काष्ठमण्डप कप बास्केटबलको उपाधि मल्पीलाई

काष्ठमण्डप कप बास्केटबलको उपाधि मल्पीलाई


मल्पी इन्स्टिच्युट ‘ए’ले तेश्रो काष्ठमण्डप कप अन्तर ए लेभल थ्री बाइ थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

मण्डिखाटारमा भएको फाइनलमा मल्पी ‘ए’ ले आयोजक एवं साविक उपविजेता काष्ठमण्डपलाई १२–६ ले पराजित गरेको हो । मल्पीको जितमा प्रसङ्गध्वज मास्केले सर्वाधिक १० अंक योगदान गरेका थिए । आकाश कर्मा गुरुङ र निकेश शाहले १–१ अंक थपे । काष्ठमण्डपका श्रृजन डंगोलले ४ तथा युनिश महर्जनले २ स्कोर गरेका थिए ।

सेमिफाइनलमा मल्पी ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ८–६ तथा काष्ठमण्डपले गत दुवै संस्करणको विजेता साइपाल एकेडेमीलाई १०–९ ले हराउदै फाइनलमा प्रवेश गरेका थिए । फाइनलका सर्वाधिक स्कोरकर्ता प्रसङ्ग ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा र काष्ठमण्डपकि निर्देशक एवं प्रिन्सिपल डा. शिवा थापाले एक कार्यक्रमबिच पुरस्कृत गरका थिए । तीनदिने प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।