श्रीदेवीको मृत्यु ‘सुविधासम्पन्न होटलको बाथटबमा डुबेर’

श्रीदेवीको मृत्यु ‘सुविधासम्पन्न होटलको बाथटबमा डुबेर’


बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु ‘वाथ टव’मा डुबेर भएको दुबई सरकारले जानकारी गराएको छ । वलिउड नायिकाको पूरा नाम, राहदानी नं तथा निधन भएको मिति र मृत्युको कारण खुलाइएको विधिविज्ञान परीक्षण प्रतिवेदनमा संयुक्त अरब इमिरेट्स (युएई) सरकारको स्वास्थ्य मन्त्रालयको छाप तथा दुबईको रोग निरोधक औषधि विभागका निर्देशक तथा वरिष्ठ चिकित्सक सामी वाडीको हस्ताक्षर रहेको छ ।

दिवङ्गत भारतीय नायिका श्रीदेवीको निधन होटलको एक ‘वाथ टब’मा एक्कासी बेहोस भएपछि डुबेर भएको ठहरिएकोे छ । विधि विज्ञान परीक्षणपछि दुबई प्रहरीको मुख्यालयले सोमबार सार्वजनिक गरेको रिपोर्टलाई उद्धृत गर्दै दुबईको सरकारी सञ्चार संस्था ‘गल्फ न्यूज’ले जनाएको छ ।

दुबई प्रहरीले ट्वीटरमार्फत् दिएको जानकारी अनुसार मृतक भारतीय नायिका श्रीदेवीको मुद्दालाई अब दुबईको सरकारी फौजदारी अदालतमा सारिएको छ । उक्त अदालतले यसपछिका कानूनी प्रक्रिया पूरा गरी मृत शरीरलाई सम्बन्धित परिवारलाई हस्तान्तरण गरिने छ ।

भारतीय सिनेमा जगतमा पहिलो प्रख्यात नायिका ५४ बर्षीय श्रीदेवीका शनिबार राति दुबईको एक सुविधासम्पन्न होटेलको कोठाभित्र भएको थियो ।

मृत्युको कारणसहितको विवरण दुबई प्रहरीले श्रीदेवीको परिवार र भारतीय वाणिज्यदूतावासलाई उपलब्ध गराएको ‘गल्फ न्यूज’ले जनाएको छ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारको प्रतिवेदनको फोटो प्रतिलिपिलाई गल्फ न्यूजले आफ्नो ट्वीटर पेजमा संलग्न समेत गरेकोे छ ।