३७ लाखको भवन गाउँपालिकालाई हस्तान्तरण

३७ लाखको भवन गाउँपालिकालाई हस्तान्तरण


– चन्द्रकान्त खनाल

गुल्मीको धुर्कोट गाउँपालिकालाई पशु सेवा विकास कार्यालयको भवन हस्तान्तरण गरिएको छ । किसानका लागि उन्नत बिउ बिजन कार्यक्रमले बनाएको भवन गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

धुर्कोट गाउँपालिका वडा नम्बर ६ नम्बर धुर्कोट रजस्थलमा कुल ३६ लाख ८१ हजारको लागतमा भवन निर्माण गरिएको थियो । जिल्ला कृषि विकास कार्यलयका प्रमुख चक्रपाणी पन्थीले गाउँपालिका अध्यक्ष भुपाल पोखरेललाई भवनको साँचो हस्तान्तरण गरेका थिए । भवनसँगै फोटोकपी मेसिन, कम्युटर, प्रोजेक्टर लगायतका सामाग्रीहरु पनि हस्तान्तरण गरिएको छ ।

गाउँपालिका गठनपछि पशु सेवा कार्यालय पक्कि भवनमा बस्ने धुर्कोट गाउँपालिकाको पहिलो सरकारी कार्यालय बनेको छ । कृषकलाई पशुपालनमा आकर्षित बनाई मासु उत्पादनमा वृद्धि गर्ने र किसानको आय–आर्जन बढाउने उद्देश्यले भवन प्रदान गरिएको सँस्थाका उपनिर्देशक तुल्सीराम भण्डारीले बताए ।

भवन हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका उपप्रमुख शिव खत्रीले भवन बनाइदिने सँस्थाप्रति आभार ब्यक्त गरे । भवन महिनाको अवधिमा १ रोपनी जग्गामा निर्माण गरिएको हो । स्थानीय समाजसेवी लोकबहादुर थापाले भवन बनाउन निःशुल्क जग्गा प्रदान गरेका थिए ।सँस्थाले आइतबार गुल्मीको इश्मा गाउँपालिकालाई चौरासीमा निर्माण गरिएको कृषि सेवा केन्द्र भवन हस्तान्तरण गरेको थियो ।

सँस्थाकै लगानीमा छत्रकोट गाउँपालिकाको लुम्छा र चन्द्रकोट गाउँपालिकाको शान्तिपुरमा कृषि र पशुवेवा भवन निर्माणधिन छन् । त्यसका साथै सत्यवतीको रुद्रावेणीमा पनि १५ लाखको लगानीमा खसीबोका संकलन केन्द्र्र निर्माण गर्न लागिएको सँस्थाका उपनिर्देशक भण्डारीले जानकारी दिए ।