दो ।